१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मनसुनसँगै फैलिँदै सरुवा रोग

फाइल तस्वीर

हालै एक युवक अत्यधिक ज्वरो आउने, सुक्खा खोकी लाग्ने, कानमा कृत्रिम आवाज सुनिने, वाकवाक लाग्ने भएर अस्पताल भर्ना भएका थिए। परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भयो। यो रोग ‘चिगर माइट’ नामक एक प्रकारको किर्नाले टोकेर हुने गर्छ। विशेषतः यस्तो किर्ना असार/साउनमा बढी देखिने गरेको तथ्यांक छ। स्क्रब टाइफस संक्रमित ती युवकले गाउँ जाँदा साथीहरूसँग घरनजिकै घाँसमा बस्ने गरेको र त्यसको एक सातामा लक्षण देखिएको बताए। चिगर माइट विशेषतः मुसामा हुने गर्छ र अग्ला घाँस तथा झाडीहरूमा त्यो कुनै कारणले खसेको अवस्थामा मानिसको शरीरमा टाँसिन गए संक्रमण हुन्छ।

अर्का एक बिरामीलाई पनि ज्वरो आएको थियोे, टाउको दुखेको थियो, खान मन लाग्दैनथ्यो, वाकवाक लाग्थ्यो अनि शरीरको मांशपेशी दुख्थ्यो। परीक्षण गर्दा उनमा टाइफाइड पुष्टि भयो। टाइफाइड नेपालीहरूका लागि नयाँ नाम होइन तर अहिले धेरैले बिर्सिएको जस्तो लाग्छ। पछिल्लो समय टाइफाइड काठमाडौंमा फैलिरहेको छ।

टाइफाइड फैलनुको सीधा कारण प्रदूषित पानी उपभोगलाई मान्न सकिन्छ। यो रोग खानाबाट पनि सर्ने गर्छ। तर गर्मीमा पानीको माग अत्यधिक हुने र संक्रमित स्रोतबाट धेरै ठाउँमा पानी वितरण हँुदा रोगले प्रकोपको रूप लिन्छ। मनसुनसँगै लामखुट्टेको संख्या बढ्दै गर्दा डेंगीको जोखिम पनि बढ्दै गइरहेको छ। केही समयअघि स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार नेपालमा डेंगी देखिन सुरु भइसकेको छ।

टाइफाइड एकपछि अर्को बिरामीमा पुष्टि हुनुले हामीले हाल उपभोग गरिरहेको खानेपानीमा दिसा मिसिएको संकेत गर्छ। खानेकुरामा दिसा मिसिएबाट हैजा, आउँ, इकोलाई, इहिस्टोलाइटिका, जिअरजियासिस, भाइरल हेपाटाइटिस (ए र ई) जस्ता ब्याक्टेरिया, परजीवी तथा अज्ञात (भन्नाले पुष्टि नभएका) संक्रमण फैलन सक्ने सम्भावना हुन्छ।

यी केही उदाहरणले मनसुनसँगै विभिन्न सरुवा रोग देखिन थालेको प्रस्ट हुन्छ।

टाइफाइड एकपछि अर्को बिरामीमा पुष्टि हुनुले हामीले हाल उपभोग गरिरहेको खानेपानीमा दिसा मिसिएको संकेत गर्छ। खानेकुरामा दिसा मिसिएबाट हैजा, आउँ, इकोलाई, इहिस्टोलाइटिका, जिअरजियासिस, भाइरल हेपाटाइटिस (ए र ई) जस्ता ब्याक्टेरिया, परजीवी तथा अज्ञात (भन्नाले पुष्टि नभएका) संक्रमण फैलन सक्ने सम्भावना हुन्छ।

हरेक वर्षजसो नेपालमा हैजा फैलने गरेको छ। २०७८ सालमा कपिलवस्तुको कृष्णनगर नगपालिकाका–७, ८ र ९ मा हैजा फैलिएको थियो। त्यहाँ मृत्यु हुनेमा अधिकतर १० वर्षमुनिका बालबालिका थिए। उनीहरूले समयमा उपचार पाएका थिएनन्।

गत वर्ष काठमाडौंमा पनि हैजा फैलिएको थियो। चौलानी पानी (चामलको माड) जस्तो निरन्तर पखाला लाग्नु, मांसपेशीका बाँउडिनु, बान्ता हुनु, पेट दुख्नु हैजाका केही मुख्य र सुरुवाती लक्षण हुन्। तर लक्षणविहीन हैजा संक्रमितको दिसामा संक्रमण भएको १० दिनसम्म पनि हैजाका जीवाणु देखिने हुँदा संक्रमितले व्यक्तिगत सरसफाइमा ध्यान दिनु जरुरी छ। त्यस्ता व्यक्तिले विशेषतः शौचालय गएपछि राम्रोसँग हात नधोए र संक्रमितको दिसा कुनै कारणले खानेपानीमा मिसिन पुगे हैजा फैलने वा प्रकोपको रूप लिने सम्भावना उच्च हुने गर्छ।

