२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गर्भवती महिला र नवजात शिशुको रेखदेखमा आमा समूह

सुनसरीको इनरुवा–८ गणेशपुर मुसहर टोलकी विपना सदा २१ वर्ष पुगिन्। उनको विवाह १८ वर्षमै भएको थियो। यतिबेला उनका दुई छोराछोरी छन्। जेठी छोरी मन्दिरा तीन वर्ष पुगिन् भने छोरा एक वर्षका छन्।

आमा समूहकी अध्यक्षसमेत रहेकी विपना यतिबेला गर्भवती महिला र नवजात शिशुको रेखदेखमा समय खर्चने गर्छिन्। ‘पहिला पहिला हाम्रो समुदायमा स्वास्थ्य सचेतना थिएन, अहिले हामी सबै महिला स्वास्थ्यको हिसाबले सचेत छौं,’ उनले भनिन्, ‘गर्भवती महिलाको घरघरमा नक्सा बनाएर निगरानी गर्ने गर्छौं।’

सोही बस्तीकी मेरिना ऋषिदेव पनि २२ वर्षकी भइन्। उनको पहिलो छोरा साढे तीन वर्षका छन्। अर्को सन्तान जन्मिने समय साँझबिहान भएको छ। उनको विवाह भने १६ वर्षकै उमेरमा भएको थियो। मेरिनाका पति पनि २५ वर्ष मात्र पुग्दै छन्। उनलाई कलिलै उमेरमा विवाह गर्नु हुँदैन भनेर ज्ञान छ।

विगतमा बाबुआमाले छिट्टै विवाह गरिदिने चलन गलत भएको उनलाई राम्रोसँग ज्ञान छ। जसले गर्दा यतिबेला उनी २० वर्ष नपुगीकन विवाह गर्नेलाई सम्झाउने गर्छिन्। कानुनले पनि विवाह गर्नका लागि २० वर्षको उमेर हद तोकेको छ। तर, ऋषिदेवको समुदायमा सानै उमेरमा विवाह हुने गरेको छ।

एक दशकअघिसम्म त १०/११ वर्षमै विवाह हुन्थ्यो। ‘अब हाम्रो समुदायमा पनि पहिले जस्तो छिटै विवाह गर्नु हुँदैन भनेर सबैलाई ज्ञान हुन थालेको छ,’ मेरिनाले भनिन्, ‘हाम्रो टोलका महिला त पुरै आमा समूहमा आबद्ध भएर बालविवाह गर्नेविरुद्द संगठित भएर लाग्ने गरेका छौं।’

इनरुवा वडा नं. ८ कै नेहादेवी ऋषिदेवको पनि १९ वर्षको उमेरमा विवाह भयो। उनको मागी विवाह नै भएको हो। अहिले सात महिनाका छोरा छन्। उनमा पनि सानै उमेरमा गरेको विवाहले स्वास्थ्यमा जटिलता ल्याउँछ भन्ने पूर्ण ज्ञान छ। तापनि उनले बाबुआमाको करकापले छिट्टै विवाह गर्न बाध्य हुनु परेको बताइन्।

सोही ठाउँकी रीता ऋषिदेवको पनि २० वर्ष नपुगीकन विवाह भएको हो। उनी आफ्नो उमेर नै यकिन नभएको बताउँछिन्। ‘ठ्याक्कै उमेर त मलाई थाहा छैन, तर २० वर्ष नपुगीकनै विवाह भएको हो,’ उनले भनिन्। उनको एक वर्षका छोरा छन्।

इनरुवा वडा नं. ८ कै ऋषिदेव बस्तीमा झन्डै दुई सय घरपरिवार छन्। यो बस्तीमा अधिकतरको २० वर्ष नपुगीकन विवाह हुने गरेको छ। जसमा बढी किशोरीकै कम उमेरमा विवाह हुने गरेको छ। यसविरुद्ध विभिन्न सामाजिक संस्थाको सचेतनाका कारण अबदेखि भने यस क्षेत्रका महिला संगठित भएर आमा समूह बनाएर बालविवाह गर्नेविरुद्ध निगरानी गर्ने गरेका छन्।

‘भागेर विवाह गरे भने अलग कुरा हो नत्र मागी विवाह गर्दा २० वर्षमुनि रोक लगाउने गरेका छौं,’ आमा समूहकी अध्यक्ष सदाले भनिन्।

