२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आजदेखि खोप अभियान: निवारण भन्दाभन्दै फैलियो दादुरा प्रकोप

देशभरि दादुरा–रुबेला खोप अभियान आइतबारदेखि सञ्चालन हुँदैछ। अभियानअन्तर्गत २४ जिल्लाका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार तराईका २१ र काठमाडौं उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दिइनेछ। बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षभित्रका बालबालिकालाई खोप दिइनेछ।

यसअघि रुबेला–दादुरा खोेप अभियान चले पनि २४ जिल्लामा यो खोप लिन ठुलो संख्या छुटेको र दादुरा संक्रमणले महामारीको रूप लिएको पाइएको थियो।

‘सन् २०१९ मा दादुरा नियन्त्रणमा आएको थियो। सन् २०२३ मा निवारण गर्ने लक्ष्य लिइए पनि उल्टै धेरै जिल्लामा यसले प्रकोपको रूप लिएको छ,’ खोप शाखाका प्रमुख डा. अभियान गौतमले भने।

उनका अनुसार नेपालभरिका ५७ लाख ८२ हजार ९९३ बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ। यो खोप नेपालभरिका ४८ हजार ७९८ वटा केन्द्रबाट दिइनेछ।

सन् २०१८ मा नियन्त्रणमा आएको रुबेला–दादुरा सन् २०१९ यताका वर्षहरूमा निरन्तर फैलिँदै गएपछि खोप अभियान सञ्चालन गर्नुपरेको डा. गौतमको भनाइ छ।

गत वर्ष मात्र नेपालमा १३ हजार ४९ जनामा दादुरा संक्रमण देखिएको थियो। खोप शाखाका अनुसार सर्वेक्षणका क्रममा बढी जनघनत्व भएका तराईका जिल्लाहरू र काठमाडौं उपत्यकाका तीन जिल्लामा दादुरा महामारी बढी मात्रामा फैलिएको पाइएको थियो। सन् २०२६ भित्र नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा रुबेला–दादुरा निवारण गर्ने लक्ष्य लिइएको छ।

यही अभियानमा नियमित खोपबाट छुटेकालाई पनि समेट्ने लक्ष्य राखिएको खोप शाखाले जनाएको छ। गत वर्ष दादुरा–रुबेला खोप लिनबाट ५ प्रतिशत, आर्थिक वर्ष २०७८÷७९ मा ८ प्रतिशत र २०७७/७८ मा ८ प्रतिशत छुटेको तथ्यांंक छ।

सर्वेक्षणअनुसार सीमान्तकृत समुदाय, घना बस्ती भएका सहरी क्षेत्र, मजदुर परिवार, इँटा भट्टाजस्ता क्षेत्र काम गर्नेहरूमा खोप छुटेको पाइएको छ। ‘जागिरमा जाने परिवार, बसाइँसराइ गर्ने कामदारका परिवार तथा सीमान्तकृत समुदायका परिवार यो खोप लिनबाट छुटेको देखिन्छ,’ डा. गौतमले भने। यसपटक छुटेकालाई समेट्ने गरी खोप अभियान प्रभावकारी बनाउने तयारी भएको उनको भनाइ छ।

खोप छुटेका बालबालिका खतरामा  

दादुरा–रुबेला खोप लिन छुटेका बालबालिकामा दादुरा संक्रमण भई ज्यानसमेत गुम्ने हुन सक्छ। गत वर्ष दादुरा संक्रमणका कारण नेपालगन्जमा एक जनाको मृत्यु भएको थियो। तथ्यांकअनुसार नेपालमा यो खोप लिन छुटेकै कारण गत वर्ष मात्र १३ हजार ४९ जनामा दादुरा संक्रमण देखिएको थियो।

चिकित्सकका अनुसार यो रोग दादुरा मिजल्स भाइरसबाट सर्छ। यो खोप नलिएका बालबालिकामा यसको संक्रमण भई एक जनाबाट १८ जनासम्मलाई सर्छ। कोभिड १९ भन्दा बढी जनामा संक्रमण गराउने क्षमता दादुराको भाइरसमा हुन्छ।

यसको संक्रमण भए आँखा र कान पाक्ने, ज्वरो आउने, शरीरमा डाबर देखिने, रुघाखोकी लाग्ने, पखाला चल्ने, मतिस्ष्क सुन्निने र पछि गएर निमोनियासमेत हुने चिकित्सकहरू बताउँछन्।

जटिलता बढ्दै जाँदा आाँखाको दृष्टिसमेत गुम्ने र निमोनियाले बालबालिकाको ज्यानसमेत लिन सक्ने भएकाले अभिभावकले सचेत हुनुपर्ने सुझा चिकित्सकहरू दिन्छन्। आमाका कारण यो रोग जन्मजात रूपमा पनि हुन सक्छ।

गर्भवतीमा यो भाइरसको संक्रमण भए विकलांग शिशु जन्मिने, शरीर या टाउको सानो भएको शिशु जन्मिने र गर्भमै बच्चाको मृत्यु हुने साथै आँखा नदेख्ने भएर जन्मिने पनि हुन सक्ने बताइएको छ। पहिला बालबालिकाको मृत्यु हुने कारणमध्ये दादुरा पहिलो हुन्थ्यो। पछिल्लो समय पनि १ प्रतिशत बालबालिकाको मृत्यु दादुरा–रुबेलाकै कारण हुन सक्छ।

प्रकाशित: १३ फाल्गुन २०८० ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App