८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

घट्दै डेंगी संक्रमण

मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। जनवरीयता कुल संख्या बढी भए पनि पछिल्लो तथ्यांकमा धेरै जिल्लामा डेंगी संक्रमण घट्दै गएको कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

उनका अनुसार कास्की, पर्वत, तनहुँ, चितवन, गोरखालगायतका जिल्लामा डेंगी संक्रमण घट्दै गएको छ भने उपत्यकामा स्थिर देखिएको छ। यो स्थिति हेर्दा काठमाडौंमा पनि केही दिनमै घट्ने देखिएको डा. दाहालले बताए। गत साताको तथ्यांकले कास्कीको तथ्यांक बढी देखिए पनि अक्टोबरअघि पुष्टि हुन नसकेको र पछि मात्र पुष्टि भएका संक्रमितको संख्या थप भई बढी तथ्यांक देखिएको जानकारी दिए।

‘कुनै पनि तथ्यांक दोहोरिएर आएमा र बिरामीको नाम, थर प्रस्ट नभएमा तथ्यांक समावेश गर्दैनौं’, कास्कीमा नाम, थर, ठाउँ खुलेर आएपछिको तथ्यांक समावेश गरेका हौं’, उनले भने।

महाशाखाको गत साताको तथ्यांकअनुसार कास्कीमा नयाँ र पुरानो तथ्यांकसहित अक्टोबरमा १६ सय ९१ जना, तनहुँमा ४ सय ३८, चितवनमा २ सय १४, ललितपुरमा ५ सय ४४ जना, भक्तपुरमा ३ सय ८२ जना छन् भने २ सय ४२ जना डेंगी संक्रमित छन्।

तीन दिनदेखि नियमित उपचारका लागि आकस्मिक कक्षमा आउने डेंगीका बिरामी पनि घटेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार तीन दिन अघिसम्म दैनिक ४० जना संक्रमित आउँथे, त्यसयता घट्दै गएको छ। यो संख्या सोमबार आकस्मिक कक्षमा १५ जना आएका थिए भने आठजना मात्र भर्ना भई उपचाररत छन्।

महाशाखाका अनुसार गत वर्षको तुलनामा यो वर्ष कुल संक्रमितको तथ्यांक पनि कम देखिन्छ। गत वर्षभन्दा कम संक्रमण भएको तथ्यांकले औंल्याएको छ। गत वर्ष अक्टोबरमा १२ हजार ६ सय ९९ जना छन् भने यो वर्ष आठ हजार ६ सय आठजनामा संक्रमण पुष्टि भएको छ।

गत वर्ष अक्टोबर महिनामा १३ हजार नौ  सय १२ जना संक्रमित थिए भने यो वर्ष १० हजार पाँच सय ९४ जना संक्रमित छन्। हालसम्म मुलुकका २७ हजार एक सय ५३ जनामा डेंगी भएको र ११ जनाको मृत्यु भएको छ। मुलुकका ७६ वटा जिल्लामा संक्रमण फैलिइसकेको छ।

प्रकाशित: १३ कार्तिक २०८१ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App