१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पाँच वर्षभित्र सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा: स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ सङ्कल्पित रहेको बताएका छन्।

लोकसेवाबाट लिइएको परीक्षामा उत्तीर्ण भई स्थायी नियुक्ति पाएका स्टाफ नर्सलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्‍याउन प्रयत्न भइरहेको जानकारी दिए।

मन्त्री बस्नेतले भने, “संविधानले नागरिकका लागि सुनिश्चित गरेको औषधि उपचार पाउनुपर्ने दायित्व पूरा गर्न सरकार दृढ छ, यस क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्न यही क्षेत्रमा कार्यरत जनशक्तिको साझा भावना हुनुपर्छ।”

स्टाफ नर्स मानवीय संवेदनासँग जोडिएको पद र जिम्मेवारी रहेको बताउँदै उनले उपचारसँगै बोली र व्यवहारले पनि बिरामीले सहजता महसुस गर्ने हुँदा त्यसतर्फ विशेष ध्यान पुर्‍याउन सुझाव दिए। 

मन्त्री बस्नेतले भने, “स्वास्थ्य क्षेत्रमा स्टाफ नर्सको धेरै ठुलो जिम्मेवारी, भूमिका र दायित्व छ, मानवीय सेवा भावका हिसाबले भगवानकै जस्तो भूमिका छ।”

स्वास्थ्य क्षेत्रका जनशक्तिप्रतिको दायित्व पूरा गर्दै उत्साहित तुल्याउन राज्य कटिबद्ध रहेको बताउँदै उनले बिरामीको सेवामा क्रियाशील जुनसुकै तहको जनशक्तिलाई तालिम र प्रशिक्षणमा प्राथमिकता दिइने घोषणा गरे।

प्रकाशित: १८ असार २०८० १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App