१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

सेनाका पाँच हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा

काठमाडौँ-  नेपाली सेनाले कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ। साथै सेनाले सो जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ। यसका लागि सेनाले मातहतका पृतना, वाहिनी र गणस्तरमा आफ्नो तयारी गरिरहेको छ।

सरकारले सेनालाई कोभिड–१९ को जोखिम रोकथाम र उपचारका लागि २० वटा सघन उपचार कक्ष निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराउने घोषणा गरिसकेको छ।    
सो भाइरसका बिरामी देखिएमा आइसोलेशन र क्वारेन्टाइनमा कसरी राखेर उपचार गर्ने भनी आन्तरिक तयारीस्वरुप सेनाले उपचार विधि, प्रक्रिया र अपनाउनुपर्ने आवश्यक सजगताबारे ५० चिकित्सकसहित १८१ जनालाई प्रशिक्षण दिइसकेको छ। ती जनशक्तिले केन्द्रमा १० सहित मुलुकभर ५२ स्थानमा नमूना क्वारेन्टाइन र अस्पताल तयार गरिसकेका छन्।    
    
सेनाको पूर्वी पृतना मातहत विभिन्न तीन स्थानमा ४४४ श्ययाको क्वारेन्टाइन तयार गरिसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। सेनाले कोरोना भइरसबाट सुरक्षित रहन र आवश्यक परेको बखत चुस्त–दुरुस्त रुपले परिचालन हुन सैनिकलाई बिदा बस्न बन्देज लगाइसकेको छ।    
    
सरकारको निर्णयअनुसार एकै पटक धेरै मानिस एकै स्थानमा जम्मा हुन नदिने हेतुले ससाना समूहमा रहेर बिहान–बेलुका खाना खुवाउने प्रबन्ध मिलाएको सेनाले जानकारी दिएको छ। सेनाले सङ्गठनभित्र स्वास्थ्यसम्बन्धी तालीम लिएका पाँच हजार व्यक्तिको रोष्टर तयार गरिसकेको जनाएको छ। उक्त जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी हालतमा राखेको जानकारी दिइएको छ।    
सेनाले अहिले स्वास्थ्यसम्बन्धी तालीम लिएका भूतपूर्व सैनिकको पनि खोजी गरिरहेको छ। यसैबीच सेनाले हेलिकोप्टरबाट औषधि छर्कने बेलामा सर्वसाधारण घरभित्रै बस्नुपर्छ भन्ने ढुङ्गबाट आएको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। रासस    
 

प्रकाशित: ८ चैत्र २०७६ १६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App