९ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका आइतबार घोषणा गरिएको छ।

महानगरपालिकाको कार्यालयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो। विराटनगर कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका बनेको छ।

विराटनगर महानगरपालिकामा १७ हजार ५ सय २ बालबालिकालाई खोप लगाइसकिएको छ। १७ हजार ५ सय २ बालबालिकाहरुमध्ये १ हजार ५ सय ९२ जना बालबालिकाहरु पूर्ण खोप लगाउनबाट छुटेका थिए। उनीहरुलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीले खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो।

जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै महानगरलाई प्रमाणपत्र प्रदान गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विराटनगर एक कदम अगाडि बढेको बताए। विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको बताएका हुन्।

महानगर प्रमुख नागेश कोइरालाले सबैको साथ र सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताए। कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू, संघीय सरकारका स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल, महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायतले महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।

जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई लगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए।  

प्रकाशित: ३ वैशाख २०८० १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App