२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विशिष्टको उपचार वीरमै

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले उच्च पदस्थ नेता तथा अन्य विशिष्ट व्यक्तिको उपचारका लागि भिआइपी र भिभिआइपी कक्ष विस्तार गरेको छ। सरकारी ओहोदामा रहेका जोकोहीले सरकारी खर्चमा उपचार पर्दा वीरकै भिआइपी र भिभिआइपी कक्षमा गर्नुपर्ने व्यवस्था गरिएकाले क्षमता विस्तार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

वीरमा भिभिआइपी र भिआइपी एक–एकवटा कक्ष पुरानै थिए। जसमा एक भिभिआइपी र दुई भिआइपी थपिएका छन्। पाँचमध्ये दुईवटा भिभिआइपी र तीनवटा भिआइपी उपचार कक्ष तयार भएका छन्। थप तीन कक्ष विस्तार भएर पाँचवटा भिभिआइपी–भिआइपी कक्ष बनेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी खर्चमा उपचार गर्नुपर्ने नेता तथा विशिष्ट व्यक्तिको उपचार पहिला वीरमा नै गर्नुपर्ने, त्यहाँ नभएपछि मात्र अन्यत्र जानुपर्ने बताएका थिए। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले पनि सरकारी खर्चमा हुने उपचार सुरुमा वीरमै या सरकारी अस्पतालमै गर्नुपर्ने व्यवस्था गरिएको स्पष्ट पारे।

चिकित्सक र स्वास्थ्य संस्था छनोट बिरामीको निजी विषय भए पनि सरकारी स्रोतमा उपचार गर्नुपर्ने विशिष्ट व्यक्तिका हकमा सरकारी अस्पतालमै उपचार गर्ने गरी भिभिआइपी र भिआइपी कक्षहरू विस्तार गरिएको डा. बस्नेतले बताए। विशिष्ट व्यक्तिको उपचारका लागि सरकारले एक महिनाअघि न्याम्सका उपकुलपति डा. बस्नेतको संयोजकत्वमा १५ सदस्यीय चिकित्सक टोली गठन गरेको थियो। सरकारी खर्चमा उपचार गर्नुपरे वीरमै या सरकारी अस्पतालमै गर्नुपर्ने र व्यक्तिगत खर्चमा गर्न चाहे मात्र निजी अस्पताल या विदेशी अस्पताल रोज्न पाइने व्यवस्था गरिएको डा. बस्नेतले जानकारी दिए।

राजतन्त्र भएका बेला राजपरिवार तथा राजपरिवारका सदस्यहरूको उपचार गर्ने उद्देश्यले भिभिआइपी–भिआइपी कक्ष बनेका थिए। पञ्चायतकाल अन्त्यपछि प्रधानमन्त्री, राष्ट्रपति तथा मन्त्रीहरूका लागि पनि ती कक्ष खुला गरिएका हुन्। वीरको सर्जिकल भवन निर्मााणकालमै भिभिआइपी र भिआइपी कक्षको संरचना बनेको थियो। सो संरचनामा गत महिना आवश्यक उपकरण जडान गरेपछि सार्वजनिक गरिएको हो। १५ चिकित्सकको टोलीबाट जोकोही भिआइपीको जटिल उपचार सम्भव हुने निर्देशक सन्तोष पौडेलले बताए। ‘वीर अस्पतालमा उपचार सम्भव हुने अवस्था सरकारले चाहेपछि हामीले सोहीबमोजिम तयारी ग¥यौं,’ पौडेलले भने। भिआइपी कक्ष विस्तार भएको एक महिनाको अवधिमा युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बू पाँच दिन भर्ना भई उपचार गरेको उनले बताए। निर्देशक डा. पौडेलका अनुसार मन्त्री लिम्बू ज्वरोले ग्रसित भएर उपचारका लागि वीर अस्पताल पुगेका थिए। श्वासप्रश्वासमा समेत समस्या भएकाले भिआइपी उपचार समितिका सदस्य डा. धु्रव गैरेको समूहले मन्त्री लिम्बूको उपचार गरेको थियो।  

वीरको भिभिआइपी कक्ष लामो समयदेखि खाली रहे पनि भिआइपी कक्षमा भने छिटपुट रूपमा विशिष्ट व्यक्तिले उपचार गर्ने गरेको पाइएको छ। भिआइपी कक्षमा उपचार गर्नेहरूमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाल, पूर्वसभामुखद्वय सुवास नेम्वाङ र तारानाथ रानाभाटलगायतले भर्ना भएर उपचार गराएका थिए। पछिल्लो चरणमा पूर्वस्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ, पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले पनि भिआइपी कक्षमा भर्ना भई सेवा लिएको अस्पतालकी भिआइपी कक्ष इन्चार्ज एवं नर्स सीता अधिकारीले बताइन्।  

३२ वर्षदेखि खाली भिभिआइपी कक्षमा आउलान् विशिष्ट ?

