७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

१ सय ३३ वर्षको वीर अस्पताल कहिले होला पूर्ण क्षमतामा सञ्चालन?

वीर अस्पताल १ सय ३४औं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सहभागीहरू। तस्बिर: नागरिक

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान शुक्रबारदेखि आफ्नो स्थापनाको १ सय ३४औं वर्षमा प्रवेश गरेको छ। राणाकालीन प्रधानमन्त्री वीर शमशेरले १९४७ सालमा १५ शय्याबाट सञ्चालनमा ल्याएको यो अस्पतालले यतिबेला धेरै फड्को मारिसकेको छ। १५ शय्याबाट सुरु भएको यो अस्पताल ९ सय ६६ शैय्यामा विस्तार भएको छ।

गत वर्ष वीर अस्पतालमा सेवा लिन आएका सर्वसाधारणलाई प्राथमिकता तोकिएका विपन्न नागरिक तथा विशेष रोगमा दिइने निःशुल्क सेवाअन्तर्गत करोडौं रूपैयाँ बराबरको निःशुल्क सेवा उपलब्ध गराइएको थियो। यसका साथै अस्पतालमा भर्ना हुने बिरामीका लागि निःशुल्क खाना र खाजा व्यवस्थासमेत हुँदै आएको छ। ‘यी गतिविधिबाट अस्पताल स्थापनाको उद्देश्य प्रमाणित हुँदै गएको छ’, अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए।

अस्पतालले तीन वर्षअघिको तुलनामा गत आर्थिक वर्षमा बहिरंग सेवामा दुई लाखभन्दा बढी जनसंख्यालाई सेवा दिएको छ। ०७८/८९ अघि ३ लाखले बहिरंग सेवा लिएका थिए भने गत वर्ष ५ लाख ६६ हजार ९ सय ५७ जनाले सेवा लिएका थिए। गत वर्ष अस्पतालमा भर्ना भई उपचार सेवा लिनेमा १८ हजार ५ सय २७ जना रहेका छन्।

गत वर्ष वीर अस्पतालमा सेवा लिन आएका सर्वसाधारणलाई प्राथमिकता तोकिएका विपन्न नागरिक तथा विशेष रोगमा दिइने निःशुल्क सेवाअन्तर्गत करोडौं रूपैयाँबराबरको निःशुल्क सेवा उपलब्ध गराइएको थियो।

त्यसैगरी गत आवमा २२ हजार ५ सय ३९ जनाले शल्यक्रिया सेवा, ५ लाख ५६ हजार १ सय ५२ जनाले प्रयोगशाला सेवा, १५ हजार ४ सय ३६ जनाले सिटिस्क्यान सेवा, ७ हजार ५ सय ५३ जनाले एमआरआई सेवा लिएका थिए। कोभिड युनिफाइड केन्द्रीय अस्पतालमार्फत ५ हजार ४ सय २९ जनाले भर्ना भई सेवा लिएका थिए।

चालु आवमा अस्पतालले केही नयाँ काम सुरु गरेको छ, जसअनुसार बहिरंग सेवाको टिकट काउन्टर बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म पाइने व्यवस्था गरिएको छ। त्यसैगरी अस्पतालबाट ७ सय शैय्या निःशुल्क गरिएको छ। १२ वटा मात्र रहेको सर्जिकल कक्ष विस्तार गरी १८ वटा पुर्‍याइएको छ। बिरामीको सुविधाका लागि प्रत्येक तलामा क्यास काउन्टर सेवा, डिजिटल माध्यमबाट बिरामी डिस्चार्ज सेवा, स्वास्थ्य बिमामार्फत बिरामीको समस्या सम्बोधन हुँदै आएको अस्पतालले जनाएको छ।

अस्पतालले चालु आवमै सञ्चालन हुने गरी १ सय शैय्याको एचडियु तथा आइसियु विस्तार गर्ने, आकस्मिक कक्षको भौतिक पूर्वाधार विस्तार गर्ने र आकस्मिक सेवालाई प्राथमिकताका आधारमा सेवा दिने, १८ वटा शल्यक्रिया थिएटर पूर्ण क्षमतामा विस्तार गरिने, चार वर्षदेखि थन्किँदै आएको टोमाथेरापी मेसिन सञ्चालनमा ल्याउने, विशेषज्ञ सेवामा २४ सै घन्टा विशेषज्ञ उपलब्ध गराउने, सर्जरी सेवालाई छिटो दिनका लागि अतिरिक्त अवधिमा सेवा दिने गरी व्यवस्थापन गर्ने तयारी भएको निर्देशक पौडेलले बताए।