पछिल्लो समय कलिलै उमेरमा विवाह गरेकै कारण दुई जना नवजात शिशुको मृत्यु भएपछि भने आमा समूह झनै सक्रिय भएर जुटेको छ। जसमा मंसिर २५ गते नेहा सदाको नवजात शिशु र त्यसअघि असोजमा पनि सोही गाउँका एक जना नवजात शिशुको निधन भएको थियो।

आमा समूहको सचेतनाकै कारण कोशी गाउँपालिका वडा नं. ५ को स्वास्थ्य चौकीको ‘बर्थिङ सेन्टर’मा मुस्लिम महिला सुत्केरी गराउन आउनेको संख्या बढ्दो छ।

केही वर्षअघिसम्म कोही नवआगन्तुक आयो भने मुस्लिम बस्तीका महिला लाजले मुन्टो बटार्थे। सन्तान बग्रेल्ती जन्माउने गर्थे। यसरी सन्तान जन्माउँदा प्रायः अस्पताल कमै मात्रामा जाने गर्थे। तर, अहिले मुस्लिम महिला बद्लिएका छन्।

‘सुरुमा बर्थिङ सेन्टर खुल्दा पनि मुस्लिम महिला आउन लजाउने गर्थे, उनीहरूलाई बस्तीमै गएर सचेतना फैलाएपछि अहिले भने बिनाहिचकिचावट बच्चा जन्माउन आउने गरेका छन्,’ स्वास्थ्य चौकीप्रमुख सविर आलमले भने।

मुस्लिम बस्तीमा परिवार नियोजन गर्ने र परिवार नियोजनका साधन प्रयोग गर्ने क्रम पनि बढेको छ। केही वर्षअघिसम्म त मुस्लिम बस्तीमा परिवार नियोजन गर्नुलाई पाप लाग्छ भन्ने सोच थियो। तर, अहिले बदलिएको छ। साथै, परिवार नियोजनको साधन प्रयोग गर्ने क्रम पनि बढ्दो छ।

बर्थिङ सेन्टरमा मुस्लिमपछि मुसहर समुदायका महिला आउने गरेका छन्। बर्थिङ सेन्टरमा आउनेमध्ये ४५ प्रतिशत मुस्लिम, १५ प्रतिशत मुसहर र बाँकी अन्य समुदायका आउने गरेको तथ्यांकमा उल्लेख छ। सुनसरीका दुई नगरपालिका र ६ वटा गाउँपालिकामा आमा र बच्चाको स्वास्थ्यसम्बन्धी सचेतना बढ्दै जाँदा स्वास्थ्य आमा समूहमा सहभागी हुनेको संख्या बढ्दै गएको छ।

सुनसरीका इनरुवा र दुहवी नगरपालिकासँगै बर्जु, हरिनगर, गढी, देवानगञ्ज, भोक्राहा नरसिंह र कोसी गाउँपालिकामा आमा समूह गठन भएका छन्। आमा समूह निर्माण गर्न र मासिक रूपमा बैठक राख्न महिला स्वास्थ्य स्वयंसेविकाले समन्वय गर्ने गरेको पाइएको छ।

समूहको बैठक प्रत्येक महिनाको एकपटक आमा समूहका अध्यक्ष वा स्वयंसेविकाले खबर गरेको ठाउँ र समयमा बस्ने गरेको छ। प्रत्येक महिनाको निश्चित गते बैठक बस्ने गर्छ। बैठकमा नियमित जाँदा आमा र बच्चाको स्वास्थ्य तथा पोषणसम्बन्धी धेरै कुरा थाहा पाएको हरिनगर वडा नं. १ को लालीगुराँस आमा समूहकी सदस्य चन्द्रा मण्डलले बताइन्।

‘स्वास्थ्य आमा समूहको बैठकमा नियमित जाने गरेकी छु,’ उनले भनिन्, ‘बैठकमा नियमित जाँदा दिदीबहिनीसँग सुखदुःखका कुरा गर्न पाइन्छ ।’ गर्भावस्था र बच्चा स्याहार्ने बेलामा थुप्रै जिज्ञासा हुन्छन्।

‘हाम्रो समूह गठन गर्दा सुरुमा समूहमा आउने संख्या न्यून थियो,’ हरिनगर वडा नं. १ आमा समूह अध्यक्ष बबिता मण्डलले भनिन्, ‘अचेल हाम्रो आमा समूहमा गाउँका सबैजना महिला आबद्ध छन्।’

प्रकाशित: ७ माघ २०८० ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App