५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आयुर्वेदिक उपचार सेवामा विश्वास बढ्दो

भक्तपुरमा आयुर्वेद स्वास्थ्य सेवाप्रतिको विश्वास बढ्दै गएको देखाएको छ। जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा लिनेहरुको संख्या वृद्धि देखिएको हो।

पछिल्लो दुई आर्थिक वर्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरबाट स्वास्थ्य सेवा लिनेहरुको संख्या बढेको तथ्यांकले यसप्रतिको विश्वास बढेको देखिएको हो।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कुल दुई हजार दुई सय ६७ जना महिला र पाँच हजार एक सय ७० जना पुरुष गरी कुल सात हजार तीन सय ९६ जनाले केन्द्रबाट सेवा लिएका थिए। यो तथ्यांक आर्थिक वर्ष २०७८/०७९ मा बढेर महिला चार हजार नौ सय ४५ र पुरुष आठ हजार नौ सय ४० जना भएर कुल १२ हजार चार सय ८४ जना पुगेको हो।

‘अहिले बिस्तारै आयुर्वेद चिकित्साप्रतिको जनताको विश्वास बढ्दै गइरहेको छ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले आयुर्वेद सेवा प्रवर्द्धनका लागि स्थानीय स्तरका पत्रकारहरुसँग आइतबार कार्यालयमै गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख आयुर्वेदिक चिकित्सक डा नरेन्द्रप्रसाद गिरीले भने, नेपाल सरकारको व्यवस्था अनुसार आफूहरुले उहिलेदेखि नै सबै उपचार सेवा निःशुल्क गर्दै आएका छौ।’

टिकट काट्न, उपचार सेवा र २३ थरीको औषधिहरू पनि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको उनले बताए। उनले यसबाहेकको औषधि भने खरिद गर्नुपर्ने र १० प्रतिशत छुट दिई सहुलियत दरमा औषधि खरिद गर्न सक्ने व्यवस्था पनि मिलाएको बताए।

यहाँ बहिरिंग सेवा, प्याथोलोजी ल्याब, पूर्वकर्म वा पञ्चकर्म सेवा, फिजियोथेरापी, अकुपञ्चर, निः शुल्क औषधि वितरण तथा सशुल्क फार्मेसी सेवा पनि रहेका छन्।

साथै लक्षित वर्गलाई विशेष सेवाहरु पनि दिंदै आएको जनाइएको छ। त्यस अन्तर्गत ज्येष्ठ नागरिक स्वास्थ्य सेवा प्रवर्द्धन, स्तनपायी आमा कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, ट्राफिक प्रहरीका लागि नश्य कार्यक्रम सञ्चालित छन्। साथै जनचेतनामूलक कार्यक्रम अन्तर्गत राष्ट्रिय अन्तर्राष्ट्रिय योग दिवस, स्वास्थ्य जीवन कार्यक्रम, स्वास्थ्य जीवन प्रवर्द्धन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पनि सञ्चालित रहेको जनाइयो। साथसाथै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर र सूचना सम्प्रेषण तथा प्रचार प्रसारको प्रचारप्रसारमूलक कार्यक्रम पनि रहेको जनाइयो।

यी बाहेक पनि जिल्लाका विभिन्न ठाउँहरुमा रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुमार्फत निःशुल्क स्वास्थ्य सुविधा दिंदै आएको बताइएको छ।

नागरिक आरोग्य सेवा केन्द्र भक्तपुर नगरपालिका ६ चोंछे, नागरिक आरोग्य सेवा केन्द्र चाँगुनारायण नगरपालिका ७ बागीश्वरी, नागरिक आरोग्य सेवा केन्द्र सूर्य विनायक नगरपालिका १० चितपोलमा रहेका केन्द्रहरुबाट पनि निःशुल्क सेवा दिंदै आएका छन्।

साथसाथै चाँगुनारायण नगरपालिका वडा न ५ खरिपाटीस्थित खरिपाटी आयुर्वेद औषधालय खरिपाटी, मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीस्थित मध्यपुर आयुर्वेद औषधालय लोकन्थली भक्तपुरबाट पनि सेवा दिंदै आएको जानकारी दिइयो।

पछिल्लो आर्थिक वर्ष २०७०/८० मा बहिरंग सेवातर्फ असार २० गतेसम्म १९ हजार आठ सय ८० जनाले सेवा पाएको तथ्यांक छ। साथै पूर्वकर्म सेवातर्फ एक हजार पाँच सय ७९ जना, फिजियोथेरापीतर्फ तीन हजार सात सय २४, अकुपञ्चरतर्फ दुई हजार आठ सय ५६, प्याथोलोजी ल्याब सेवा दुई हजार आठ सय ३१ जना र औषधि वितरणतर्फ १९ हजार आठ सय ८० जनाले सेवा लिएको तथ्यांक छ।

प्रकाशित: २४ असार २०८० १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App