१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

पति-पत्नी दुवैलाई मुटुको व्यथा कसरी हुन्छ?

यस्ताे पनि!

लामो समयसम्म वैवाहिक जीवन बिताएका पतिपत्नीबीच अधिकांश अवस्थामा उस्तै किसिमको रोगले सताउने गरेको अध्ययनले देखाएको छ।

संसारभरका ३० हजार पति-पत्नीहरूबीच गरिएको अध्ययन र तीमध्ये पनि एक हजार ८६ बेलायतीमाझ गरिएको थप शोधले यदि पतिलाई उच्च रक्तचापले मुटुको व्यथाले सताएको छ भने पत्नीलाई पनि उच्च रक्तचाप हुन सक्ने देखाएको छ।

त्यति मात्र होइन, कयौं अवस्थामा पतिपत्नी दुवैलाई उस्तै उस्तै रोग, उही समयमा लाग्नेसमेत देखिएको छ।

जर्नल अफ अमेरिकन हार्ट एसोसिएसनमा प्रकाशित शोधअनुसार कयौं अवस्थामा पतिपत्नी दुवैको स्वास्थ्य समस्या एकै समयमा वा केही समयपछि शुरु हुने भएकाले परीक्षण गर्दा बेग्लाबेग्लैभन्दा एकै पटक गराउँदा राम्रो हुने सुझाव दिइएको छ।

शोधमा सहभागी बेलायतीहरूमध्ये ४७ प्रतिशत जोडीमा उच्च रक्तचाप देखिएको थियो। यो दर चीन, अमेरिका तथा भारतमा भन्दा बढी भएको अध्ययनमा जनाइएको छ। उच्च रक्तचाप भएको पति भए पत्नीलाई पनि रोगले पछ्याउने प्रतिशत नौ प्रतिशत हुन्छ। पुरुषहरूलाई भने त्यस्तै समस्याले सताउने सम्भावना पाँच प्रतिशतले बढी हुने बताइएको छ।

त्यस्तो समस्या नभएका महिला भए उनको पतिलाई पनि सो रोगले छुने सम्भावना निकै कम हुने देखिएको छ। बेलायतको नेसनल हेल्थ सर्भिसको तथ्यांकअनुसार ३१ प्रतिशत पुरुष तथा २६ प्रतिशत महिलाहरू उच्च रक्तचापबाट पीडित छन्। रोगको यस्तो अवस्थालाई उच्च रक्तचाप भनिन्छ।

पछिल्लो अध्ययनचाहिं ७४ वर्ष उमेर समूहसम्मका वृद्धहरूलाई समावेश गरिएकाले समग्रमा यस्ता रोगीको संख्या बढेको बताइएको छ। अमेरिकाको मिसिगन विश्वविद्यालयका वरिष्ठ चिकित्सक चिहुवा लिको अगुवाइमा भएको यस अध्ययनमा के पनि देखिएको छ भने जीवनशैलीमा थोरै मात्र सावधानीले त्यस्ता समस्याहरू पतिपत्नी दुवैले घटाउन सक्छन्।

यसका लागि खानपिन, हिंडडुल, सक्रियता, तनाव घटाउने काम अथवा स्वस्थ डाइट र खान्कीमा ध्यान दिनाले रक्तचाप घट्ने अध्येताहरूले बताएका छन्। त्यसो त यी सबै कुरा गर्न निकै गाह्रो हुने उनीहरूको धारणा छ।

यसको कारण खुट्याउँदै डा. लि भन्छन्, ’उच्च रक्तचापका लक्षणहरू नदेखिइकनै साहो पार्छ। यस्तोमा परिवारका सदस्यहरूले यसमा सहयोग नगरे मुटुको रोग र मृगौलाका समस्याहरू एकै झमटमा बढ्न सक्छन्। कतिपय अवस्थामा यस्ता पतिपत्नीमा विस्मृतिको रोग पनि देखिन सक्छ। किनभने, परिवारका सदस्यहरू सानोतिनो समस्या भनेर पन्छिने सम्भावना बढी हुन्छ।’

यसअघिको एउटा अध्ययनमा भने समग्रमा वैवाहिक जीवन स्वास्थ्य अवस्थाका लागि राम्रो हुने देखिएको थियो। वैवाहिक जीवनमा सक्रियता बढी हुने र एक्लोपन कम हुने कारण अविवाहितभन्दा विवाहित तुलनात्मक रूपमा बढी स्वस्थ हुने देखिएको थियो।

-अच्युत कोइराला

प्रकाशित: २५ मंसिर २०८० ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App