१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

लुम्बिनीमा एक वर्षमा ८९० क्षयरोगी

विश्व क्षयरोग दिवस

लुम्बिनी प्रदेशमा १ वर्षमा ८९० जना क्षयरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय रूपन्देहीले शुक्रबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराएको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकलपर्सन रामप्रसाद भट्टराईले गत आव २०७८/७९ मा प्रदेशमा ८९० जना क्षयरोगी भेटिएको बताएका हुन्। प्रदेशमा प्रतिलाख जनसंख्यामा १५७ जना नयाँ क्षयरोगका बिरामी भेटिएको उनले जानकारी गराए।

प्रदेशका बाह्र जिल्लामध्ये गत आवमा सबैभन्दा धेरै रूपन्देहीमा १ हजार ७ सय ५ जना र सबैभन्दा कम रुकुम पश्चिममा ५७ जना क्षयरोगी भेटिएको उनले बताए। क्षयरोगीको संख्या रूपन्देहीमा धेरै भए पनि संक्रमणको दर भने दाङ जिल्लामा बढी रहेको उनले बताए। फोकल पर्सन भट्टराईका अनुसार दाङमा प्रति एकलाख जनसंख्यामा २१४ जना क्षयरोगी भेटिएका छन्।

क्षयरोग निवारणका कार्यक्रमलाई प्रभावकारी बनाउन समुदायमै गएर परीक्षण गरिएकाले यो वर्ष क्षयरोगीको संख्या धेरै भेटिएको उनले बताए। स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले रूपन्देहीमा चालु आवको फागुन मसान्तसम्ममा १५९ जना नयाँ क्षयरोगी भेटिएको बताए। पालिकामध्ये सबैभन्दा धेरै उपमहानगरपालिकामा २५४ जना, तिलोत्तमामा १५४, देवदहमा ९५, सिद्धार्थनगरमा ८७ र सैनामैनामा ८३ जना क्षयरोगी भेटिएको उनले बताए। सबैभन्दा कम कोटहीमाइमा २१ जना क्षयरोगी भेटिएका छन्।

क्षयरोगको उपचार निःशुल्क गरिए पनि कतिपय क्षयरोगी सो सेवाभन्दा बाहिर रहँदा संक्रमण दर बढ्ने जोखिम बढेको पनि उनले बताए। गरिबी, अशिक्षा, प्रदूषण युक्त वातावरण, पर्याप्त पोषणको कमी, क्षयरोगको निःशुल्क उपचारबारे आम समुदायलाई जानकारी नहुनु जस्ता कारणले क्षयरोगको संक्रमण दर बढेको ढकालले बताए।

प्रकाशित: ११ चैत्र २०७९ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App