समयमा उपचार गर्दा मानवीय क्षति रोक्न सकिन्छ। हैजाविरुद्धको खोप उपलब्ध भए पनि धेरैलाई यसबारे जानकारी र चासो छैन। बर्सेनि बजार अनुगमन गर्दा बिक्रीमा राखिएका जारका खानेपानीमा कोलिफर्मको मात्र अत्यधिक देखिने गरेको सार्वजनिक भइरहेको छ। बजार अनुगमनलाई कडाइ र नियमित गर्न सके पानीजन्य सरुवा रोगको फैलावट र प्रकोप रोक्न सकिनेछ।

एडिस जातको लामखुट्टेले डेंगी फैलाउने गर्छ। लामखसट्टेले डेंगी मात्र नभई भारतमा देखिँदै आइरहेको तर नेपालमा पुष्टि हुन बाँकी जिका भाइरस र लेखकले सर्वप्रथम सन् २०१३ मा पत्ता लगाएको चिकुनगुनिया भाइरस पनि फैलाउने गर्छ। तर हाल नेपालमा विशेषत डेंगीको मात्र परीक्षण गर्ने गरेको पाइन्छ। यसर्थ नेपालमा चिकुनगुनिया र जिका भाइरसको अवस्था के छ भनेर यकिन गर्न सकिएको छैन।

टाइफाइड एकपछि अर्को बिरामीमा पुष्टि हुनुले हामीले हाल उपभोग गरिरहेको खानेपानीमा दिसा मिसिएको संकेत गर्छ।

भारतमा पछिल्ला केही वर्षयता जिका फैलँदो छ। नेपालमा पनि यो भाइरस फैलाउने लामखुट्टे व्यापक फैलिरहेको हुँदा नेपालमा कुनै दिन जिका भाइरस पुष्टि भए आश्चर्य मान्नुपर्दैन। गत वर्ष नेपालको इतिहासमै काठमाडौंवासी डेंगी संक्रमणबाट नराम्ररी प्रभावित भएका थिए। आधिकारिक तथ्यांकले हजारौं मात्र देखाए पनि लाखौं मानिस संक्रमित भएको अनुमान छ, किनभने पछिपछि संक्रमित हुनेले परीक्षण नगर्दा सो संख्या अधिकारिक तथ्यांकमा जोडिएको भने थिएन।

गत वर्ष संख्यात्मक हिसाबले अहिलेसम्म सबैभन्दा बढी संक्रमितको मृत्यु भएको थियो। सम्भवतः सन् २०१९ र २०२२ मा देखिएको डेंगीको प्रजाति फरक हँुदा डेंगीले जटिल अवस्था सिर्जना गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ। किनभने डेंगीको फरक प्रजातिले पुनः संक्रमित गरे सो बिरामीमा पहिलेभन्दा बढी जटिलता देखिन सक्ने सम्भावना अधिक हुने गर्छ संक्रमित भएको औसतमा ४ देखि १० दिनमा डेंगीको लक्षण देखिन्छ।

उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी खस्ला जस्तो गरी दुख्नु वा चलाउन गाह्रो हुनु, शरीरमा ससाना राता बिबिरा देखिनु, आँखा रातो हुनु, जोर्नी र मांसपेशीका अति कडा दुख्नु, वाकवाक लाग्नु वा बान्ता हुनु डेंगीका सुरुवाती लक्षण हुन्। कतिपयलाई रक्तश्रावजस्ता जटिलता पनि देखिने गर्छ।

गत वर्ष सन् २०१९ मा भन्दा बढी बिरामीमा रक्तश्रावको जटिलता देखिएको थियो। सन् २०२२ को डेंगी महामारीमा मैले सयौं बिरामी हेर्दै गर्दा दैनिक दर्जनको हाराहारीमा बिरामी आकस्मिक कक्षअगाडि कडा डेंगीका कारण बेहोस भएका थिए।

बर्खा लागेसँगै स्क्रब टाइफस, टाइफाइड, हैजा, डेंगीलगायत रोगका बिरामी बढ्न थालेका छन्। स्क्रब टाइफस ‘चिगर माइट’ नामक एक प्रकारको किर्नाले टोकेर हुने गर्छ। टाइफाइड फैलनुको सीधा कारण प्रदूषित पानी उपभोगलाई मान्न सकिन्छ। प्रदूषित पानीबाटै हैजा पनि फैलने गरेको छ। एडिस जातको लामखुट्टेले डेंगी फैलाउने गर्छ।

