असन्तुलित खाना खाने तर व्यायाम नगर्ने मानिस धेरै छन्। जसले मोटोपना बढ्ने र पाचन प्रणालीमा विभिन्न रोग लाग्ने गर्छ। पाचन प्रणाली स्वस्थ भएन भने निरोगी भएर बाँच्न सम्भव नै हुँदैन। त्यसोभए पाचन अंगहरूमा लाग्ने रोग के–कस्ता छन् त ? ती रोगका उपचार के–कसरी हुन्छ ? प्रस्तुत छ– यस विषयमा नागरिककर्मी पवित्रा सुनारले काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालकी जिआई एन्ड एचपिबी सर्जन (पाचन प्रणाली अंगकी शल्य चिकित्सक) डा. पलेश्वाँ जोशी लाखेसँग गरेको कुराकानीः
चिकित्सा सेवामा लागेको कति वर्ष भयो ?
म सन् १९९८ देखि चिकित्सा सेवामा प्रवेश गरेको हुँ। यस हिसाबले २१ वर्ष भयो। सन् १९९६ मा टिचिङमा मेडिकल अफिसर भएर काम गरें। १९९८ मा जनरल सर्जरीमा स्नातकोत्तर अध्ययन सुरु गरें। सन् २००१ अप्रिलमा जनरल शल्य चिकित्सकको पढाइ सकेपछि तीन वर्षजति स्वयंसेवकका रूपमा यही अस्पतालमा सेवा गरें।
सन् २००३ मा त्रिवि सेवा आयोगबाट स्थायी जागिरमा नाम निस्कियो। त्यसपछि यही अस्पतालमा निरन्तर आवासीय विद्यार्थी, जागिरे हुँदै काम गरें र पढाइ पूरा गरें। अनि(२००८–२०११ ) जिआई एन्ड एचपिबी सर्जन (पाचन प्रणाली शल्य चिकित्सक) बनें।
तपाईंको यो चिकित्साभित्र के–के उपचार पर्छन् ?
पाचन प्रणालीअन्तर्गतका सबै अंगको उपचार पर्छन्। विशेष गरी शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीको हकमा यो चिकित्सा पर्छ। यो उपचारअन्तर्गत पाचन प्रणालीका अंगमा लागेका क्यान्सरको शल्यक्रिया पनि गर्छु। कुनै पनि क्यान्सरको उपचारमा शल्यक्रियादेखि सबै उपचार विधि पर्छन्। क्यान्सरसम्बन्धी रोगहरू शल्यक्रियाबाट उपचार गरिन्छ। पित्तथैली तथा पित्तनलीमा भएका ढुंगा इन्डोस्कोपीबाट निकाल्ने। अल्ट्रासाउन्डमार्फत शल्यक्रिया गर्ने सीप पनि सिकिरहेकी छु।
रोग पत्ता लगाउने काम पनि त गर्नु हुन्छ नि ?
इन्डोस्कोपी (मुखबाट पाइप राखेर पेटभित्रको अंग हेर्ने) कोलोनोस्कोपी (मलद्वारबाट पाइप हालेर आन्द्राको रोग हेर्ने उपकरण) इआरसिपी (पित्तको नलीमा भएको ढुंगा इन्डोस्कोपीबाट निकाल्ने), इन्डोस्कोपी अल्ट्रासाउन्ड गर्ने विधि पनि सिक्दैछु। यो पेसामा सिकाइको अन्त्य कहिल्यै हुँदैन।
पाचन प्रणाली भनको के हो त ?
हामीले खाएको खाना पेटमा पुर्याउने, शक्तिमा रूपान्तरण गर्नेदेखि बाहिर निकास दिनेसम्मको प्रक्रियालाई पाचन प्रणाली भनिन्छ। जसमा खाने नली, आमाशय, प्यान्क्रियाज, सानो आन्द्रा, ठूलो आन्द्रा, पित्तथैली, ड्युडेनम र कलेजो पर्छन्। यी अंगहरूले खानालाई रूपान्तरण गरी शक्तिमा बदल्ने काम गर्छन्।
पाचन प्रणालीमा कुन–कुन अंगले के काम गर्छन् ?
जस्तो कि खाना पचाउने र विकार तत्वहरू सोस्ने काम कलेजोले गर्छ। खाएका खानाहरू मिसाएर सानो आन्द्रामा पठाउने काम आमाशयले गर्छ। प्यान्क्रियाजल कार्बोहाइड्रेेट, प्रोटिन र चिल्लो पदार्थलाई पचाउनका लागि इन्जाइम (शक्ति)मा रूपान्तरण गर्ने काम गर्छ। सानो आन्द्राको काम शरीरलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लोलाई सोस्ने हो। कलेजोको काम पित्त बनाउने, शरीरमा भएका फोहोर पदार्थलाई सफा गर्ने हो। पित्तले चिल्लो पदार्थलाई पचाउने काम गर्छ।
पित्तथैलीको शल्यक्रिया गरिसकेपछि पनि चिल्लो खाइरहेका हुन्छन् नि ?
