१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्तनपान गराउने आमा नै सुन्दर र स्वस्थ

स्तनपान गराएमा शरीरको बनोट बिग्रिन्छ भन्ने भ्रमले कतिपयले बच्चालाई स्तनपान गराउँदैनन्।बच्चालाई स्तनपान गराउँदा न आमाको शरीर बिग्रिन्छ न स्वास्थ्य। बरु नियमित स्तनपान गराउने आमा सुन्दर र स्वस्थ हुने चिकित्सक बताउँछन्। ‘कतिलाई स्तनपानले शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम छ। यो भ्रम मात्र हो। स्तनपान गराउने नगराउनेभन्दा बढी सुन्दर हुन्छन्,’ प्रसूतिगृहका बालरोेग विशेषज्ञ डा. शैलेन्द्र कर्मचार्य भन्छन्।

कर्मचार्यका अनुसार स्तनपान गराउँदा ‘अक्सिडोसी’ र ‘कोलाटिन’ नामक हर्मोन उत्पन्न हुन्छ। यी हर्मोनले पर्याप्त मात्रामा दुध उत्पादनमा मद्दत गर्छन्। उत्पादित दुध बच्चाले खाँदा खपत हुन्छ। दुध खपत भएमा आमालाई धेरै फाइदा हुन्छ। गर्भवती हुँदा ठूलो बनेको पाठेघर छिट्टै पहिलेकै आकारमा फर्किन्छ। स्तनपान गराउँदा गर्भवती हुँदा शरीरमा जम्मा भएको बोसोजन्य पदार्थ घट्न गई शरीरको आकार सामान्य अवस्थामा आउँछ। स्तनपानले आमा र शिशु दुवैलार्ई मातृवात्सल्यको अनुुभूति हुँदा आत्मीयता बढ्छ। आत्मीयताले दुवैमा सौन्दर्य थपिन्छ। ‘बच्चालाई नियमित स्तनपान गराउनेको स्तन चाँडै नै पहिलैकै जस्तोे सामान्य आकारमा फर्किन्छ, जुन कुरा धेरैलार्ई थाहा छैन,’ कर्मचार्य भन्छन्। नियमित स्तनपान गराइएका बच्चा पूर्णरुपमा स्वस्थ हुने चिकित्सक बताउँछन्।

आमाको दुधमा पाइने भिटामिनका कारण बच्चामा पछि गएर झाडापखाला, निमोनिया र मधुमेह हुने जोखिम कम हुन्छ। बच्चाको मानसिक तथा मुटु स्वास्थ्यका लागि पनि आमाकै दुध हितकारी हुने डा. कर्मचार्य बताउँछन्। उनी भन्छन्, ‘आमाको दुध पूरा खाएका बालबालिकाको स्मरण शक्ति पनि तीक्ष्ण हुँदै हुन्छ, मुटुजन्य रोग लाग्ने सम्भावना पनि कम हुन्छ।’ आमाको दुधमा पाइने भिटामिनबाट बच्चामा रोेग प्र्रतिरोधात्मक क्षमता बढ्ने चिकित्सक बताउँछन्। बच्चालाई स्तनपान नगराउनेहरू विभिन्न रोगको जोखिममा पर्न सक्ने कर्मचार्य बताउँछन्। स्तनपान नगराउनेमा स्तन र डिम्बासय क्यान्सर बढी भएको पाइएको छ। ‘यी दुवै क्यान्सर स्तनपान नगराएकामा बढी देखिन्छ,’ कर्मचार्य भन्छन्।

पछिल्लो तथ्यांकअनुसार नेपालमा बच्चालाई स्तनपान नगराउने शिक्षित वर्गकै आमा बढी छन्। परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाले नवजात शिशुलार्ई कृत्रिम खानेकुरा घातक हुने चेतावनी दिएको छ।बच्चालाई नियमित स्तनपान गराउन छाडेर ल्याक्टोजिन र अरु प्रशोधित खाना खुवाउने चलन नेपालमा बढ्दै गएको पाइएको छ। बच्चालाई आमाको दुधको सट्टा कृत्रिम खाना खुवाउन बन्द गर्नुपर्ने पोषण शाखा प्रमुख लिलाबिक्रम थापाले बताए। शिशुलाई स्नपान गराउँदाका फाइदा विषयमा पैरवी गर्दागर्दै पनि पछिल्लो तथ्यांकले नेपालमा स्तनपान गराउनेको संख्या घटेको देखाएको छ। ऐनमा भने अस्पतालहरुले आमाको दुधको सट्टा प्रशोधित दुध र कृत्रिम खाना खुवाउन प्रेरित गर्न नपाइने, बिक्रीवितरण गर्र्न नपाइने उल्लेख छ।

