८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘नियमित सफाइ गरे हुन्न लिंगको क्यान्सर’

सिरहाका ५० वर्षीय राम यादव (नाम परिवर्तन) लिंगमा समस्या देखिएपछि उनी जेठको पहिलो साता चितवनस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा पुगे। परीक्षण गर्दा उनमा लिंगको क्यान्सर भएको पत्ता लाग्यो। चिकित्सकहरूले क्यान्सर प्रभावित भागको शल्यक्रिया गरे। अहिले उनी थप उपचारका लागि भर्ना भएका छन्।

गत साता सोही अस्पतालमा भर्ना भएका हुन्, सप्तरीका ५२ वर्षीया रामेश्वर प्रसाद शर्मा (नाम परिवर्तन)। उनको पनि लिंगमा क्यान्सर भएको छ। गत साता नै शल्यक्रिया गरी उनको लिंगको आधा भाग फालिएको छ। यी दुवैको क्यान्सर तेस्रो चरणमा पुगेपछि थाहा भएको हो। त्यसकारण उनीहरूमा थप उपचार आवश्यक रहेको बिपी कोइराला मेमोरियल अस्पताल भरतपुरका युरो अन्कोलोजिस्ट सर्जन डा. निर्मल लामिछानेले बताए।

उक्त अस्पतालमा लिंगको क्यान्सर भएर आउने यी दुई प्रतिनिधि पात्र हुन। तर अस्पतालमा बर्सेनि धेरै संख्यामा यस्ता बिरामी उपचारका लागि पुग्छन्। अस्पतालमा गत वर्ष लिंगको क्यान्सर भएका ८७ बिरामीले सेवा लिएका थिए। सो अस्पतालमा प्रतिवर्ष औसत ८० देखि ९० जना लिंगको क्यान्सर भएका बिरामी उपचारमा पुग्छन्।

भक्तपुर क्यान्सर अस्पतालमा पनि हालै दुई पुरुषमा लिंगको क्यान्सर पुष्टि भएको छ। उनीहरू शल्यक्रियापछि थप उपचारमा रहेको अस्पतालका युरो अन्कोलोजिस्ट सर्जन डा. पुण्य खरबुजाले बताए।

डा. पुण्य खरबुजा, सर्जिकल ओन्कोलोजिस्ट, भक्तपुर क्यान्सर अस्पताल

उनका अनुसार यी दुवै ५० वर्षमुनिका पुरुष हुन्। यो अस्पतालमा प्रतिवर्ष औसत ३० देखि ४० जना लिंगको क्यान्सर भएका बिरामी उपचारमा आउँछन्। एचपिभी इन्फर्मेसन सेन्टरको सन् २०२३ को तथ्यांकअनुसार नेपालमा १.३९ पुरुषमा लिंगको क्यान्सर हुने गर्छ।

कसरी हुन्छ लिंगको क्यान्सर?

चिकित्सकका अनुसार मुख्य दुई कारणले लिंंगको क्यान्सर हुन्छ। एउटा, सफाइको कमीले लिंगभित्र जम्मा हुने कीटाणु। अर्को, यौन सम्पर्कका क्रममा सर्ने ह्युमन पेपिलोमा भाइरसको संक्रमण। लिंगको उचित सफाइ नभए सुरुमा सानो घाउ हुने र बिस्तारै भित्री भागमा फैलिने चिकित्सकहरू बताउँछन्।

लिंगको लिम्पनोडसम्म र अन्य भागमा अनियन्त्रित रूपमा कोष वृद्धि हुने प्रक्रियालाई लिंगको क्यान्सर भनिन्छ। लिंगमा क्यान्सर सुरु भएपछि घाउ हुने, राता निको नहुने बिबिरा आउने, सेता र राता धब्बा आउने, लिंगको छाला पछाडि नफर्किने जस्ता लक्षण देखिन्छन्। यी र यस्ता लक्षण देखिए तुरुन्त विशेषज्ञ अस्पतालमा उपचारका लागि जान चिकित्सकको सुझाव छ।

