१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

७१ कैदीबन्दीको आँखा जाँच

 नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर खोटाङका ६ दर्जन कैदीबन्दीको निःशुल्क आँखा जाँच भएको छ। स्थापना दिवस तथा नेपाल नेत्र ज्योति संघको ४५औं स्थापना दिवशको अवसर पारेर महासंघ खोटाङ शाखाको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा विभिन्न अपराधको सजाय भोग्दै गरेका कैदीबन्दीले आँखा जँचाउने अवसर पाएका हुन्।  

जिल्ला कारागार शाखा खोटाङमै गएर सञ्चालन गरिएको शिविरमा ७१ जना कैदी बन्दीले आँखा जाँच गराएको महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले बताए। उनका अनुसार नेत्र ज्योति संघ र पत्रकार महासंघको स्थापना दिवसलाई नयाँ तरिकाले मनाउने उद्देश्यले कारागारमा सजायरत कैदीबन्दीको आँखा जाँचसँगै निःशुल्क औषधि र चस्मासमेत वितरण गरिएको हो।  

कारागारमा रहेका कैदीबन्दीमध्ये ६७ पुरुष र चार महिलाको आँखा जाँच गर्दै निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको हो। शिविरमा आँखाको जटिल समस्या भएका ३५ जनालाई निःशुल्क चस्मा पनि वितरण गरिएको छ भने ४५ जनालाई औषधि वितरण गरिएको छ। आँखामा जटिल समस्या भएकाहरूलाई संघ र महासंघको पहलमा निःशुल्क चस्मा दिइएको नेपाल नेत्र ज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए।

शिविरमा आँखा जाँच गर्नेमध्ये एक कैदीलाई भने मोतियाबिन्दु भएको पाइएकाले शल्यक्रिया (अप्रेसन) गर्न चिकित्सकले सुझाएका छन्। संघका अध्यक्ष कसजुका अनुसार उनको आँखाको अप्रेसनका लागि छिट्टै सुविधा सम्पन्न अस्पताल पठाउने तयारी भइरहेको छ। गृह मन्त्रालय, कारागार विभाग र जिल्ला प्रशासन कार्यालय र कारागार शाखाको अनुमति लिएर उनको आँखा अप्रेसन गर्न लाने व्यवस्था मिलाइने कसजुले बताए।  महासंघको समन्वय, नेत्र ज्योति संघ, हङकङ च्याप्टरको सहयोग एवं आँखा उपचार केन्द्र दिक्तेलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गएिको नेत्र ज्योति संघ खोटाङले जनाएको छ। 

प्रकाशित: २१ चैत्र २०७९ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App