यसबाट पनि गत वर्ष डेंगीले कडा रूप लिएको थियो भन्ने देखाउँछ। डेंगीको प्रकोप थाम्न लामखुट्टेको वृद्धि विकास रोक्नु अति जरुरी हुन्छ। लार्भा अवस्थामा नष्ट गर्न सकिएन वा गरिएन भने डेंगी नियन्त्रण गर्न कठिन हुने गत वर्षको अनुभवले देखाउँछ। पुराना फालिएका अव्यवस्थित गाडीका टायर, ड्रम, खाल्डाखुल्डी, घरमा जम्मा गरिएका पानी आदिमा डेंगीको वृद्धि विकास सहज रूपमा हुने गर्छ। पछिल्लो समय घरवरिपरि वा छतमा बगैंचा अथवा गमलामा फूल बनाउने/राख्ने प्रचलन बढ्दो छ र सँगसँगै यसबाट डेंगीको जोखिम पनि बढेको देखिन्छ। किनभने गमलाको पानी लामो समय रहने हुँदा लामखुट्टेको लार्भाले सहजै विकास हुने मौका पाउँछ।

भर्खरै मनसुन सुरु हुँदै गर्दा अबको केही दिनमा लामखुट्टेका लार्भाहरू व्यापक देखिन सुरु हुनेछ। लार्भा नष्ट गर्ने उपयुक्त समय पनि यही नै हो यो समयमा लार्भा नष्ट गरिएन भने डेंगी नियन्त्रण असम्भवप्रायः देखिएको गत वर्षको अनुभवले पनि देखाउँछ। डेंगी नियन्त्रणमा स्थानीय सरकारको मुख्य भूमिका देखिन्छ। आफ्नो वडा टोलमा लामखुट्टे वृद्धि विकास हुन सक्ने ठाउँको पहिचान स्थानीयसँग मिलेर पत्ता लगाई नष्ट गर्न सहज हुनेछ। तर प्रभावकारी रूपमा लामखुट्टे नियन्त्रण गर्न केन्द्र, स्थानीय सरकार र सर्वसाधारणको हातेमालो अनिवार्य हुन्छ।

असार–साउन स्क्रब टाइफस उच्चतम बिन्दुमा पुग्ने गरेको तथ्यांकले देखाउँछ। तसर्थ अबको केही साता यस रोगबाट पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ। विशेषतः गाउँघरमा वनजंगलमा घाँसदाउरा गर्दा स्क्रब टाइफसको विशेष जोखिम रहन्छ। माथि उल्लिखित स्क्रब टाइफसका बिरामी पनि गाउँ जाँदा साथीहरूसँग घरनजिकै घासमा बस्ने गरेका र काठमाडौं फर्केको एक सातामा लक्षण देखिन सुरु भएको भनेका थिए।

काठमाडौंमा पनि स्क्रब टाइफस देखिने गरेको विगतको अनुभव छ। पछिल्लो समय सहरियामा पहाडी भेगतिर, जंगलतिर हाइकिङ गर्न जाने प्रचलन बढेसँगै स्क्रब टाइफसको जोखिम पनि बढेको देखिन्छ। उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, लिम्फ ग्रन्थी सुन्निनु, आँखा रातो हुनु, खोकी वा श्वास–प्रश्वासमा असहजता महसुस हुनु, शरीरमा बिबिरा देखिनु, कानमा कृत्रिम आवाज सुनिनु, र ‘इस्कर’ भनिने छालामा कालो पाप्रोजस्तो देखिनु स्क्रब टाइफसका मुख्य लक्षण हुन्। संक्रमण भएको ५ देखि २० दिनभित्र उल्लिखित लक्षणहरू देखिन्छ। तर समयमा उपचार गरे पूर्ण रूपमा निको हुन्छ।

असार–साउन स्क्रब टाइफस उच्चतम बिन्दुमा पुग्ने गरेको तथ्यांकले देखाउँछ। तसर्थ अबको केही साता यस रोगबाट पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ। विशेषतः गाउँघरमा वनजंगलमा घाँसदाउरा गर्दा स्क्रब टाइफसको विशेष जोखिम रहन्छ।

कोभिड १९ महामारीमा मनसुनजन्य संक्रामक रोगहरू खासै देखिएको थिएन। तर हाल मनसुनको सुरुवातीसँगै ब्याक्टेरिया, भाइरसलगायत धेरै पुष्टि नभएका संक्रमण फैलन सुरु भएको देखिन्छ। पछिल्लो समय कारण थाहा नभएका ज्वरोका बिरामीले अस्पतालको तथ्यांकमा पहिलो स्थान ओगटेको छ। अर्थात् नेपालमा अज्ञात संक्रमण व्यापक रहेको संकेत गर्छ। तर दुर्भाग्यवश ! यसको अनुसन्धान गरी अपुष्ट संक्रमण थाहा पाउने प्रयास भने कतैबाट पनि चासो र पहल गरेको पाइँदैन। संक्रमणको शीघ्र पहिचान, फैलने र बच्ने तरिका थाहा पाउन सके मात्र प्रकोप वा महामारीलाई छिटो नियन्त्रणमा ल्याउन सकिनेछ। यसका लागि नेपालमा छुटै अनुसन्धान केन्द्रित सिडिसी (सेन्टरस फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन) जस्तो संस्थानको स्थापना हुनु अत्यावश्यक भइसकेको छ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रकाशित: ४ श्रावण २०८० ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App