पित्त शरीरमा हुन्छ। पित्तथैलीको काम पित्त जम्मा गर्ने हो। कलेजोले मिलाएर निकास दिनका लागि पित्तथैलीमा पठाउँछ। पित्तको थैलीमा घाउ या पत्थरी भयो भने थैली नै निकालिन्छ। पित्तथैली निकालेपछि सीधै आन्द्रामा जान्छ। पित्तथैलीले जम्मा गरेर राख्ने पित्त अब जम्मा नभइकन आन्द्रामा जान्छ।
ठूलो आन्द्राको काम के हो नि ?
शरीरमा रहेका अनावश्यक चिज बाहिर निकाल्ने र पानी तथा इलोक्टो«लाइट सोस्ने काम ठूलो आन्द्राले गर्छ।
पाचन प्रणालीअन्तर्गत कुन–कुन रोग बढी देखिन्छ ?
आमाशयको क्यान्सर, अल्सर एकदम धेरै देखिन्छ। प्यान्क्रियाजमा विभिन्न संक्रमण, ट्युमर, पित्तथैलीको पत्थरी, ट्युमर, सानो आन्द्राको ट्युमर, ठूलो आन्द्राको क्यान्सर, कलेजोमा ट्युमर बढी देखिन्छ। तीमध्ये पनि सबैभन्दा बढी आमाशयको अल्सर, क्यान्सर, पित्त थैलीको पत्थरी, अल्सर र क्यान्सर, प्यान्क्रियाजको क्यान्सर बढी देखिन्छ। ठूलो आन्द्रामा धेरै क्यान्सर देखिन्छ। त्यसैगरी प्यान्क्रियाजको छेउको भागमा ट्युमर हुने समस्या पनि बढी देखिन्छ।
सानो आन्द्रामा कुन रोग बढी लागेको देखिन्छ ?
आन्द्रा बटारिने समस्या बढी देखिन्छ।
पाचन प्रणालीका अंगमा ट्युमर तथा क्यान्सर भएपछि उपचार सम्भव छ ?
जिआई एन्ड एचपिबी सर्जरीअन्तर्गत यी सबै अंगको शल्यक्रिया गरिन्छ। अल्सर भएको र क्यान्सर अन्य अंगमा नफैलिएको अवस्थामा स्थिति हेरेर शल्यक्रिया गर्छौं। आवश्यक परेको अवस्थामा अन्य उपचारका लागि क्यान्सर विशेषज्ञकोमा पठाउँछौं। शल्यक्रियापछि क्यान्सर निको भई जीवन पाएका धेरै बिरामी हामीसित छन्। यो कुराबाट हामीले के बुझ्नुपर्छ भने टिचिङ अस्पताल पाचन प्रणालीको क्यान्सरको उपचार गर्न सक्षम छ। हामीहरू क्यान्सरलाई जितेर बाँचेकाहरूको गोष्ठी गर्न लायक भएका छौं। हामी यस्तो कार्यक्रम छिट्टै गर्दैछौं।
भनेपछि यी अंगहरूमा रोगहरू बढेका हुन् त ?
बढेको या घटेको भन्ने खास आधार छैन। तर उपचार गर्न आउने चलनमा परिवर्तन भइसकेको छ। एकातिर यी अंगमा बढी रोग लाग्नेहरू पनि छन् भने अर्कातिर यी अंगका बिरामीहरू उपचारका लागि बढी आउँछन्। परिवारमा कसैलाई केही भयो भने अरू पनि तुरुन्तै उपचारमा आउँछन्। थप कुरा, रोग पत्ता लगाउने उपकरणको विकास र पहुँच पनि बढेको छ। मान्छेहरू केही भयो कि उपचार गर्न अस्पताल पुगिहाल्ने चलन बढेको देखिन्छ।
हाम्रो आधुनिक जीवनशैलीको असर यी अंगमा पनि परेको हो कि ?
आधुनिक जीवनशैलीको असर पनि पाचन अंगमा परेको छ। जस्तो कि असन्तुलित खाना खाने तर शारीरिक व्यायाम नगर्ने मानिस धेरै छन्। यस्ता मानिसहरूको मोटोपना बढ्ने र पाचन प्रणालीमा विभिन्न रोग लाग्ने गर्छन्। यी अंगका रोगहरू खानासित पनि सम्बन्धित हुन्छन्। तर ठ्याक्कै यही कारण भन्न सक्ने अवस्था छैन। जस्तो, पेटको क्यान्सरचाहिँ धेरै स्टोर गरेको अचार, पोलेको मासु, फास्टफुडजस्ता कारणले हुन्छ भनिन्छ। तर हामीलाई ठ्याक्कै भन्न कठिन छ। खानासित सम्बन्ध त छ।
यी रोग लाग्नुको अन्य कारणहरू के–के हुन् ?
