१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

समयमा रोग पहिचान नहुँदा कुष्ठरोग संक्रमितको स्वास्थ्यमा जटिलता

साइनिङ अस्पताल नेपालगन्जमा उपचार गराइरहेका कुष्ठरोग संक्रमित। तस्बिर : नागरिक

बाँके, राप्ती सोनारी– ६ सिधनवाका जालु राम थारूको शरीर एकाएक दुख्न थाल्यो। एक वर्षयता यो समस्याबाट पीडित भएका उनलाई उपचारका लागि छोराले कहिले भेरी अस्पताल त कहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुर्याए, तर उनको रोग पत्ता नै लागेन।  शरीरमा देखिएको लक्षणअनुसार कुष्ठरोग हुन सक्ने शंका लागेपछि उनलाई पछि मात्र छोराले नेपालगन्जस्थित साइनिङ अस्पताल पुर्याए।  

अस्पताल आइपुग्दासम्म उनलाई कुष्ठरोगले धेरै च्यापिसकेको थियो। समयमै कुष्ठरोग पत्ता लगाउन सकेको भए उनले यति धेरै दुःख भोग्नुपर्ने थिएन। अहिले सोही अस्पतालको वार्डमा रहेका वृद्ध जालुरामले भने, ‘रोग पत्ता लगाउन धेरै गाह्रो पर्‍यो, छोराले यो अस्पतालमा ल्याएपछि भर्ना भएर कुष्ठरोगको औषधी खाइरहेको छु, अस्पतालमा बस्न थालेको मात्रै ११ महिना भइसक्यो, समस्या बल्झिएपछि अस्पतालमा आउने र केही सुधार भएपछि घर जाने क्रम पनि चलिरहेको छ।’ कुष्ठरोग रोगले धेरै च्यापिसकेपछि ढिलो गरी उपचार पाउँदा स्वास्थ्यमा जटिलता आएको उनले दुखेसो पोखे।

रुकुमकी ६५ वर्षीया कौशिला दाहालको खुट्टामा अचानक घाउ देखियो। उनले स्थानीय स्वास्थ्य संस्थामा सामान्य औषधी मात्र गराइन्, तर घाउ निको हुनुभन्दा झन् च्याप्दै गयो। विगत ४ महिनादेखि एकातिर घाउ झन्झन् बढ्दै गयो, अर्कातिर हात र खुट्टा चल्न छाडे र एउटा आँखाको दृष्टि पनि कमजोर हुन थाल्यो। कसैले कुष्ठरोग लागेको हुन सक्ने बताएपछि उनी एक्लै नेपालगन्ज आइपुगिन्।

नेपालगन्जको साइनिङ अस्पतालमा एक हप्तादेखि भर्ना भएकी उनी अहिले उपचार गराइरहेकी छन्। ‘समयमा कुष्ठरोग लागेको थाहा पाएको भए पहिल्यै यो अस्पतालमा आउँथे र अहिलेसम्म निको भएर पनि घर फर्किसक्थे होला’, उनले भनिन् ‘यो रोग लागेको ढिलो थाहा पाउँदा धेरै दुःख पाएँ, स्वास्थ्यमा धेरै समस्या आइरहेको छ।’

नेपालगन्जस्थित साइनिङ अस्पतालबाट यस्ता थुप्रै कुष्ठरोग संक्रमितले अहिले उपचार लिइरहेका छन्। अस्पतालमा अहिले १५ जना संक्रमित भर्ना भएर उपचार गराइरहेका छन्। अधिकांश संक्रमितले समयमा रोगबारे थाहा नपाउँदा धेरै दुःख पाएको र रोगले च्यापेपछि स्वास्थ्यमा जटिलता उत्पन्न हुने गरेको बताएका छन्।

साइनिङ अस्पताल, आईएनएफ बाँकेका प्रमुख मंगल चौधरीले समयमा कुष्ठरोग पहिचान हुँदा बिरामीले बढी दुःख पाउने गरेको सुनाए। ‘कुष्ठरोग संक्रमितले भनेको कुरा यर्थात हो, उहाँहरु धेरैजसोले कुष्ठरोगको पहिचान समयमा गर्न सक्नु भएन’, उनले भने।

६ महिनामा ६० जना संक्रमित फेला  

उक्त अस्पतालमा चालु आर्थिक वर्ष २०८०-०८१ को ६ महिनामा ६० जना कुष्ठरोगका नयाँ संक्रमित फेला परेका छन्। फेला परेकामध्ये सबैभन्दा बढी बाँकेका मात्रै २९ जना छन्। यस्तै भारतका १५ जना, बर्दियाका ९, सल्यान र रुकुमका २-२ जना तथा रोल्पा, हुम्ला र सुदुरपश्चिमका १-१ जना रहेका छन्। यसअघि अघिल्लो आर्थिक वर्ष २०७९-०८० को ६ महिनामा ५१ जना कुष्ठरोगका संक्रमित फेला परेका थिए। अस्पतालमा २०७९-०८० भरी कुल १ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो।

साइनिङ अस्पताल, आईएनएफ बाँकेका प्रमुख चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८०-०८१ को ६ महिनाभित्र फेला परेका बाँकेका २९ जना संक्रमितमध्ये सबैभन्दा बढी खजुरा गाउँपालिकाका ९ जना रहेका छन्। यस्तै नेपालगन्ज उपमहानगरपालिका, जानकी र खजुरा गाउँपालिकाका ४-४ जना रहेका छन्। 

यसैगरी कोहलपुर नगरपालिकाका ३ जना, बैजनाथ र डुडुवा गाउँपालिकाका २-२ र राप्ती सोनारीका १ जना संक्रमित रहेको प्रमुख चौधरीले बताए। ‘चालु आर्थिक वर्षको ६ महिनामा फेला परेका ६० मध्ये १३ जना समुदायस्तरमा गरिएको कन्ट्र्याक टे«सिङबाट फेला परेका हुन्’, उनले भने।  

चालु आवको ६ महिनामा अस्पतालले ८ हजार ६ सय २ जनालाई सेवा दिएको जनाएको छ। कुल २४ बेडबाट सञ्चालित उक्त अस्पतालमा यस अवधिभित्र ५३ जना कुष्ठरोगका संक्रमित भर्ना भएका छन्। अस्पतालले ५ हजार ३ सय ४९ जनालाई प्रयोगशाला सेवा दिएको जनाएको छ। स्वास्थ्यकर्मीका अनुसार कुष्ठरोग संक्रमण देखिएको खण्डमा नियमित रुपमा औषधी सेवन गरेमा रोग निको हुन्छ।  कुष्ठरोगका लागि निःशुल्क उपचारको व्यवस्था गरिएको छ।  

अस्पतालले विदेशी दातृ निकाय र आईएनएफ इन्टरनेसनलको सहयोग तथा नेपाल सरकारको केही सहयोगबाट कुष्ठरोग संक्रमितको निःशुल्क रुपमा उपचार गर्दै आएको छ। ‘हामीले बाँके र बर्दियालाई मुख्य केन्द्र बनाएर कुष्ठरोग संक्रमितको उपचार, समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालनलगायतका गतिविधि गर्दै आएका छौं’, प्रमुख चौधरीले भने।

प्रकाशित: १८ फाल्गुन २०८० १६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App