५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलविरुद्ध शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।

उपकुलपति डा. रावलले पटक पटक पदाधिकारी नियुक्त गरेर प्रतिष्ठानमा आर्थिक संकट सिर्जना गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

गत शनिबार राति डेन्टल सर्जन प्रेनित पोखरेललाई स्कुल अफ मेडिसिनको डिनका रुपमा उपकुलपति डा. रावलले नियुक्त गरेपछि शिक्षक र कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।

२०७७ मंसिर ९ गते प्रतिष्ठानका पदाधिकारी र कर्मचारी कल्याणकारी समाजबिच प्रतिष्ठानमा एक जना मात्र डिनको प्रावधान राख्ने र अन्य संकायहरुमा सहायक डिनहरु राख्ने व्यवस्था गर्ने निर्णयसहित सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। उक्त सम्झौता पत्र विपरीत डिन नियुक्त गरेपछि प्रतिष्ठानका शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।

सम्झौता अनुसार पब्लिक हेल्थ डिन मुनिराज क्षेत्री हुँदा हुँदै अर्को डिन नियुक्त गर्नु जरुरी नभएको शिक्षक कर्मचारीहरुको ठहर छ। रजिस्टार नृपेन्द्र महत समक्ष शिक्षक कर्मचारीहरुले प्रेस विज्ञप्ति बुझाएर उपकुलपति रावलले प्रतिष्ठानको गरिमामाथि आँच आउने खालका गतिविधि गरेकोले बाध्य भएर आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आइपरेको कर्मचारीहरुले बताएका छन्।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक पिछडिएको क्षेत्रमा स्थापित स्वायत्त संस्था हो। पिछडिएको क्षेत्रमा स्थापना भई शैक्षिक, स्वास्थ्य उपचार तथा अनुसन्धानका क्षेत्रमा फड्को मारिरहेको छ’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उपकुलपतिको मनोमानीका कारण हाल प्रतिष्ठान आर्थिक लगायतका क्षेत्रमा सङ्कटग्रस्त अवस्थामा गुज्रिरहेको छ। यो समग्र कर्णालीको लागि नै दु:खद् सन्देश हो। प्रतिष्ठानको हितमा प्रतिष्ठान तथा तत्कालीन कर्मचारी कल्याणकारी समाजबिच भएको सम्झौता अनुसार कार्यकारी परिषद्ले समेत अब उप्रान्त एक मात्र डिन रहने निर्णय गरेको थियो। उपकुलपति ज्यूले विविध बहाना बनाई राजनीतिक दाउपेचमा परी प्रा. डा. मुनिराज क्षेत्री एक जना डिन कार्यरत हुँदा हुँदै पुन: अर्को डिन नियुक्ति गर्नु उक्त निर्णयको उल्लंघन भएको छ। यो सहेर बस्न सकिने अवस्था छैन।’

प्रतिष्ठानले कर्मचारीहरुको नियमावलीले तोकेको तलब, भत्ता तथा सेवा सुविधामा समेत बजेट अभाव भन्दै तोकिएको तलब र भत्ता खुवाउन सकेको छैन। जस कारण प्रतिष्ठानका सयौं स्थायी शिक्षक तथा कर्मचारी बढुवा हुनबाट वञ्चित भएका छन्। 

साथै शिक्षक तथा कर्मचारीहरुले लोकसेवाको प्रक्रियाबाट स्थायी कर्मचारी छनोटमा रोक लगाएको, अदालतको आदेशसमेत अवहेलना गरेका जस्ता कार्यहरुले प्रतिष्ठानलाई फाइदा नगर्ने निष्कर्षमा पुगेको जनाएका छन्।

आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीले उपकुलपति डा. रावलले नयाँ डिन नियुक्तिको गलत निर्णय यथाशीघ्र २४ घण्टाभित्र सच्याउनुपर्ने माग राखेका छन्। यदि उक्त निर्णय नसच्चिए प्रतिष्ठानका संघ, संगठन र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु थप सशक्त आन्दोलनमा जाने समेत उनीहरूले चेतावनी दिएका छन्।

प्रकाशित: १९ भाद्र २०८० १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App