१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जहाँ गरिवी, त्यहाँ क्षयरोगी

‘विश्वको ४६ प्रतिशत क्षयरोगको भार दक्षिणपूर्वी एसियामा’

नेपालमा कुल जनसंख्याको ५० प्रतिशत मानिसमा क्षयरोगको कीटाणु शरिरमा प्रवेश गरेको आंकलन छ। धेरै जसो विपन्न परिवारमा बढी मात्रामा क्षयरोग देखिने गरेको चिकित्सकले औंल्याएका छन्। नेपाल क्षयरोग केन्द्रले विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बताएका हुन्।

धेरैजसो विपन्न परिवारमा पोषणको अवस्था कमजोर हुने, गुजुमुज्जु परेको घरमा बस्ने र स्वास्थ्य सम्वन्धी जनचेतनाको कमी हुनाले गरिब समूह या समुदायमा क्षयरोगको भार बढी देखिने गरेको नेपाल राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बताए। ‘क्षयरोगको सम्बन्ध गरिबीसँग गहिरो देखिन्छ,’ उनले भने।

क्षयरोेग एक व्यक्तिबाट अर्कोमा सरे पनि व्यक्ति स्वस्थ र पोषणको अवस्था राम्रो छ भने क्षयरोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बलियो भई क्षयरोेग लाग्ने दर कमी हुने डा. श्रेष्ठ बताउँछन्। नेपालमा कुल जनसंख्याको ५० प्रतिशत जनसंख्यामा क्षयरोेगको किटाणु छ, तर सबैमा क्षयरोग लागेको छैन,’ उनले भने।

नेपालले क्षयरोग उन्मुलनका लागि ३८ वर्षदेखि प्रयास गरेको भए पनि अहिलेसम्म उन्मुनलन नहुनुमा गरिबी, खुला सीमाना र जनचेतनाको कमी रहेको उनले बताए। ‘मधेस प्रदेशमा पोषणको अवस्था कमजोर रहेको, खुला सीमा हुनु र जनसंख्याको चाप बढी भएकोले क्षयरोगको भार बढी देखिन्छ,’ डा. श्रेष्ठले भने।

तथ्यांकअनुसार नेपालमा १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्। नेपालमा विद्यमान गरिबी र अन्य अवसरवादी रोगको कारण क्षयरोगको भार उच्च रहेको केन्द्रले जनाएको छ। मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशमा मात्र कुल क्षयरोगको भार ६८ प्रतिशत छ।

आर्थिक वर्ष २०७९/८० भित्र मात्र ३७ हजार चर सय ४७ जना नयाँ क्षयरोेगीको निदान भएको छ भने विश्व क्षयरोग प्रतिवेदन २०२३ अनुसार नेपालमा ७० हजार क्षयरोगी भएको अनुमान छ।

नेपालमा प्रतिवर्ष १८ हजार जनाको क्षयरोगको कारण मृत्यु हुने अनुमान छ। बिरामीमध्येमा ७२ प्रतिशत फोक्सोका क्षयरोगी र २८ प्रतिशत अन्य भागका क्षयरोगी छन्। फोक्सोको झिल्ली, मुटु, मिर्गौला, महिलाको पाठेघरमा हुने क्षयरोग हुन्। यी क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। ४२ वटा जिल्लामा पाँच वर्ष मुनिका ३६ सय ५८ जनामा क्षयरोग पाइएको छ।

नेपालमा नयाँ क्षयरोेगीको अनुमानित तथ्यांकमध्येमा ३२ हजार पाँच सय ५३ जना सम्पर्कमा आउन नसकेको केन्द्रले जनाएको छ। निजी क्षेत्रमा उपचार गर्ने या उपचारमा नपुगेका कारण अनुमानित तथ्यांकभन्दा कम मात्र सरकारको उपचारमा पुग्नुले क्षयरोग सर्ने दरको जोखिम कायमै रहेको केन्द्रले जनाएको छ। राष्ट्रिय सम्पर्कबाट आउन नसकेका एक व्यक्तिबाट प्रतिवर्ष १० जनामा सर्ने जोखिम हुन्छ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा औषधि प्रतिरोधी क्षयरोगको भार पनि विश्वका ३० देशमध्येमा नेपाल पनि रहेकोले चिन्ताको विषय रहेको केन्द्रले जानकारी दिएको छ। सोही वर्षमा २९ सयजना औषधि प्रतिरोधी बिरामी अनुमान गरिएकोमा ६ सय ९३ जनामा औषधि प्रतिरोधी समस्या निदान भएको र पाँच सय ४६ जना मात्र उपचारमा आएका छन्। नेपालमा क्षयरोग सफलता दर ९२.४ प्रतिशत छ भने औषधि प्रतिरोधी सफलता दर ८२ प्रतिशत रहेको छ।

गरिबी, मधुमेह, एचआइभी भएका व्यक्तिहरू, धुमपान, मदिरापान गर्ने व्यक्तिहरूको दर बढी रहेकोले पनि क्षयरोग नियन्त्रणको लागि चुनौती बनेको डा. श्रेष्ठले बताए।

यी चुनौती हुँदाहुँदै पनि नेपालले क्षयरोग उपचार, निदान र रोकथाममा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। पछिल्लो चरणमा केन्द्रले देशभरका एक सय २५ वटा स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ कार्यक्रम सुरु गरिसकेको र थप स्थानीय तहमा यो कार्यक्रम समेट्ने जनाएको छ। ‘स्थानीय तहको सहभागितामा मात्र क्षयरोेग नियन्त्रणमा अपनत्व भूमिकाले पहिचान र उपचार प्रभावकारी हुन्छ,’ निर्देशक श्रेष्ठले भने।

विभिन्न कार्यक्रमको साथ २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त नेपाल योजना रहेको छ। राष्ट्रिय क्षयरोग रणनीतिक योजनाको कार्यान्वयन गरी सन् २०३५ सम्ममा क्षयरोगको महामारीकोे अन्त्य गर्ने नेपालले लक्ष्य लिएको छ।

प्रकाशित: ९ चैत्र २०८० ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App