डेन्टल सर्जन डा. क्रिस्टिना प्रधानको उच्च शिक्षा पढ्ने क्रममा सुरुको रोजाइ नै दन्त चिकित्सा परेको थियो। त्यही विषयमा अध्ययन गरेकी उनी हाल समाज डेन्टल हस्पिटलमा कार्यरत छिन्। उनी पिपल्स डेन्टल कलेजको आठौं ब्याचकी विद्यार्थी हुन्। रातको समयमा ड्युटी नपर्ने र रोजगारीका अवसर पनि बढी हुने भएकाले आफ्नो रोजाइमा दन्त चिकित्सा परेको उनी बताउँछिन्।
‘रातभरि ड्युटी गर्नुनपर्ने, अरू जागिरजस्तै निश्चित अवधिसम्म खटिए हुने, बचेको समय परिवारसँग बिताउन पाइने भनेर मैले दन्त चिकित्सा रोजेकी हुँ,’ उनी भन्छिन्। निश्चित समयभित्र गरिने कामले परिवारमा खुसी छाउने र पेसागत रूपमा पनि सफल हुन सकिने उनको बुझाइ छ।
पाँचवर्षे कोर्स सकिनेबित्तिकै जागिर पाइने र आफैंले डेन्टल क्लिनिक खोल्न पनि सकिने भएकाले महिलाहरूको रोजाइमा दन्त चिकित्सा पर्ने गरेको क्रिस्टिना बताउँछिन्। पछिल्लो समय स्वदेशमा मात्र नभएर विदेशमा पनि सहजै रोजगारीका अवसर प्राप्त गर्न सकिने र थप शिक्षा हासिलका लागि पनि सहज हुने भएकाले यो विषयमा आकर्षण बढिरहेको उनी ठान्छिन्।
पिपुल्स डेन्टल कलेजकी विद्यार्थी सुमना केसी अहिले स्नातकको पाँचौं वर्षमा छिन्। स्नातक तहबाटै प्रयोगात्मक चिकित्सकीय अभ्यास गर्न पाइने र एमडी गर्नुअघि नै विशेषज्ञ चिकित्सकको परिचय मिल्ने हुनाले आफू यो विषयतिर लागेको उनी बताउँछिन्।
‘यो विषय पढे पाँच वर्षमै दक्ष चिकित्सक हुन पाइन्छ। पढाइ सकाएलगत्तै क्लिनिक खोलेर आत्मनिर्भर बन्न सकिन्छ,’ उनी भन्छिन्, ‘यो विषय अध्ययन गर्दा नै प्रयोगात्मक रूपमा मुख र दाँत स्वास्थ्यमा केन्द्रित रहनुपर्ने हुँदा विशेषज्ञता त हासिल हुन्छ नै, बालकदेखि वृद्ध उमेर समूहका मानिससँगको सामीप्यका कारण यो पेसा रमाइलो पनि हुन्छ।’
सोही कलेजकी अर्की विद्यार्थी सविना न्यौपाने पनि डेन्टल सर्जरीमा स्नातक तहमा अध्ययनरत छिन्। अध्ययनको पाँचौं वर्षमा रहेकी उनी दन्त चिकित्सा सेवाको अभ्यास कक्षामा समेत सामेल छिन्। आकस्मिक रूपमा अस्पताल जानुनपर्ने, राति ड्युटी नहुने र महिलालाई सहज रूपमा आत्मनिर्भर बनाउने भएकाले यो विषय रोजेको उनी सुनाउँछिन्। ‘बिडिएस (ब्याचलर अफ डेन्टल सर्जरी) सक्नेबित्तिकै क्लिनिक खोल्न पनि पाइयो,’ उनी भन्छिन्।
बिडिएसको कोर्सले दाँत र मुख स्वास्थ्यसँग सम्बन्धित सबैखाले उपचारमा दक्ष बनाउने र एमबिबिएसपछि एमडीको अनिवार्यताजस्तो पनि नहुने न्यौपाने बताउँछिन्। डेन्टल सर्जरी विषय पढाइ पूरा गरिसकेका र पढिरहेका यी तीन जनाबाहेक अरू पनि थुप्रै महिला यो क्षेत्रमा छन्।
