७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

आइसोलेसनमा राख्न रेफर गरिएकी महिलालाई एम्बुलेनसले बोक्न मानेनन्

सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड–१९) को लक्ष्याणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि बिदेशबाट फर्किएकी एक महिलालाई आइसोलेसन वार्डमा भर्ना लिइएको छ। एम्बुलेन्सले बोक्न नमानेपछि उनलाई आइसोलेसनसम्म पुर्‍याउन सरकारी सवारी साधन नै प्रयोग गर्नु परेको थियो।

                कोरोना भाइरसको लक्षण आशंकामा जिल्लाको लिसंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्ना लिइएको हो। सदरमुकाम चौतारास्थित जिल्ला अस्पतालको आइसोलसनमा राखेर उनको उपचार थालिएको छ। स्थानीय स्वास्थ्य संस्थाबाट ज्वरोको औषधी खाँदा कम नभएपछि थप उपचारको लागि उनी आइतबार खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल आइपुगेकी थिइन्।

                कोरोनाको लक्ष्यणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालका डा. राजकुमार दङ्गालले उनलाई आइसोलेसनमा रेफर गरेका थिए। अस्पतालले आइसोलेसनका लागि वार्ड छुट्याए पनि सञ्चालनमा आइसकेको छैन। स्वास्थ्य उपकरण र सुरक्षा सामाग्रीको व्यवस्था भइनसकेकाले रेफर गर्नु परेको डा. दङ्गालले बताए। यस्तोमा बिरामीसँग दुईटा बिकल्प थिए। एउटा नजिकको बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा जाने या चौतारास्थित जिल्ला अस्पतालको आइसोलेसनमा पुग्ने।

                तीन शैया क्षमताको बाह्रविसेको आइसोलेसन भरिइसकेको थियो। त्यहाँ कोरोना आशंकामा तीन बिरामी उपचाररत छन्। ति महिलासँगै अर्को नजिकको आइसोलेसन जिल्ला अस्पताल जानुको बिकल्प थिएन। तर कुनै पनि एम्बुलेन्स उनलाई बोक्न तयार भएनन्। ‘विभिन्न बहानावाजी गरेर एम्बुलेन्स चालकहरु पन्छिए,’ बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले नागरिकसँग भने।

                जिल्ला बिपद् व्यवस्थापन समितिले सिन्धुपाल्चोककमा सम्भावित कोरोना संक्रमित बोक्न २६ एम्बुलेन्स तयारी हालतमा रहेको दाबी गर्दै आएको थियो। सुरक्षा सावधानी अपनाउँदै सबै एम्बुलेन्समा पार्टेसन गरिएको र चालकलाई पीपिई सेट लगायत सुरक्षा सामाग्री दिइएको समेत समितिले बताउँदै आएको थियो। दिउँसो रेफर गरिएकी महिलालाई बोक्ने एम्बुलेन्स नभेटेपछि बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँलाई साथमा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ आफ्नै सुविधाको सरकारी गाडी लिएर साँझ खाडिचौर पुगेका थिए।

                पारिवारिक जानकारी अनुसार बैदेशिक रोजगारीमा ओमान रहेकी ति महिला गत चैत १ गते नेपाल आएकी थिइन्। लिखंखुपारस्थित घर आएको १७ दिनपछि उनीमा रुघाखोकी र ज्वरो देखिएको थियो। स्थानीय स्वास्थ्य संस्थामा जँचाएर रुघाखोकी र ज्वरोको औषधी खाँदासमेत कम नभएपछि उनी आइतबार बिहान पुनः त्यहाँ पुगेकी थिइन्। स्वास्थ्य संस्थाले उनलाई खाडिचौर पठाएको थियो।

                सुनमायासमेत जिल्लामा आइसोलेसनमा उपचाररत बिरामीको संख्या चार पुगेको छ। बाह्रविसेको आइसोलेसनमा उपचाररत युवा र दुई युवतीको स्वाब रिपोर्ट आउँन बाँकी छ। यसअघि बाह्रविसेकै आइसोलेसनमा बसेका तीन जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो। 

               

प्रकाशित: २३ चैत्र २०७६ १४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App