२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बढ्दै काठमाडाैं उपत्यकामा डेंगी संक्रमण, टेकु अस्पतालमा एकैदिन ६० जना भर्ना

दुई सातादेखि काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगी संक्रमण केही दिनयता थप बढ्दो क्रममा देखिएको अस्पतालहरूले जनाएका छन्। २० घण्टामा मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० जना आकस्मिक कक्षमा डेंगी संक्रमित पुगेको अस्पतालले जनाएको छ।

 अस्पतालका अनुसन्धान शाखाप्रमुख डा. शेरबहादुर पुनका अनुसापालि कडा लक्षणसहित डेंगी संंक्रमित उपचारमा आइरहेका छन्। उनका अनुसार उनीहरूमा कडा ज्वरो, जोर्नी दुखाइ, आँखाको गेडी दुख्ने र शरीर मांशपेशी दुख्ने समस्याले असह्य भएपछि उपचारमा आइपुगेका छन्। ‘यसअघि सामान्य लक्षणका बिरामी आउँथे, अहिले धेरै र कडा लक्षण भएका बिरामी आइरहेका छन्,’ उनले भने।

वीर अस्पतालको मेडिसिन विभागअनुसार हाल मेडिकल वार्डमा मात्र ३० जना डेंगी संक्रमित बिरामी भर्ना भई उपचाररत छन्। योे अस्पतालको बहिरंग विभागमा दैनिक औसत ६० जना डेंगी संक्रमित उपचारका लागि आइरहेका छन्।

पछिल्लो समय दैनिक बढ्दै गएको टिचिङ अस्पताल महाराजगञ्जले जनाएको छ। बिहीबार मात्र यो अस्पतालमा १० जना डेंगी संक्रमित अब्जरभेसन वार्डमा भर्ना भई उपचाररत छन्। दैनिक ५/६ जना भर्ना हुने र डिस्चार्ज हुने क्रम जारी रहेको अस्पतालका प्रवक्ता प्रताप शाहीले बताए। उनले भने, ‘केही दिनयता संक्रमित संख्या केही बढेको छ,’ उनले भने।

 इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार उल्लेखनीय संख्यामा डेंगी संक्रमित भएका १० जिल्लामध्ये काठमाडौं तेस्रो नम्बरमा देखिएको छ। पहिला कास्कीमा १९ सय ३, दोस्रो तनहुुँमा १६ सय ४५, तेस्रोमा काठमाडौं परेको छ।

काठमाडौंमा कुल संक्रमित १५ सय ४० जना छन्। अन्य जिल्लाम पहिल्यै संक्रमित भइसकेको तथ्यांकसहित बढी देखिएको हो भने काठमाडौंमा पछिल्लो समय बढेको संक्रमितका कारण धेरै संख्या देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य शाखाप्रमुख डा. गोकर्ण दाहालले बताए।

उनले भने, ‘अरू जिल्लामा नयाँ संक्रमित दर घट्दो क्रममा देखिन्छ तर काठमाडौंमा बढी देखिन्छ,’ उनले भने। अन्य बढी संक्रमित हुने जिल्लाहरूमा पर्वतमा ११ सय १०, चितवनमा ७३३ र गोरखामा ४५१ जना छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. पुनका अनुसार केही भागमा मनसुन सुरु भएदेखि यता देखिन सुरु भई घट्दो क्रममा छन् भने केही जिल्लामा भदौ/असोजदेखि बढ्दै दर क्रम देखिन्छ। यीमध्ये बाग्मती प्रदेशमा बढी देखिएको छ। उनको अनुसार विगतको अनुभवले पनि भदौ/असोजमा डेंगी सार्ने लामखुट्टेको लागि अनुकूल मौसम हो। ‘दसैंतिहारसम्म यो क्रम जारी रहन सक्छ,’ उनले भने।

कीटजन्य रोग शाखाका प्रमुख डा. दाहालका अनुसार काठमाडौंमा संक्रमण बढेपछि कुनै यकिन ठाउँमा मात्र प्रकोपको रूप नलिएको उनले बताए। तर यो थप तिहारसम्म जारी रहने देखिन्छ। यो अवधिमा पानी पर्ने, रोकिने र फेरि पानीको क्रम जारी रह्यो भने थप तीन साता संक्रमण बढ्ने नै हुन्छ। ‘पानीमै यो लामखुट्टेको जनघनत्व बढ्ने बढ्छ, पानी रोकियो भने जनघनत्व रोकन्छ,’ उनले भने।

कात्तिकसम्म यसको मौसमी अनुकूल समय भएकाले लामखुट्टेको वृद्धि रोक्न स्थानीय निकाय थप सक्रिय हुनुपर्ने उनको सुझाव। ‘काठमाडौं महानगरले यो विषयमा छलफल पनि गरिसकेको छ, संक्रमण बढेका ठाउँका स्थानीय निकायहरूले लामखुट्टेको वासस्थान खोजेर नष्ट गर्ने काम थप तीन साता सक्रिय हुनुपर्छ,’ उनले भने।

प्रकाशित: ११ आश्विन २०८१ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App