२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

ऐसेलुखर्कमा १० बेडको आइसोलेसन

खोटाङ– खोटाङको ऐसेलुखर्क गाउँपालिकाले १० बेडको आइसोलेसन कक्ष तयार पारेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंका गरिएको तर पुष्टी हुन बाँकी रहेको वा संक्रमण भएको पुष्टी भइसकेका व्यक्तिलाई राख्नेगरी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष बनाएको हो ।

ल्यावबाट प्रमाणित भइसकेका तथा लक्षणका आधारमा संक्रमणको आंशका गरेर प्रमाणित गर्नका लागि ल्यावमा रिपोर्ट पठाइएका व्यक्तीलाई छुट्टै राखेर उपचार गर्ने प्रयोजनका लागि आइसोलेसन वार्ड बनाइएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । जिल्ला अस्पताल दिक्तेलमा तीन बेडको आइसोलेसन वार्ड तयार पारिएको केही समयपछि गाउँपालिकाले आइसोलेसन कक्ष बनाएको हो ।

यस्तै, ऐसेलुखर्क गाउँपालिकाले त्रिभुवन माबिमा १० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । संक्रमणको आशंका गरिएका व्यक्तिलाई राख्ने गरी विद्यालयको दुई हलमा क्वारेन्टाइन बनाइएको हो । यस बाहेक गाउँपालिकाका ७ वटै वडामा ५÷५ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । कतिपय विद्यालय र कतिपय स्वास्थ्य चौकीमा क्वारेन्टान बनाइएको अध्यक्ष निरौलाले बताए ।

केपीलासमा १० बेडको क्वारेन्टाइन
केपीलासगढी गाउँपालिकाले १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । अधिकांश स्थानीय तहले एउटै हलमा दर्जनौं बेड राखेर क्वारेन्टाइन तयार पारिरहेको अवस्थामा केपीलासगढी गाउँपालिकाले बाक्सिलास्थित पृथ्बी माबिको १० कोठामा १० बेडको क्वारेन्टाई तयार पारेको हो ।

कुनै एक जनालाई संक्रमण भएको अवस्थामा अन्यलाई पनि सर्ने खतरा हुने भएकाले एक कोठामा एक जनालाई मात्र राख्न मिल्नेगरी क्वारेन्टाइन बनाइएको केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए । ‘कुनै एउटालाई संक्रमण भएको अवस्थामा अर्कोलाई नसरोस् भनेर एउटा कोठामा सिंगल बेड राखिएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘क्वारेन्टाइनमा राख्दा एक जनाको रोग अर्कोलाई सर्नेतर्फ सचेत हुन जरुरी छ । क्वारेन्टाइनमै महामारी फैलिने स्थिति बन्यो भने झन् हानीकारक हुन सक्छ ।’

गाउँपालिकाले चैत १२ गतेदेखि १५ दिन अगाडिसम्मका मितिभित्र विदेशबाट आएका युवालाई ल्याएर क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । यसका लागि वडा–वडामा विदेशबाट फर्किएका स्थानीयको तथ्यांक संकलन भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए । यस्तै, केपीलासगढी गाउँपालिकाले बाक्सिलामा हेल्थडेस्क खडा गरेको छ । पीपीई (पर्सनल प्रोटेक्टिम इक्वीपमेन्ट) सेट आइपुगेपछि गाउँपालिकाभित्र पाँच स्थानमा हेल्थ डेस्क राखिने अध्यक्ष राईले बताए । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७ वटै वडामा प्रचार–प्रसार, माइकिङ, सचेतनामुलक फ्लेक्स राख्ने लगायतका काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: १६ चैत्र २०७६ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App