१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सूर्यविनायक नगरपालिकामा ‘एक घर एक स्वास्थ्य बिमा’

भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई नेपाल सरकारको स्वास्थ्य बिमाको पहुँच पु¥याउन ‘एक घर एक स्वास्थ्य बिमा’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ। त्यसका लागि नगरपालिकाबाट एक हजार र कर्मचारीका लागि ५० प्रतिशत प्रिमियम अनुदान व्यहोर्ने गरी कार्यक्रम कार्यान्वयनमा रहेको नगरपालिकाले जनाएको हो। योजनाअनुसार स्वास्थ्य बिमा कार्यक्रमबाट चालु आर्थिक वर्षमा दुई हजार १४१ घरधुरी लाभान्वित भएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख वासुदेव थापाले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा सबै नागरिकको सरल र सहज पहुँच सुनिश्चित गर्न ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’मार्फत प्रत्येक वडामा मासिक एक जना चिकित्सकसहित मोबाइल क्लिनिक सेवा उपलब्ध गराई टेलिमेडिसिनलाई प्रोत्साहन गरिने जनाए।

आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्दै विस्तारित स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक कानुन तर्जुमा गरी आवश्यक पूर्वाधार, प्रविधि र जनशक्ति व्यवस्थापनका लागि नीतिगत र प्रक्रियागत सुधार गर्न जोड दिइने उनले जनाए। अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठन संरचना पुनरवलोकनसहित स्वीकृत गर्न पहल गरिने उनले जनाए। साथै स्वास्थ्य चौकीबाट सञ्चालन हुँदै आएको प्रयोगशाला स्वास्थ्य सेवालाई थप विस्तार एवम् सुदृढीकरण गर्दै लगिने जानकारी पनि उनले गराए।

नगरपालिकामा आयोजित भेलामा आगामी आव २०८१÷८२ का लागि स्वीकृत कुल बजेट (आयव्यय अनुमान)समेत प्रस्तुत गरिएको थियो। संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान तथा ससर्त अनुदान गरी जम्मा ७२ करोड ३१ लाख ९९ हजार पाँच सय आय अनुमान रहेको जानकारी दिइएको थियो। साथै प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक, ससर्त, विशेष अनुदान गरी ४८ करोड सात लाख ३९ हजार प्राप्त हुने अनुमानसहित एक अर्ब तीन करोड ६० लाख सात हजार पाँच सय आन्तरिक आम्दानीबाट प्राप्त हुने अनुमान गरी कुल आयतर्फ दुई अर्ब २४ करोड अनुमान रहेको छ।

खर्च तथा आर्थिक विकासतर्फ ११ करोड ८९ लाख ४३ हजार, सामाजिक विकासतर्फ ८३ करोड ८४ लाख ४६ हजार हुने अनुमान रहेको छ।

पूर्वाधार विकासतर्फ ८७ करोड १६ लाख २२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ११ करोड पाँच लाख २४ हजार र वन वातावरण तथा विपद् र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ३० करोड ४ लाख चौसठ्ठी हजार रकम विनियोजन गरी कुल व्यय दुई अर्ब २४ करोड अनुमान गरेको जानकारी गराइयो।

सूर्यविनायक नगरपालिकाको आव २०८१÷८२ को स्वीकृत नीति कार्यक्रम तथा बजेटले हालसम्म प्राप्त उपलब्धिलाई संरक्षण र संस्थागत गर्दै थप उन्नत बनाउने, उत्पादन र रोजगारीलाई विशेष प्रवद्र्ध्न गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र अन्ततोगत्वा समृद्ध र समतामूलक समाज निर्माण गर्न योगदान दिने अपेक्षा गरेको नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक नगरपालिका–७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाद्वारा तयार पारिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ असार २०८१ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App