सरकारले बच्चालाई ६ महिनासम्म आमाको दुध मात्र खुवाउन र त्सपछि आमाको दुधसँगै अन्य ठोस खानेकुरा खुवाउन जनचेतनामूलक कार्यक्रमबाट पे्ररित गर्दै आए पनि ६ महिनासम्म दुध मात्र खुवाउने आमाको संख्या घट्दो छ। जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण, २०२२ (सन्) अनुसार नेपालमा बच्चालाई पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत छ, जुन १९९१ मा ७० थियो। यो प्रतिशत सन् २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७० र २०१६ मा ६६ थियो।

पछिल्लो तथ्यांकले शिक्षित र साक्षरता दर बढी भएका प्रदेशहरुमै स्तनपान कम गराउने प्रवृत्ति बढेको देखाएको छ। बढी शिक्षित वा साक्षरता दर भएका कोसी, लुम्बिनी र बागमती प्रदेशमा बच्चालाई ६ महिनासम्म स्तनपान गराउनेको संख्या घटेको छ। कोसीमा ५३, लुम्बिनीमा ३६ र बागमतीमा ४३ प्र्रतिशतले छ महिनासम्म बच्चालाई आमाको दुध खुवाउने गरेका छन्। तथ्यांकअनुसार आधारभूत शिक्षा पूरा गरेका ६१ प्रतिशतले पूर्ण रुपमा स्तनपान गराउँछन्। त्यस्तै माध्यमिक शिक्षा पूरा गरेका ५३ प्रतिशत र अशिक्षित ५९ प्रतिशत आमाले पूर्ण रुपमा स्तनपान गराएको पाइएको छ। बच्चालाई दुधदानीबाट दुध खुवाउने ४३ प्रतिशत छन्। उच्च शिक्षा प्राप्त ६१ प्रतिशत र अशिक्षित १२ प्रतिशतले दुधदानीबाट दुध खुवाउने गरेको पाइएको छ।

नेपालमा बच्चालई स्तनपान गराउनुपर्छ भन्ने कुरा धेरैैलाई थाहा भए पनि व्यवहारिक पक्ष कमजोर छ। ‘कति आमाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउन नसकेको देखिन्छ, कतिले लामो समय स्तनपान गराएमा स्तन झोलिन्छ भन्ने भ्रम पालेको देखिन्छ,’ पोषण शाखा प्रमुख थापाले भने। स्तनपान गराएमा ३३ प्र्रतिशत नवजात शिशुकोे मृत्यु कम हुने अध्ययनले देखाएको हुनाले ६ महिनासम्म आमाको दुध मात्र र त्यसपछि कम्तीमा दुई वर्षसम्म आमाको दुधसँगै अन्य ठोस खानेकुरा खुवाउनुपर्ने थापा बताउँछन्। नेपालमा हाल नवजात शिशुकोे मृत्युदर २१ प्र्रतिशत छ। पूर्ण स्तनपान गराएमा यो दर स्वतः घटेर जाने थापा बताउँछन्।

बच्चालाई स्तनपान गराउन प्रेरित गर्न सरकारले कृत्रिम खाना विस्थापित गर्ने, जनचेतनामूलक कार्यक्रम बिस्तार गर्ने, आमाशिशु मैत्री कार्यक्रम चलाउने, अस्पतालमा स्तनपान परामर्शदाता राख्ने, कृत्रिम खानेकुरा चिकित्सककोे पे्रसक्रिप्सनबिना किनबेच गर्न नपाउने व्यवस्था गर्न लागेको पोषण शाखाले जनाएको छ।

प्रकाशित: १७ पुस २०८० १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App