यो क्यान्सरको समयमै पत्ता लगाउन सके क्यान्सर फैलिएको भाग मात्र काटेर शल्यक्रिया गर्न सकिन्छ। जसमा एउटा पेनाटोमी (आंंशिक भाग काटेर फाल्ने) र अर्कोे टोटल पेनाटोमी (लिंगको पुरै भाग काटेर फाल्ने) शल्यक्रिया पर्छन्। यिनलाई क्यान्सरको पहिलोे उपचार विधि हो। यो क्यान्सर धेरैजसोे ५० देखि ६० वर्ष उमेर पुगेपछि देखिन्छ।

नेपालमा उस्तै स्थिति

विकसित देशमा पहिला नै नियन्त्रण भइसकेको लिंगको क्यान्सर नेपालसहित दक्षिण एसियाली र केही विपन्न मुलुकमा अहिले पनि घट्न नसकेको चिकित्सकहरू बताउँछन्।

‘यो समस्या विकसित मुलुकमा छैन। भारत, नेपाल, दक्षिण अमेरिका, कंगो र अफ्रिकी देशहरूमा भने घट्न सकेको छैन,’ बिपी कोइराला क्यान्सर अस्पतालका युरो अन्कोलोजी सर्जन डा. निर्मल लामिछानेले भने। नेपालमा क्यान्सरको १९औं नम्बरमा पिसाबजन्य अंगको क्यान्सर पर्छ। यसभित्र पनि लिंगको क्यान्सर दोस्रो नम्बरमा पर्र्छ।

डा. निर्मल लामिछाने, युरो अन्कोलोजिस्ट, भरतपुर क्यान्सर अस्पताल

भरतपुर क्यान्सर अस्पतालका डा. लामिछानेका अनुसार सामाजिक तथा आर्थिक रूपमा पछि परेका पूर्वी तराईका बिरामीहरूमा लिंगको क्यान्सर बढी देखिएको अस्पतालमा आउने बिरामीको प्रवृत्तिबाट देखिन्छ। पूर्वी तराईका जिल्ला धनुषा, सप्तरी, सिरहालगायत जिल्लामा यो क्यान्सर बढी देखिन्छ।

बिपी कोइरला क्यान्सर अस्पतालले सन् २०१९ मा प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार पाँच वर्षको अवधिमा अस्पतालमा लिंगको क्यान्सरको शंका गरिएका २४५ बिरामीमध्ये २१८ जनामा प्रयोगशालाबाट सोही रोग पुष्टि भएको थियो। उनीहरू सन् २०१२ जनवरीदेखि २०१६ डिसेम्बरभित्र उपचारमा पुगेका बिरामी थिए।

क्यान्सर पुष्टि भएकामध्ये ७१.६ प्रतिशत कृषक थिए भने ६७ प्रतिशतमा कमजोर सफाइको स्थिति थियो। ८८.७ प्रतिशतले धूमपान गर्ने गरेको र ७० प्रतिशतले प्राथमिक तहको शिक्षा पूरा गरेका थिए।

पेपिलोमा भाइरस अन्य संंक्रमण मुख्य कारक

भक्तपुर क्यान्सर अस्पतालका युरो अन्कोलोजिस्ट सर्जन डा. खरबुजाका अनुसार यो अस्पतालमा आउने बिरामीको स्थिति हेर्दा पहाडी जिल्लाबाट आउने बढी छन्। यो हिसाबले लिंगको क्यान्सर पुर्वी तराईमा मात्र नभई सबैजसो जिल्लामा फैलिएको छ।

