७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

लाखौंका भेन्डिङ मेसिन प्रयोगविहीन

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको स्वास्थ्य अवस्थामा सुधार ल्याउने लक्ष्यका साथ सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ ल्याएको जारी गरेको छ। कार्यविधिमा महिनावारी हुने सम्पूर्ण किशोरीलाई नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउन सरकारले पालिकालार्ई अनुदान रकम दिने गरेको छ। तर, सामुदायिक विद्यालयमा नि:शुल्क पाउने सेनिटरी प्याड वितरणलाई प्रविधिमैत्री बनाउने नाममा कालिकोटका स्थानीय तहले आफूखुसीको भेन्डिङ मेसिन खरिद गर्ने गरेको पाइएको छ।

सरकारले सामुदायिक विद्यालयका छात्रा महिनावारीको समयमा विद्यालय छाड्ने दर बढ्दै जान थालेपछि यसलाई रोक्ने लक्ष्यसहित ल्याएको कार्यक्रममा कालीकोटका स्थानीय तहका जनप्रतिनिधिले आफूखुसी खरिद गरेका भेन्डिङ मेसिन सञ्चालनमा नआई थन्किएका छन्। कालिकोटको शुभकालिका गाउँपालिकाले छात्रालाई विद्यालयमा रिजाउन भन्दै आव २०७९/८० मा पालिकाका पाँचवटा माध्यमिक विद्यालयमा लाखौं रुपैयाँ खर्च गरेर सेनेटरी भेन्डिङ मेसिन जडान गर्‍यो।  

मेसिन जडान हँुदा छात्राहरू निकै खुसी देखिए। तर, त्यो खुसी धेरै दिन टिक्न सकेन। शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले छात्रा शैक्षिक सुधार योजनाअन्तर्गत दुई लाख १६ हजारका दरले प्रत्यक भेन्डिङ मेसिन र कार्ड जडान पनि गरिन्। जडान गरेको दुई महिनामा १० लाख ८० हजारका भेन्डिङ मेसिन अहिले प्रयोगविहीन छन्।  

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा आफूले पहिला महिला तथा किशोरीका समस्या पहिचान गरी मेसिन जडानको कार्यक्रमलाई विद्यालयस्तरमा कार्यान्वयनतर्फ लगेको शुभकालिका गाउँपालिकाकाले जनाएको थियो। 

कालिकोटका स्थानीय तहले नि:शुल्क पाइने सेनेटरी प्याडलाई लाखौंको भेन्टिङ मेसिनमा राखेर अनियमितता गरेका छन्। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले पनी २०७९/८० मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंहले पालिकाका माध्यमिक विद्यालयमा ६ वटा भेन्डिङ मेसिन वितारण गरिन्। उनले गरेका भेन्टिङ मेसिन प्रयोगमा छैनन्।  

दुवै गाउँपालिकाले कोटेसन गरी कालिकोटकै स्थानीय नरेश बमले आफ्नो फर्म रेड इन्टरनेसनलमार्फत खरिद गरेर जडान गरेका थिए। सान्नित्रिवेणी गाउँपालिकाले पनी दुई लाख ३५ हजारका दरले मेसिन र कार्ड खरिद गरेर १४ लाख १० हजार भुक्तानीसमेत गरेका छन्। स्थानीय पालिकाले खरिद गरेर वितरण गरेका लाखौंका भेन्डिङ मेसिन अहिले प्रयोगमा छैनन्। विद्यालयले पनी झनझटिलो भएपछि प्रयोगमा ल्याउन नसकिएको जनाएका छन्। विद्यालय त्यसमा पनि स्थानीय सरकारका उपप्रमुखको मुख्य रोजाइमा खरिद गरेको जिल्लाको खाँडाचक्र नगरपालिकाले पनि पञ्चदेवल माविमा जडान गरेको छ।

स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट ‘सेनेटरी प्याड’ निकाल्ने मेसिन हाल कालिकोटका अधिकांश स्थानीय सरकारका उपप्रमुखको कार्यक्रम बनेको देखिन्छ। हाल स्थानीय सरकारले विद्यालयमा मिन्सप्याड नि:शुल्क पाउने गर्छ। गाउँपालिकापिच्छे फरकफरक मूल्य भुक्तानी भइरहेको र भेन्टिङ मेसिनको उपयोग, स्वास्थ्यका दृष्टिले कति प्रभावकारी छ। विद्यालयमा छात्राले प्रयोग गर्छन् कि गर्दैनन् भन्ने हेक्का नराखी खरिद भएको स्थानीय हिक्मतजंग मल्लले बताए।

 मिन्स प्याड राख्ने भेन्टिङ मेसिनको बाहिर व्यक्तिगत झै उपप्रमुखको फोटो राख्ने फेसन पनि कालिकोटमा देखिएको छ। त्यसलाई सस्तो लोकप्रियता भन्दै चर्को आलोचना हुन थालेको छ। विद्यालयमा राखिएका भेन्टिङ मेसिनमा राखिएका मिन्स प्याड स्माड कार्ड लिएर तान्न कोही पनि जान्दैनन्। त्यो कहाँ राखिन्छ, मिन्सप्याड कति दिन पछि फेरबदल गर्ने वा नसकिँदासम्म राखिराख्ने त्यसको जिम्मेवारीसम्बन्धी छात्राहरू जानकार छैनन्।  

