५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पश्चिम हिमाली र पहाडी जिल्लामा उक्लियो डेंगी

प्रायःजसो तराईमा देखिने डेंगी पछिल्लो समय पश्चिमका पहाडी तथा हिमाली जिल्लामा देखिन थालेको छ। यहाँको वायु प्रदूषणसँगै तापक्रम बढ्दै जाँदा डेंगी संक्रमण देखिएको हो।

पश्चिमका कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा डेंगी संक्रमितका बिरामी देखिएका छन्। यी जिल्लाहरूमा सुरुवाती चरणमै डेंगी संक्रमण बढ्दो देखिएको छ। पछिल्लो दुई-तीन दिनयता यहाँ डेंगी संक्रमण देखिन थालेको यहाँका स्वास्थ्य निर्देशनालयहरूले जनाएका छन्। तराईबाट हिमाली तथा पहाडी जिल्लामा मानिसको आवतजावत बाक्लिँदै जाँदा पनि माथिल्लो क्षेत्रमा डेंगी संक्रमण फैलिन थालेको चिकित्सकहरू बताउँछन्। अहिले तराईका जिल्लाबाट हिमाली तथा पहाडी जिल्ला सडक सञ्जालसँग जोडिएका छन्। ‘तराईका जिल्लाबाट गाडी सिधै पहाडी जिल्लामा पुग्छन्,’ कर्णाली स्वास्थ्य निर्देशनालयका भेक्टर नियन्त्रण अधिकारी डाक्टर श्याम आचार्यले भने, ‘जसको माध्यमबाट लामखुट्टे पनि हिमाल तथा पहाडसम्म पुग्छन्।’  

हिमाली तथा पहाडी जिल्लामा हुने साना खाल्डाखुल्डी पनि लामखुट्टेका लार्भाहरू देखिन थालेका स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले जनाए। ‘पहाडतिर पनि लामखुट्टेका लार्भा देखिन थालेका छन्। गमलामा पनि लार्भा भेटिएका छन्,’उनले भने, ‘जसबाट डेंगी संक्रमण देखिन थालेका छन्।’अहिले सुरुवाती चरणमा डेंगी संक्रमण देखिन थालेकाले यसबाट बच्न सजग रहनुपर्ने उनको भनाइ छ।

यस हप्ता कर्णालीमा १३ वटा डेंगीका केस पत्ता लागेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखमा दुई, जाजरकोटमा एक, रुकुम पश्चिममा चार, सल्यानमा एक, सुर्खेतमा एक र अन्य चारवटा देखिएका छन्। चारवटा डोल्पाको हुन सक्ने अनुमान गरिएको छ। तर, यसको पृष्टि भने भइ नसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। २०७७-०७८ मा सात सय ९६ जनामा डेंगी देखिएको थियो भने २०७९-०८० मा चार सय ५५ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका भेक्टर नियन्त्रण अधिकारी डा. आचार्यले जनाए।

सुदूरपश्चिममा सबैभन्दा बढी दार्चुलामा देखिएको छ। दार्चुलामा यस वर्ष एक सय ९० जनामा डेंगी देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। सुदूरपश्चिमको बाजुरामा दुई, बझाङ पाँच, बैतडी तीन, डोटी चार, अछाम १५, कैलाली १२ र कञ्चनपुर ३५ जनामा डेंगी देखिएको जनस्वास्थ्य अधिकृत जोशीले जनाए। उनका अनुसार गत वर्ष सुदूरपश्चिममा एक हजार ५५ जनामा डेंगी संक्रमण देखिएको थियो भने डोटीमा एक र कैलालीमा तीनजनाको डेंगी संक्रमणबाट मृत्यु भएको थियो।

लुम्बिनीमा २०७९ साउनदेखि अहिलेसम्म पाँच हजार चार सय चारजनामा डेंगी देखिएको छ। वैशाखयता रूपन्देहीमा चार, गुल्मीमा ३५, अर्घाखाँचीमा पाँच, दाङमा पाँच, कपिलवस्तुमा एक, पाल्पामा तीन, नवलपरासीमा तीन, बाँकेमा १५ र बर्दियामा ११ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनीका महामारी तथा सरुवा रोग फोकल पर्सन खिमलाल पाण्डेले जनाए।

प्रकाशित: २६ असार २०८० ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App