क्यान्सरका बिरामीहरूको परीक्षण गर्दा ह्युमन पेपिलोमा भाइरस कारक देखिन्छ। तर तराईको हकमा अन्य संक्रमण पनि कारक रहेको डा. लामिछानेको तर्क छ। ‘सबैमा एचपिभी परीक्षण भएको छैन, बिरामीकोे परिणाम हेर्दा सफाइको कमी देखिन्छ,’ उनले भने।

उपचारमा आउनेहरू धेरैजसो तेस्रो चरणमा भइसकेपछि मात्र आउँछन्। उनीहरू सुरुमा लाजका कारण उपचारमा ढिला पुग्ने गर्छन्। ढिला पुग्नेका हकमा उपचार जटिल बन्छ नै, लामो उपचारपछि पनि लिंगको आधा या पुरै भाग काट्नुपरे बाँकी जीवन पनि जटिल बन्छ।

‘ढिला उपचारमा पुग्दा लिंग र वरिपरिको भागसमेत काट्नुपर्दा पुरुषको यौन जीवन पनि सहज हुँदैन,’ डा. खरबुजाले भने। विश्वमा यो क्यान्सर हुनुमा ८० प्रतिशत ह्युमन पेपिलोमा भाइरस नै कारण देखिन्छ।

भरतपुर अस्पतालमा आउने बिरामीको क्यान्सर के कारणले भएको भन्ने यकिन तथ्यांक छैन। तर चिकित्सकका अनुसार साक्षरता नभएका, न्यून आर्थिक क्षमता भएका बिरामीहरूमा यो समस्या देखिन्छ।

भक्तपुर क्यान्सर अपतालले सन् २०२२ मा प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालमा ६० प्रतिशत लिंगको क्यान्सर ह्युमन पेपिलोमा भाइरसकै कारणले भएको देखिन्छ।

नेपालका कतिपय धार्मिक समुदायमा बच्चा जन्मेपछि लिंगलाई ढाकेको छाला काट्ने चलन छ। अघिको भागको छाला फर्काउने चलन भएका देश तथा समुदायमा यो समस्या कम हुने गरेको डा. लामिछाने बताउँछन्। तर त्यस्तो चलन नभएको समुदायमा लिंगको छालाले छोपेको भागमा सरसफाइको कमी हुँदा फोहोर जम्ने र पछि गएर क्यान्सर हुने गर्छ।

लिंगको नियमित सफाइ गर्नेहरूमा यो क्यान्सरको सम्भवना कम हुने चिकित्सक बताउँछन्। ‘शैक्षिक, आर्थिक स्तर कमजोर भएका कृषि पेसा अपनाउने तराईका यो वर्गमा बढी देखिन्छ,’ डा. लामिछानेले भने।

नियन्त्रण कसले के गर्ने?

विकसित देशमा लिंगको क्यान्सर बनाउने कारक तत्व ह्युमन पेपिलोमा भाइरस विरुद्धको खोप नियमित दिने चलन भएकाले यो क्यान्सर नियन्त्रण भइसकेको छ। भइहाले पनि वर्षमा एकाध व्यक्तिमा मात्र त्यो समस्या देखिन्छ।

नेपालमा पनि सरकारले महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एपिभी खोप पुरुषका लागि पनि नियमित दिने कार्यक्रम आवश्यक रहेको चिकित्सक बताउँछन्।

‘१२ वर्षदेखि १४ वर्षका किशोरीलाई एचपिभीविरुद्धको खोप दिएजस्तै किशोरहरूलाई पनि दिनुपर्छ’ डा. लामिछानेले भने। यसको साथै हरेक व्यक्तिले व्यक्तिगत सफाइ गर्ने, सुरक्षित यौन सम्पर्क अँगाल्ने, लिंगको अघिको भागको छालाको फर्काएर धुने गरे यो रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ। ‘माथ उल्लिखित कुनै पनि लक्षण देखिए छिटोभन्दा छिटो उपचारमा गए पनि उपचार सम्भव छ,’ डा. खरबुजाले भने।

प्रकाशित: २२ जेष्ठ २०८१ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App