२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘कोभिड नहुनुमा वंशाणुगत गुण कारक’

चार वर्षअघि विश्वभर फैलिएको कोभिड–१९ महामारीले केही खास व्यक्तिलाई छुन सकेन। त्यस प्रकारको रोग प्रतिरक्षा गर्न सक्ने अदभूत क्षमताका लागि आनुवंशिक कारण रहेको एक अध्ययनले देखाएको छ।

वैज्ञानिक जर्नल नेचरमा हालै प्रकाशित एक अध्ययनका अनुसार यसअघि थोरै मात्र अध्ययन भएको ‘एचएलए–डिक्युएटु’ नामक वंशाणु (जिन) को सक्रियताका कारण उनीहरूमा कोभिड संक्रमण नभएको पाइएको छ।

परीक्षणका लागि स्वेच्छाले सन् २०२१ मा भाइरस संक्रमण गराइएका ३६ स्वयंसेवकमा गरिएको एक अध्ययनले त्यस्तो देखाएको हो। त्यतिबेला कोभिड महामारी उच्चतम बिन्दुमा थियो। तर कहिल्यै कोभिडबाट संक्रमित नभएका ती स्वयंसेवकहरूको नाकबाट भाइरस संक्रमण गराइएको थियो। सुरुमा कति दिनमा भाइरस संक्रमण हुनेछ भनेर पत्ता लगाउन गरिएको उक्त अध्ययनका क्रममा सहभागी १६ स्वयंसेवकका हकमा विभिन्न खाले सघन परीक्षणहरू गरिएका थिए।

अध्ययनमा संक्रमण हुनुअघि र पछि उनीहरूको रगत र नाकका भित्री भागमा कतिबेला र कुन स्थानमा प्रतिरक्षात्मक गतिविधि सक्रिय भए भन्ने रेकर्ड गरिएको थियो। बृहत् अनुसन्धानमा सहभागी १६ मध्ये ६ जना मात्र बिरामी परेका थिए।

‘संक्रमण नै नभएकाहरूमाथि अध्ययन गरेर बेकार समय खेर गएको भन्ने सुरुमा हामीले ठान्यौं,’ अध्ययनको नेतृत्व गरेका नेदरल्यान्डस्थित क्यान्सर इन्स्टिच्युटका जीवशास्त्री रिक लिन्डेबुमले भने। त्यसपछि यो कसरी सम्भव भयो भन्नेमा अध्ययन केन्द्रित रहेको उनी बताउँछन्।

कोभिड संक्रमणबाट विश्वमा कति जना जोगिए भन्ने प्रस्ट आँकडा छैन तर सन् २०२२ को अन्त्यताका अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार हरेक ४ मध्ये १ अमेरिकी कोभिड संक्रमणबाट बचेका थिए। निरोगी स्वयंसेवकमा गरिने च्यालेन्ज ट्रायल आफैंमा विवादास्पद रहे पनि यसले महत्त्वपूर्ण सूचना उपलब्ध गराउने क्यालिफोर्निया विश्वविद्यालयाका प्रतिरक्षा प्रणाली र आनुवांशिक विशेषज्ञ जिल होलेनब्याच ठान्छिन्। शरीरमा भाइरसको प्रवेश भएदेखिका गतिविधिहरूलाई यस्ता खाले परीक्षणले प्रस्ट पार्ने उनको भनाइ छ।

लिन्डेबुम र उनको टिमले अध्ययनमा सहभागी गराएका १६ मध्ये ७ जना सहभागीमा कहिल्यै पनि भाइरस पोजिटिभ देखिएन भने तीन जनाको नाकमा सामान्य संक्रमण भए पनि सशक्त प्रतिरक्षा प्रणालीका कारण उनीहरू बिरामी परेका थिएनन्। भाइरसले छुन नसकेका सात सहभागीको मोनोसाइट्स तथा एमएआइटी कोषिकामा व्यापक हिसाबले जटिल परिवर्तन भएको देखिएको थियो।

