१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

उदयपुर अस्पतालको डाईलासिस सेवा चल्यो

मिर्गौला बिरामी मगरलाई डाईलासिस गराउने तयारीमा डा। र आफन्तजन। तस्बिरः महेश्वर

महिना दिनअघि उद्घाटन गरिए पनि बिरामी नपाएर सुचारु हुन बाँकी उदयपुर अस्पतालको हेमोडाईलासिस सेवा शुक्रबारदेखि सुरु भएको छ। पहिलो लाभग्राहीको रूपमा उदयपुरगढी गाउँपालिका ४ डुम्रेका २९ वर्षीय दिलबहादुर मगर पहिलो लाभग्राहीको रूपमा सेवा लिन शुक्रबार आएका हुन्।

आफ्नै जिल्लाको सरकारी अस्पतालमा मिर्गौला उपचार हुन्छ भन्ने थाहा नपाएका मगर यसअघि डाईलासिस गर्न बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्योभन्दा अघि काठमाडौँ महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए।

३ महिनाअघि मात्र दुवै मिर्गौला खराब भएको पत्ता लागेपछि उनी धरान, विराटनगर र काठमाडौँका विभिन्न अस्पतालमा उपचारार्थ धाउनुपर्दा १२ लाखभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ। पटक पटकको परीक्षणबाट दुवै मिर्गौला खराब भएको पत्ता लागेपछि उनी शिक्षण अस्पतालमा पहिलो डाईलासिस गराएका थिए। उनलाई सातामा दुई पटक डाईलासिस गर्नुपर्ने चिकित्सकको सुझाव छ। जस अनुसार उनी धरान, विराटनगर या काठमाडौँमा डेरा लिएर बस्ने मनस्थिति बनाइरहँदा आफ्नै जिल्ला अस्पतालमा उपचार पाउने भएपछि केही राहत महसुस गरेका छन्।

जिल्ला अस्पतालमा डाईलासिस गराउने हल्ला सुनेको भए पनि उनलाई पत्यार लागेको थिएन। त्यसैले गत आइतबार उनी धरान पुगेर डाईलासिस गराए। जिल्ला अस्पतालमै डाईलासिस गराइन्छ भन्ने जानकारी पाएपछि आफन्तले शुक्रबार बिहान उनलाई गाईघाट ल्याए, र पहिलो मिर्गौला लाभग्राही बिरामी बन्न पुगे उनी। दिउँसो ३ः०० बजेदेखि सुरु उनको डाईलासिस साढे ४ घण्टासम्म चल्ने अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा। ज्ञानेन्द्र झाले बताएका छन्।

डा.झाका अनुसार गत पुस ३ गते नै उद्घाटन गरिएका हेमोडाईलासिसको यन्त्र उपकरण बिरामी नपाउँदा सेवा सुचारु हुन पाएको थिएन। अस्पतालले एकैचोटी ४ जना बिरामीलाई डाईलासिस गर्न मिल्ने गरी यन्त्र उपकरण र जनशक्तिको व्यवस्थापन गरेको डा। झाको भनाई छ। अस्पतालले ५ जनाका लागि उपकरण जडान गरेको भए पनि एउटा भैपरी आउँदा प्रयोग गर्ने गरी वैकल्पिक राखेर ४ जनाले एकैचोटी सेवा लिन मिल्ने डा। झाले बताएका छन्।  

अस्पताल प्रशासनले हाललाई डाईलासिस सेवा निःशुल्क गर्ने निर्णय गरेको जनाएको छ। अस्पतालका प्रशासन अधिकृत योगश्वर खनालका अनुसार अस्पताल व्यवस्थापन समितिले निःशुल्क डाईलासिस सेवा उपलब्ध गराउने निर्णय गरेको छ। जिल्ला समन्वय समिति प्रमुख अध्यक्ष रहने समितिमा सम्बन्धित नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र अन्य जनप्रतिनिधि पदेन सदस्य तथा सरकारबाट मनोनीत ३ जना कार्यकारी सदस्य रहने व्यवस्था छ। सो समितिको गत मङ्गलवार सम्पन्न बैठकले डाईलासिस सेवा निःशुल्क दिने निर्णय गरेको हो। 

अस्पतालले सबैखाले मिर्गौला रोगीको उपचार भने अहिले नगर्ने जनाएको छ। नयाँ बिरामीलाई पर्याप्त जनशक्ति र यन्त्र उपकरण चाहिने तर, हाल सीमित स्रोतसाधन भएकाले यसअघि डाईलासिस गराउँदै आएका बिरामीलाई मात्र सेवा दिइने झाले बताए।

अस्पतालले सङ्घीय सरकार स्वास्थ्य मन्त्रालयको ८५ लाख र स्थानीयतहहरुको २१ लाख गरी १ करोड ७ लाख सहयोगबाट डाईलासिस सेवा सुरु गरेको जनाएको छ। मन्त्रालयको रकमले यन्त्र उपकरण खरिद गरिएको हो भने त्रियुगा नगरपालिकाको १० लाखबाट उपचार कक्ष निर्माण तथा कटारी र चौदण्डीगढी नगरपालिका तथा रौतामाई र ताप्ली गाउँपालिकाले दिएको ११ लाखले डाइलासिसका अन्य बन्दोबस्तीका सामग्री व्यवस्थापन गरिएको अस्पतालका लेखा अधिकृत महेश वाग्लेले बताएका छन्।

पछिल्लो २ वर्षयता जनशक्ति र यन्त्र उपकरणले सुसज्जित हुँदै आएको उदयपुर अस्पतालले हाडजोर्नी, पत्थरी, दन्त रोग र जटिल खाले गर्भवतीको अप्रेसन सेवा ९सिएस० मार्फत बच्चा जन्माउने सेवामा अग्रणी स्वास्थ्य संस्थाको परिचय बनाइसकेको छ। मिर्गौलाको उपचार सेवा पनि सुचारु हुनाले उदयपुरसहित छिमेकी जिल्लाहरू खोटाङ, सिन्धुली र ओखलढुङ्गाको दक्षिण भेगका नागरिकले पनि सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।  

प्रकाशित: ५ माघ २०८० ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App