त्यसो त पुरुषले पनि यो विषय नरोज्ने भन्ने होइन तर तथ्यांकमा पुरुष दन्त चिकित्सकको संख्या महिलाको तुलनामा कम छ। पिपुल्स डेन्टल कलेजका प्राध्यापक एवं डेन्टल एसोसिएसनका अध्यक्ष डा. प्रणय शाक्यका अनुसार कलेजमा दन्त चिकित्सा अध्ययनरत विद्यार्थीको संख्या हेर्दा ७५ प्रतिशत महिला रहेको देखिन्छ।
डेन्टल क्लिनिक र अस्पतालहरूमा सेवा प्रदान गरिरहेका डेन्टल चिकित्सकको सामान्य अनुपात हेर्दा पनि ७५ प्रतिशतकै संख्या देखिएको उनी सुनाउँछन्। तर कुल अनुपातको यकिन तथ्यांक भने अध्ययन गरेरै निकाल्नुपर्ने उनको भनाइ छ। डा. शाक्यकै जस्तो भनाइ राख्छिन्, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालकी दन्त विभागकी प्रमुख डा. शैली प्रधान। भन्छिन्, ‘एमडी अध्ययनरत विद्यार्थीको संख्या हेर्दा पनि महिलाला नै बढी देखिन्छन्।’
नेपाल डेन्टल एसोसिएसनमा आबद्ध २३ सय ८ चिकित्सकमध्ये १३ सय ४९ महिला छन्। पुरुष चिकित्सकको संख्या भने ९५९ मात्र छ। यस हिसाबले दन्त चिकित्सामा ५८ प्रतिशत महिला र ४२ प्रतिशत आबद्ध रहेको देखिन्छ। नेपाल मेडिकल काउन्सिलको तथ्यांकमा भने ४८ सय दन्त चिकित्सक छन्। तर महिला–पुरुषको छुट्टै संंख्या भने छुट्याइएको छैन।
पछिल्लो समय आकर्षक आम्दानी हुने देशमा जान पनि विद्यार्थीको रोजाइमा डेन्टल सर्जरी पर्ने गरेको वीर अस्पताल डा. प्रधान बताउँछिन्। उनको अनु्सार पछिल्लो समय नेपालमा डेन्टल अध्ययन गरेर गएका चिकित्सकहरूले अमेरिका, अस्टे«लिया जस्ता देशहरूमा पर्याप्त कमाइ गरेका छन्।
दन्त चिकित्सामा एमडी गर्नुपरे रातिको ड्युटी पनि झेल्नुपर्ने भन्ने कुरामा चाहिँ सत्यता नरहेको डेन्टल एसोसिएसनका अध्यक्ष डा. शाक्य बताउँछन्। यस अर्थमा रातिको ड्युटी नपर्ने भन्ने बुझाइ आंशिक मात्र सत्य भएको उनको भनाइ छ। ‘मेग्लियोफेसियल सर्जरीजस्ता विशिष्ट सेवामा नाइट ड्युटी पनि पर्छ,’ उनी भन्छन्, ‘ड्युटी कडा हुँदैन तर सर्जरी गर्नुपर्ने बिरामीका हकमा त्यस्तो अवस्था छ।’ तर डेन्टल सर्जरी हातले गर्ने सीपमूलक काम भएकाले यसमा महिला बढी आकर्षित हुने गरेको डा. शाक्य जनाउँछन्।
स्नातक सकिनेबित्तिकै सबैले क्लिनिक सञ्चालन गर्न सक्ने स्थिति पनि नहुने उनी बताउँछन्। उनको अनुसार डेन्टल क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण अति महँगो हुने भएकाले पढेजति सबैले खोल्न सक्दैनन्।
तर नक्कली सामान र गुणस्तरहीन सेवा दिँदै आएका क्लिनिकहरूमा डेन्टल सर्जन नभई प्यारामेडिक्स (चिकित्सकलाई सघाउने व्यक्ति) या अन्य कुनै तहको तालिम लिनेहरू हुने गरेको उनी बताउँछन् ।
प्रकाशित: २३ वैशाख २०८१ ०७:५४ आइतबार