वीरको पुरानो भिभिआइपी कक्ष ३२ वर्षदेखि खाली छ। तर स्वास्थ्य मन्त्रालयले भने सरकारी खर्चमा उपचार गराउने विशिष्टका लागि लक्षित गरेर त्यसलाई पनि प्रयोगमा ल्याउने गरी पुनः एउटा भिभिआइपी कक्ष थप गरी दुईवटा बनाएको छ। पुरानो भिभिआइपी कक्षमा शयन कक्ष, बैठक कक्ष, भान्छा कोठासमेत रहेकामा नयाँ भिआइपी र भिभिआइपी कक्षमा भने पुरानोमा जति ठाउँ नभएको अस्पतालको भनाइ छ।

नेपालकै पहिलो अस्पताल वीरमा राजपरिवारको उपचार हुने गरी अस्पताल स्थापनाकै क्रममा भिभिआइपी र भिआइपी कक्ष स्थापना गरिएको थियो। यो कक्षमा ३२ वर्षदेखि कुनै पनि व्यक्ति भर्ना भएर उपचार गराएका छैनन्। त्यसअघि राजपरिवारका सदस्य, प्रधानमन्त्री तथा राष्ट्रपतिबाहेक अरू व्यक्तिलाई राख्न नमिल्ने भएकाले भिभिआइपी कक्ष सधैं खाली रहने गरेको हो। राजापरिवारको उपचार गर्ने गरी स्थापना गरिएको यो कक्षलाई २०७१ सालमा सार्क सम्मेलनका क्रममा आउन सक्ने विशिष्ट पाहुनाको उपचारलाई लक्षित गरी अस्पतालले ५० लाख खर्चेर भिभिआइपी कक्षलाई तयारी अवस्थामा राखेको थियो।  

३२ वर्षदेखि खाली रहेको उक्त पुरानो भिभिआइपी कक्ष र नयाँमा समेत अब विशिष्ट व्यक्तित्व भर्ना भएर उपचार गराउलान् या नगराउलान् भन्ने प्रश्न चासोका साथ उठेको छ। न्याम्सका उपकुलपति डा. बस्नेतले वीर अस्पताल विशिष्ट व्यक्तिको उपचारमा सक्षम भएकाले, त्योअनुसार संरचना बनेकाले र नीतिगत व्यवस्थासमेत भइसकेकाले अब विशिष्ट व्यक्तिले उपचार वीरमै गराउने विश्वास व्यक्त गरे।  

यसअघि बनेको नीतिगत व्यवस्था र अब बन्ने नीतिले समेत सरकारी ओहोदामा रहेका विशिष्टको उपचार सरकारीमै हुने गरी गर्ने भएकाले पनि वीरको भिभिआइपी र भिआइपी कक्षमा भर्ना हुने विश्वास डा. बस्नेतले लिएका छन्। ‘जनस्वास्थ्य ऐनले नेपालको क्लिनिकल समितिले रेफर गरे मात्र विदेश जान मिल्ने व्यवस्था पहिले नै भएकाले अब विशिष्ट व्यक्तित्व सिधै विदेश जानसक्ने स्थिति छैन,’ उनले भने।  

भिआइपी र भिभिआइपी गरी पाँचवटा कक्षमा रहेका १२ वटा कोठा अहिले खाली छन्। तर खाली नै रहे पनि ती कक्षमा सर्वसाधारणका लागि प्रयोग नगरिने डा. बस्नेतले बताए। कुनै पनि भिआइपी तथा भिभिआइपी कतिबेला बिरामी पर्छन् भन्ने कुरा पहिल्यै थाहा नहुने भएकाले खाली भएका बेला सर्वसाधारणलाई राख्न नमिल्ने बाध्यता रहेको बस्नेत बताउँछन्। ‘राज्यको काम सेवा तयारी अवस्थामा राख्ने हो, कतिखेर विशिष्ट बिरामी आउँछन् भन्ने थााहा हुँदैन,’ उनले भने।

नेपालमा नेता तथा विशिष्ट व्यक्तिको उपचारमा हालसम्म करोडौं रूपैयाँ रकम खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। ससाना समस्यामा समेत विदेशमा उपचार गर्न जाने प्रवृत्तिको अन्त्य गर्न पनि भिआइपी कक्षको व्यवस्थापनमा ध्यान दिइएको स्वास्थ्यमन्त्री बस्नेतले बताएका छन्।

प्रकाशित: १९ भाद्र २०८० ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App