५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न अनुमति

चितवनको भरतपुर अस्पतालले पढाई सञ्चालन गरेको ५ बर्षपछि आङगीक शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न अनुमति पाएको छ। चैत्र १० गते बसेको मन्त्रीपरिषद्को निर्णयले चिकित्सा राष्ट्रिय प्रतिष्ठानको आङगीक शिक्षण अस्पतालको रुपमा मान्यता दिएको हो।  

भरतपुर अस्पतालमा र २०७४ सालदेखि बिएन, एमडि र एमएसको कक्षा सञ्चालन हुँदै आएको थियो। मन्त्रिपरिषद्को निर्णयसंगै पूर्णरुपमा आङगीक शिक्षण अस्पतालको स्वीकृत पाएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा।डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘हामीले विगतमा सम्झौता गरेर कक्षा सञ्चालन गरेका थियौँ। अब पुर्ण रुपमा सम्बन्धन पाएका छौँ,’ उनले भने, ‘भरतपुर अस्पतालमा शैक्षिक क्रियाकलाप अगाडि बढाउन सहज हुन्छ।’ चिकित्सा राष्ट्रिय प्रतिष्ठानले प्रयोगात्मक गराउनका लागि भरतपुर अस्पतालमा प्रत्येक बर्ष ५ जनाको हाराहारीमा पठाउने गर्दछ। अब पूर्ण रुपमा पढाई नै सञ्चालन हुने डा। पौडेलले बताए। तर, यसका लागि प्रकृया धेरै रहेको उनले बताए।  

भरतपुर अस्पताल अहिले केन्द्रीय अस्पतालको रुपमा संचालनमा छ। शिक्षण अस्पताल बनाउन माग गर्दै वर्तमान अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा।कृष्णप्रसाद पौडेल, निवर्तमान अध्यक्ष डा.भोजराज अधिकारीलगायतको प्रतिनिधि टोलीले केही दिन पहिले प्रधानमन्त्री दाहाललाई बालुवाटार पुगेर भेट गरेको थियो।

सबैको अथक मेहनतका साथ भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न संभव भएको अस्पतालका निवर्तमान अध्यक्ष डा.भोजराज अधिकारीले बताए। ‘१२ वर्ष अघिदेखिको सपना पूरा भएकोमा ब्यक्तिगत रुपमा म हर्शित छु। हामी सबै मिलेर सरकारको यो ऐतिहासिक निर्णयलाई कार्यान्वयन गरी मेडिकल सिटी बनाउन थप योगदान गरौं’–डा.अधिकारीले भने।

डा।अधिकारीले आफू अस्पतालको अध्यक्ष हुँदा बखत पनि शिक्षण अस्पतालको रुपमा लैजानुपर्ने आवाज उठाउँदै आइरहेका थिए। शिक्षण अस्पतालको रुपमा विकास गराउन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल पनि सक्रिय रहेकी थिइन्। गतवर्ष भरतपुर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताललाई शिक्षण अस्पताल बनाउन आफू लागि पर्ने प्रतिवद्धता जनाएका थिए। यसपटक आफै प्रधानमन्त्री भएपछि दाहालले उक्त प्रतिवद्धता पुरा गरेका हुन्।

चितवनमा त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चितवन मेडिकल कलेज र काठमाण्डौँ विश्व विद्यालयबाट सम्बन्धन प्राप्त भरतपुर मेडिकल कलेजमा चिकित्सा शिक्षा पढाई हुँदै आएको छ। अब भरतपुर अस्पतालमा पनि स्वास्थ्य सम्बन्धी कक्षा सञ्चालन गर्न सक्ने बाटो खुलेको छ। २०१३ सालमा महेन्द्र आदर्श चिकित्सालयको नाममा स्थापना गरिएको हो। ६ सय शैया सञ्चालनमा रहेको छ। यहाँ दैनीक १ हजार ५ सयको हाराहारीमा बिरामी आउने गर्दछन्।

प्रकाशित: १५ चैत्र २०७९ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App