समाजमा महिलाले महिनावारी भएका बेला घरबाहिर छाउगोठमा बस्ने, अधिकांश ग्रामीण भेकका महिला, गुन्युचोली लगाउने भएका कारण पहिलो त महिनावारीसम्बन्धी जनचेतना नै प्रमुख हो, त्यसमा त्यो स्कुलबाहिरका महिलाको पहुँचमा नभएको स्थानीय जानकारको भनाइ छ। कालिकोटका केही विद्यालयले विद्यालय नर्स कार्यक्रमअन्तर्गत छात्राहरूको समस्यासँग सहजीकरण, प्याड व्यवस्थापन गर्ने गरेकोमा विद्यालयमा सेनेटरी प्याडको लागि भेन्डिङ मेसिन राखेर झनै समस्या भएको छ। छात्रालाई महिनावारी सुरक्षित राख्ने गरेसँगै विद्यालय नर्सको काम पनि विद्यालयमा कम देखिएको छ।  

कालिकोटको स्कुल नर्स कार्यक्रम लागु गरेकोमा अहिले विद्यालयमा स्नर्स पनि छैनन्। खाँडाचक्र नगरपालिकाको विद्यालयमा रहेका नर्स अहिले विद्यायल नआउने गरेको पाइएको छ। विद्युत् लाइन नपुगेका पालिकामा मेसिन राखिएको छ। अहिले विद्यालयमा यसको प्रयोगबारे धेरै बेखबर छन्।  

सरकारले पनि हरेक सामुदायिक विद्यालयमा नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउने घोषणा गरेको छ। प्याड गाउँपालिकाका उप्रमुखले चार लाखको भेन्डिङ मेसिनमा राखेर महँगो बनाएको विश्लेषण हुन थालेको छ। त्यसैमा उपप्रमुख कोषको पैसा स्वास्थ्य क्षेत्रमा खर्च गर्दा पालिकाको स्वास्थ्य शाखालाई समेत जानकारी नदिएर खरिद गरेको भेटिएको छ।

यो वर्ष पनि सेनिटरी प्याड खरिद गर्ने कार्यक्रम भएको र २५ लाख छुट्याएको खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश शाहीले बताए। विद्यालयमा सेनिटरी प्याड राखिएपछि महिनावारी हुँदा कक्षा छाड्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी उनको थियो। कालिकोटका खाँडाचक्र नगरपालिका, सान्नित्रिवेणी र शुभकालिका गाउँपालिकाले यो मेसिन खरिद गरेर विद्यालय, विद्यालयमा थमाएका छन्।  

शुभकालिकामा यही मेसिनको बिल दुई लाख १७ हजारको छ भने खाँडाचक्रमा ४ लाख ५८ हजार,उता सान्नित्रिवेणी गाउँपालिकाले पनि दुई लाख २० हजार गरेका कारण विवादमा परेको छ। खाँडाचक्रले चार लाख ५८ हजार दुई सय १५ भुक्तानी गरिसकेको छ। एउटै खालका मेसिनको पालिका अनुसार फरकफरक दर रेट राखेर खरिद गरिएको छ। अहिले पनि स्थानीय तहले सेनिटरी प्याड खरिद गर्दा मनोमानी ढंगले गुणस्तर खस्केको प्याड खरिद गर्ने गरेका छन्।

छात्रा नै चलाउन जान्दैनन् मेसिन

विद्यालयमा राखिएका भेन्डिङ मेसिनमा राखिएका मेसिनमा आफूहरू स्माड कार्ड लिएर तान्न मात्रै होइन प्याड कहाँ राखिन्छ भन्नेसम्म जानकार नरहेको सान्नित्रिवेणी गाउँपालिकास्थित एक विद्यालयकी छात्रा बताउँछिन्। ‘मिन्सप्याड कति दिनपछि फेरबदल गर्ने वा नसकिउन्जेलसम्म राखी राख्ने हो त्यसको हामीलाई कुनै जानकारी छैन,’ ती छात्राले भनिन्।

कालीकोटका केही विद्यालयले विद्यालय नर्स कार्यक्रमअन्र्तगत छात्राहरूको समस्यासँग सहजीकरण, प्याड व्यवस्थापन गर्ने काम गरिरहेका छन्। तर, नर्सको साटो विद्यालयमा सेनेटरी प्याडको लागि भेन्डिङ मेसिन राखेर झन् समस्या भएको ती छात्राले बताइन्। सरकारले सामुदायिक विद्यालयमा नर्स कार्यक्रम अनिवार्य लागु गरेको भए पनि कालिकोटका अधिकांश पालिकाले हालसम्म विद्यालयमा नर्स राखेका छैनन्।  

पालिकाको व्यवस्थाले खाँडाचक्र नगरपालिकाका विद्यालयमा रहेका नर्स अहिले विद्यायलमा आउन छाडेको शिक्षक नरदल शाही बताउँछन्। ‘नेपाल सरकारले पनि हरेक सामुदायिक विद्यालयमा नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउने घोषणा गरेको छ,’ उनले भने, ‘त्यो प्याड गाउँपालिकाका उपप्रमुखले चार लाखको भेन्डिङ मेसिनमा राखेर महँगो बनाएका छन्, विद्यालय नर्सबारे सोच्न छाडेर यो अनावश्यक मेसिन खरिदमा जनप्रतिनिधिले जोडबल गर्नु राम्रो होइन।’ त्यस्तै यी पालिकाका उपप्रमुख कोषको पैसा स्वास्थ्य क्षेत्रमा खर्चिदा पालिकाको स्वास्थ्य शाखालाई समेत जानकारी नै नदिई जनप्रनिधिले खरिदसमेत गर्ने गरेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८० ०७:५७ बुधबार

भेन्डिङ मेसिन