१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बालबालिकामा कुपोषण: सुधारको उपलब्धि शून्य

पौष्टिक आहार वितरण गरिँदै। तस्बिर: गोल्डेन/नागरिक

बालबालिकाको कुपोषण सुधारका लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन्। बर्सेनी ठूलो धनराशि कुपोषण सुधारको क्षेत्रमा खर्च गरिए पनि बालबालिकाको कुपोषण दर भने घट्न सकेको छैन। यता जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकअनुसार २०७९/८० मा १ हजार १ सय ८५ बालबालिका कुपोषित भेटिएका छन्। जसमध्ये पुड्कोपना ३ सय ९४ (४७ प्रतिशत), ख्याउटे ३ सय ९६(५.९ प्रतिशत) र कमतौल ३ सय ९५ (२०.५ प्रतिशत) बालबालिका कुपोषित देखिएका हुन्।  

स्वास्थ्य कार्यालय जुम्लाले जिल्लाका ८ वटै स्थानीय तहमा स्मार्ट सर्वेक्षण गरेको थियो। गत चैत २५ देखि वैशाख १२ गतेसम्म स्मार्ट सर्वेक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए।

उनले भने, ‘अहिलेसम्म पनि जुम्लामा तथ्यांक हेर्दा कुपोषणको अवस्था भयावह देखिन्छ। पोषक तत्वको कमी हुनासाथ बालबालिका अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्या आउँछन्।

खानामा पाइने तत्वलाई पोषक तत्व भनिन्छ । खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गलाई दैनिक काम गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ। बालबालिकाको विकासात्मक चरण अनुरूप आवश्यक पोषक तत्वको असन्तुलित अवस्थालाई कुपोषण भनिन्छ।

६ महिनादेखि १७ महिनासम्मका १ सय १६ बालबालिका, १८ देखि २९ महिनाका १ सय १९ बालबालिका, ४० देखि ४१ महिनाभित्रका ८७ बालबालिका, ४३ देखि ५४ महिनासम्मका ६० बालबालिका र ५४ देखि ५९ महिनासम्मका १४ जना बालबालिका कुपोषित देखिएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका सूचना अधिकारी तथा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैले बताए।

संघीय संरचनापछि स्थानीय तहले नै कुपोषण घटाउन कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सोमैले बताए। अझै पनि कुपोषित बालबालिका भेटिइरहेका छन्।

स्थानीय तहहरूसँग मिलेर विभिन्न संघसंस्थाले पनि पोषण सुधारका लागि काम गर्दै आएका छन्। पोषण सुधारको उपलब्धि भने शून्यप्रायः छ। ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्।

पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषणयुक्त खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्। स्थानीय स्तरमा चेतनाको कमी र गरिबीले बालबालिकाको संख्या बढी छ। गर्भवती हुने बेलादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु र पोषिलो खाना नपाउँदा यस्तो समस्या आएको स्वास्थ्यकर्मी बताउँछन्।

घरमै उपलब्ध हुने रैथाने पोषिलो खाना नखाएकै कारण शारीरिक वृद्धि विकास हुन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ। विकट क्षेत्रका बालबालिकामा कुपोषण हुनु गरिबी नै मुख्य कारण देखिएको छ। बिहान–बेलुकाको दुई छाक टार्नसमेत समस्या भएपछि पोषिलो खानेकुरा खुवाउन समस्या भएरै नै यस्तो समस्या भएको स्वास्थ्यकर्मी बताउँछन्।

 बिहानदेखि अबेर रातिसम्म खेतबारीमा काम गर्न जानुपर्छ, ‘गुठिचौर गाउँपालिका–४ का उमेश परियारलेले भने, ‘बालबालिकालाई रोटी र बासीभात राखेर घरमै छोड्नुपर्ने बाध्यता छ। पोषिलो खाना खान चाडपर्व फर्कनुपर्छ।

पोषणबारे चेतनाकै कमी स्थानीयको बानी व्यवहारमा सुधार आउन सकेको छैन। स्थानीय स्तरमा उपलब्ध गेडागुडी, साग तरकारी मिसाएर खुवाउन सिकाए पनि व्यवहारमा थोरैले मात्र उतार्ने गरेका छन्।

पोषणको बारेमा जानकारी पाएकाहरूले नै व्यवहार परिवर्तन गर्न सकेका छैनन्। भौगोलिक रूपमा विकट अधिकांश क्षेत्रमा खान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडेको चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक क्षेत्रबहादुर महतले बताए।

 ग्रामीण क्षेत्रमा खाना पोषिलोभन्दा पनि छाक टार्नका लागि खाने गरेका छन्। बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहुँदा लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन।

यस्तै बुधबार जुम्लाको पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्यचौकीबाट गर्भवती महिला र बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको थियो। गर्भवती तथा दुई वर्षमुनिका दर्जनौं बालबालिकालाई मासिक तीन किलोका दरले पौष्टिक आहार प्रदान गरिने डिल्लीचौर स्वास्थ्य चौकीका कार्यवाहक प्रमुख सर्जन शाहीले बताए।

महिला गर्भवती भएदेखि स्तनपान गराउने, सुत्केरी र गर्भवती महिलाको खानपानमा विशेष ध्यान दिनुपर्ने जरुरत छ। गर्भावस्थादेखि अन्डा, गेडागुडी तथा क्वाँटी, शुद्ध तोरीको तेल, सागपात, फलफूल, सर्वोत्तम पीठो, ज्वानोलगायत वस्तु खाए कुपोषण दर घटाउन सकिन्छ। उनले ग्रामीण क्षेत्रमा खाना छोडेर बाहिरबाट आएको आयातित बस्तु खाने गरेको बताए।

बालबालिकालाई चाउचाउ, बिस्कुटजस्ता खानेकुरा दिन कम नगरेसम्म कुपोषण देखिने निश्चित छ। बालबालिकालाई कुपोषणबाट बचाउन बनाइएका सरकारी नीति तथा कार्यक्रम प्रभावकारी हुन सकेका छैनन्। पोषणबारे जानकारी पाएकाहरूले पनि व्यवहार परिवर्तन नगर्दा यहाँका बालबालिकामा कुपोषण दर बढ्दो छ।

प्रकाशित: १९ आश्विन २०८० ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App