हिमाली जिल्ला ताप्लेजुङमा पनि कालाजारका संक्रमित भेटिएपछि स्वास्थ्य कार्यालय ताप्लेजुङले प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य परीक्षण गरेको छ ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालले आठराई त्रिवेणी गाउँपालिकाको वडा नं १ निघुरादिन, वडा नं २ फुलवारी र फुङलिङ नगरपालिकाको ल्याङ्वा क्षेत्रमा ‘केस बेस सर्भिलेन्स’गरिएको जानकारी दिए । ताप्लेजुङमा गत फागुन र चैत महिनामा कालाजारका दुईजना संक्रमित भेटिएका थिए । फुलवारी र निघुरादिनमा १२ जना तथा दोखुको ल्याङ्वा क्षेत्रमा १६ जनाको नमूनागत ‘केस बेस सर्भिलेन्स’ गरिएकोमा सबैको रिर्पोट नेगेटिभ अर्थात् कालाजारका कुनै संकेत नदेखिएको दुलालले जानकारी दिए ।
ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक विजया राईका अनुसार चैत २९ गते फुङलिङ नगरपालिका वडा नं ८ का २३ वर्षे पुरुषमा कालाजारको संक्रमण देखिएको थियो । फागुन ११ गते आठराई त्रिवेणी गाउँपालिकाका एक ५५ वर्षे पुरुषमा पनि कालाजरको संक्रमण देखिएको थियो ।
कालाजारलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस,ब्ल्याक फिबर वा डमडम फिबर भनेर चिनिन्छ । प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारणले हुने यो रोग विभिन्न प्रकारका लिस्मनाइअसिस मध्ये सबैभन्दा गम्भीर प्रकारको रोग हो । स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण यो लाग्ने गर्दछ ।
परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ । संक्रमण भएपछि यो रोगको परजीवीहरू कलेजो तथा फियो जस्ता भित्री अङ्गमा सर्ने हुनाले यसलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस भनिएको हो । यो परजीवी हाडमांसीमा पनि सर्ने गर्दछ । कालाजारको संक्रमण भएपछि उपचार गरिएन भने मृत्यु निश्चित प्रायः हुन्छ ।
ज्वरो आउनु, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि यो रोगका मुख्य लक्षण हुन् । प्राय साँझदेखि बिहानसम्म यो भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कन, बाहिर जाँदा वा शरीरको धेरै भाग छोप्ने कपडा लगाउन र शरीरको खुल्ला ठाउँमा पनि भुसुना भगाउने मल्हम लगाउने सहितका विधि अपनाउन चिकित्सकको सुझाव छ ।
प्रकाशित: ११ असार २०८१ १३:३७ मंगलबार