सामान्य संक्रमण भएका तीनजनामा नाकमा संक्रमण भएको पहिलो दिनमै इन्टरफेरोन नाम गरेको प्रतिरक्षात्मक प्रतिक्रिया देखिएको थियो। इन्टरफेरोनले भाइरस संक्रमण भएको संकेत दिएपछि त्यसलाई परास्त गर्ने जिम्मेवारी लिएका कोषिकाहरू सक्रिय हुने गर्छन्।

उता भाइरस संक्रमणका कारण बिरामी भएकाहरूमा यही इन्टफेरोन सक्रिय हुन पाँच दिन लागेको थियो। यो फरक नतिजाका लागि संक्रमण भएको निश्चित स्थानमा तत्काल हुने प्रतिरक्षात्मक गतिविधि जिम्मेवार रहेको लिन्डेबुम तर्क गर्छन्। बिरामी भएका सहभागीहरूका नाकमा देखिनुभन्दा अघि रगतमा इन्टरफेरोन देखिएको थियो।

भाइरसलाई नाकबाट प्रवेश गराएको अवस्थामा समेत यस्तो देखिएकोमा आश्चर्य प्रकट गर्दै लिन्डेबुम थप्छन्, ‘यही नतिजा नै हामीले सोचेभन्दा ठिक उल्टो थियो। यसमा संक्रमण भएको कोषिकाभन्दा अघि नै हाम्रो प्रतिरक्षा प्रणालीले केही गडबड भएको थाहा पाउने र त्यसको सूचना दिने गर्छ।’

बिरामी नपरेकाहरूमा प्रतिरक्षा प्रणालीका लागि जिम्मेवार मानिने ‘एचएलए–डिक्युएटु’ नामक वंशाणुको उच्चतम सक्रियता देखिएको थियो।

यो वंशाणुले गर्ने कार्यबारे वैज्ञानिकहरूलाई धेरै जानकारी नभए पनि यसअघिका अध्ययनले कोभिडको सामान्य खाले संक्रमणसँग वंशाणुको सम्बन्ध हुने देखाएका थिए। ‘यो वंशाणुको सक्रियताको स्तरका आधारमा संक्रमणको जोखिममा को रहन्छन् भन्ने आकलन गर्न सकिने भएको छ,’ अमेरिकाको येल विश्वविद्यालयका रोग प्रतिरक्षाविज्ञ अकिको इवासाकी भन्छन्। सन् २०२१ मा गरिएको उक्त च्यालेन्ज ट्रायलपछि यो रोगमा धेरै खाले परिवर्तन देखिएको तथा संक्रमण तथा खोपका कारण प्रतिरक्षा प्रणाली विकसित भएको चर्चा गर्दै इवासाकी भन्छन्, ‘अझ फरक उमेरका धेरै खाले जनसंख्यामा यो परीक्षण गरिएको भए फरक नतिजा आउन सक्थ्यो।’

‘जे जसो भए पनि, केही व्यक्तिको नाकको कोषिकामा रहेको प्रतिरक्षात्मक कोषिकाको झुण्डले प्रतिकार्य गर्न सक्ने देखिएको छ, यो उनीहरूका लागि खुसीको कुरा हो,’ क्यालिफोर्निया विश्वविद्यालयका होलेनब्याच भन्छन्। सन् २०२१ मा गरिएको सो अध्ययनपछि गरिएका पछिल्ला अध्ययनहरूमा सहभागी भएकाहरू कुनै न कुनै हिसाबले भाइरसबाट संक्रमित भएको हुन सक्ने भएकाले अनुसन्धानकर्ताका लागि उक्त अध्ययन सही अवसर रहेको मानिएको छ। ‘कोभिड १९ का लागि यसप्रकारको अध्ययन गर्ने अवसर अब सायद बिरलै पाइन्छ। यो हिसाबले यो अध्ययनको नतिजा फरक छ,’ अनुसन्धानको नेतृत्व गरेका लिन्डेबुम तर्क गर्छन्।

(साइन्सन्युजबाट साभार)

प्रकाशित: २९ असार २०८१ ०६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App