२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दुई महिनादेखि न्याम्स पदाधिकारीविहीन

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को रिक्त पदाधिकारी पूर्ति हुन नसक्दा नियमित तथा अन्य काम अस्तव्यस्त बनेको छ। गत फागुन ३० गते प्रतिष्ठानका पूर्वपदाधिकारीहरू चारैजनाको कार्यावधि सकिएकोमा सरकारले दुई महिना बित्नै लाग्दा पनि नयाँ पदाधिकारी चयन प्रक्रिया अघि बढाएको छैन। साथै कसैलाई कार्यवाहकको (निमित्त)को रूपमा जिम्मेवारी पनि तोकेको छैन। यी दुवै प्रक्रिया पूरा नगरेकाले न्याम्सका थुपै्र काम अस्तव्यस्त बनेको न्याम्सका पूर्व रजिस्टार डा. पीयूष दाहालले बताए ।

पदाधिकारी रिक्त भएपछि नियमित रूपमा शैक्षिक अनुगमन, नियमित काम, प्रतिष्ठानतर्फका करार कर्मचारीको तलब, आगामी बजेट प्रक्रिया, आगामी शैक्षिक कार्यक्रमको क्यालेन्डर निर्माण लगायत काम रोेकिएको डा. दाहालले जानकारी दिए।

उनका अनुसार न्याम्समा करारमा रहेका २० जना कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने आगामी वर्षको शैक्षिक कार्यक्रमको क्यालेन्डर अहिलेसम्म बनेको छैन। न्याम्स अन्तर्गत कार्य सञ्चालनका लागि आवश्यक बजेट माग गर्न बजेटको प्रतिष्ठानले स्वीकृत गरेपछि मात्र मन्त्रालय पठाउनुपर्नेमा त्यो प्रक्रिया पूरा नगरी बजेट माग गरिएको हुन सक्ने उनले बताए। प्रतिष्ठानको स्वीकृतिविना बजेट माग गर्दा पछि गएर कानुनी झन्झटसम्म पर्नसक्ने जोखिम रहेको उनको भनाइ छ ।

‘नियमित कार्यक्रम कर्मचारीमार्फत सञ्चालन भए पनि शैक्षिक अनुगमन र आगामी शैक्षिक कार्यक्रमको कार्ययोजना अरूबाट सम्भव छैन, जुन ढिलाइ भइसकेको छ,’ उनले भने। न्याम्सका पदाधिकारीको कार्यावधि समाप्त भए पनि अरू व्यक्तिलाई अख्तियारी दिएको भए धेरै समस्याको समाधान हुने भएकामा बेवास्ता गरिएको दाहालको भनाइ छ। 

प्रकाशित: ३० वैशाख २०८० ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App