चालु आवमा अस्पतालले केही नयाँ काम सुरु गरेको छ, जसअनुसार बहिरंग सेवाको टिकट काउन्टर बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म पाइने व्यवस्था गरिएको छ।

साथै एमआरआई तथा सिटिस्क्यान रिपोर्ट तीन दिनभित्र उपलब्ध गराउने, सर्जिकल भवनलाई पूर्ण क्षमतामा सञ्चालन गरिने, ज्येष्ठ नागरिक वार्ड सञ्चालन गरिने, लामो समयदेखि बन्द भएको वर्न वार्ड सञ्चालन गरिने, निरोेगी क्लिनिक सुरु गरिने, मिर्गौला डाइलासिस सेवा दैनिक १ सयजनाले गर्न सक्ने गरी विस्तार गरिने लक्ष राखेका छौं।

अहिले सातामा एकजनामा मिर्गौला प्रत्यारोपण हुने गरेकोमा अबदेखि दुइटा प्रत्यारोपण हुने गरी तयारी गरिएको अस्पतालले जनाएको छ।

तर यी सेवा सञ्चालन गर्नका लागि अस्पतालसँग जनशक्ति र स्रोत अभाव मुख्य चुनौती बनेको निर्देशक पौडेलले बताए। हाल अस्पतालमा विशेषज्ञ चिकित्सकसहित २ सय ५० चिकित्सक, ७ सयभन्दा बढी नर्सिङ जनशक्तिसहित १८ सय ४६ जना कर्मचारी अस्पतालमा कार्यरत छन्। अस्पताल सेवामा आवासीय चिकित्सकको योगदानले पनि सहयोग मिलेको डा. पौडेलले बताए।

आव २०७७/७८ सम्ममा ३ सय ८२ वटा बेड सञ्चालन हुँदा २ अर्ब ३० करोड ७४ लाख बजेट रहेकोमा अहिले सेवा र शैय्या विस्तार भएको अवस्थामा झनै कम बजेट सिलिङ हुनुले योजना सफल गर्ने विषय चुनौतीपूर्ण बनेको पौडेलले बताए। उनका अनुसार चालु आवका लागि ७३ करोड १ लाख रूपैयाँ मात्र बजेट सिलिङ भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालबाट सुधार भएको स्वास्थ्य सेवा स्तरलाई देशव्यापी विस्तार गर्दै लैजाने बताए। उनले भने, ‘निःशुल्क सेवाका लागि सबै प्रदेशमा लागू हुने गरी अघि बढाउने तयारीमा छौं।’

उनले वीर अस्पतालमा रहेका दक्ष र विशिष्टीकृत सेवाका लागि मन्त्रालयबाट कुनै कसर बाँकी नराखी काम गरिने प्रतिबद्धता जनाए।

आव २०७७/७८ सम्ममा ३ सय ८२ वटा बेड सञ्चालन हुँदा २ अर्ब ३० करोड ७४ लाख बजेट रहेकोमा अहिले सेवा र शैय्या विस्तार भएको अवस्थामा झनै कम बजेट सिलिङ हुनुले योजना सफल गर्ने विषय चुनौतीपूर्ण बनेको पौडेलले बताए।

सोही क्रममा उनले हालै विस्तार भएको भिआइपी र भिभिआइपी कक्षमा विशिष्ट व्यक्तिका लागि अनिवार्य गराउने गरी प्रक्रिया अघि बढाइएको बताए।

‘विशिष्ट व्यक्तिले सरकारी खर्चमा उपचार गर्नुपर्ने हो भने अनिवार्य रूपमा वीरमा पुग्नुपर्ने छ, हामी तयारी अवस्थामा छौं’, उनले भने। सोही क्रममा वीर अस्पतालले सुरु गरेको बिहान ८ बजेदेखिको ओपिडी सेवाका कारण धेरैले सेवा लिन पाएको बताए। सुर्तीजन्य कर कोषबाट बजेट उपलब्ध भएमा वीर अस्पतालले आफैं कर्मचारी राखेर पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न सक्ने उनले बताए।

प्रकाशित: १३ श्रावण २०८० ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App