मुख्य त खानामा भर पर्छ। केही वंशाणुगत कारणले पनि हुन्छ। धेरै सञ्चित गरेको अचार, पोलेको मासु, बासी अचार, तारेका खानेकुरा बढी खानु यी रोग लाग्नुका कारण हुन्। हामीकहाँ र उत्तरी भारतमा पित्तथैलीको क्यान्सर साझा समस्याका रूपमा छ। हाम्रो तराई भेगमा र भारतमा तारेको तेल धेरैपटक प्रयोग गर्ने चलनका कारण पनि पित्तथैलीको क्यान्सर भएको भनिन्छ।
हामीकहाँ पाचन प्रणालीअन्तर्गत मात्र कति जनाको शल्यक्रिया हुन्छ ?
एक वर्षमा आमाशयको मात्र औसत ३५ जनाको गरिन्छ। पित्तथैलीका रोगी ढिला मात्र अस्पताल आइपुग्ने कारण सबैको शल्यक्रिया गर्न सकिँदैन। पित्तथैलीका ४० बिरामी आएमा १० जनाको मात्र शल्यक्रिया गर्न मिल्छ। प्यान्क्रियाज र ड्युडेनमको ४० वटा शल्यक्रिया हु्न्छ। ठूलो आन्द्राको ५० वटा बिरामी शल्यक्रियापछि निको भइसकेका छन्।
उपचार गर्न मात्र कति आउँछन् ?
बहिरंग विभागमा मासिक ७ सय २० जना आउँछन्। तीमध्ये वार्डमै भर्ना हुने पाँच सय जनाभन्दा बढी हुन्छन्। अस्पतालमा पाचन प्रणालीका बिरामी औसत पाँच सय जना वार्डमा भर्ना हुन्छन्। तीमध्ये पनि पत्थरी, अल्सर र क्यान्सर भएका बढी छन्।
यस्ता बिरामी सहरका बढी छन् कि गाउँका ?
धेरैजसो रेफर भएका बिरामी आउने गरेका छन् यसकारण काठमाडौं उपत्यकाभन्दा बाहिरबाट आउने बिरामी नै बढी ८० प्रतिशत छन् भने २० प्रतिशत सहरका छन्।
आमाशयको अल्सर किन हुन्छ ?
दुखाइ नास गर्ने बु्रफिन, नेमुसलाइडजस्ता जस्ता औषधिहरू खानु, बढी चिन्ता गर्नु, लामो समय खाली पेट बस्नुजस्ता कारणले आमाशयको अल्सर हुन्छ। जस्तो कि धेरै चिन्ता गर्दा पेटमा अम्लीय पदार्थ उत्पादन हुन्छ। पहिला सानो सानो घाउ मात्र हुन्छ। पछि अल्सरै बन्न सक्छ। चुरोटमा निकोटिन हुन्छ। त्यसले पनि एसिड उत्पादन गर्छ। धेरै मसलेदार खानेकुराले पनि आमशयमा एसिड उत्पादन हुन्छ। यस्तो खानाले आमाशयको एक तहलाई नै नष्ट गरिदिन्छ।
यी रोगहरूका उपचार अवस्था कस्तो छ ?
पहिलाभन्दा धेरै राम्रो भएको छ अहिले। हामीले थुप्रै बिरामीको उपचार गरेका छौं। रोग निको भएर बिरामी सन्तुष्ट भएका छन्। क्यान्सरको उपचार गरेपछि निको भएर बाँचेका बिरामी पनि हामीसित धेरै छन्। हामीले शल्यक्रिया गरेपछि रेडियोलोजिस्ट र किमोथेरापीका लागि चिकित्सककोमा सिफारिस गर्छौं। अब क्यान्सरसम्बन्धी सम्पूर्ण उपचारका लागि हामी यही अस्पतालमा कोसिस गरिरहेका छौं।
नेपालमा यी रोगका उपचार पूर्ण छन् त ?
वीर अस्पतालदेखि लिएर मुख्य शिक्षण अस्पतालहरूसम्म यी रोगका उपचार सम्भव छ। हामी यो उपचार पूर्ण गरिरहेको दाबी गर्छौं।
पाचन प्रणालीका अंगलाई स्वस्थ राख्न हाम्रो जीवनशैली कस्तो हुनुपर्छ ?
अहिले मोटोपना पनि समस्याका रूपमा आएको छ। नेपालीहरूले भात धेरै खान्छन्। बरु प्रोटिनको मात्रा बढी हुनुपर्छ। यसका लागि मासु, अन्डा, पनिरजस्ता खानेकुरा बढी खानुपर्यो। मासुमा पनि रातो मासु खानु भएन। पानी प्रशस्त पिउनुपर्यो, दैनिक खुसी भएर बाँच्नुपर्यो। सकारात्मक सोंच राख्नुपर्यो। नियमित व्यायाम गर्नुपर्यो।
प्रकाशित: ४ फाल्गुन २०७५ ०३:३४ शनिबार