९ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न आग्रह

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न सम्पूर्ण महानगरवासीलाई  आग्रह गरेका छन्। बिहीबार देखि सुरू भएको हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमको सुरूवाद गर्दै मेयर कोइरालाले सबै नगरवासीलाई हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न आग्रह गरेका हुन्। 

सरकारले सञ्चालन गरेको अभियानलाई साथ दिएर विराटनगरबाट मात्रै होइन नेपालबाट हात्तीपाइले रोग निवारण गर्न जरुरी भएकाले सबैलाई औषधि सेवन गर्न मेयर कोइरालाले आग्रह गरे। उनले भने‘ हात्तीपाइले रोग रहित महानगरपालिका बनाउन  औषधि खान मिल्ने सबै उमेर समूहका व्यक्तिहरूलाई  औषधि खान अपिल गर्दछु।’  औषधि सेवनले मात्रै हात्तीपाइले रोग निवारण गर्न सकिने उनले बताए। 

उनले कसैले खाने, कसैले नखाने गरेको अवस्थामा हात्तीपाइले रोग निवारण हुन नसक्ने स्पष्ट पारे। औषधि सेवन कार्यक्रमको सुरुवाद कार्यक्रममा  मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, निजी अस्पतालहरूको छाता संगठन (अफिन) का अध्यक्ष डा. शंकर अधिकारी, कोशी अस्पतालका मेसु डा। रविनराज सिंह, वडाध्यक्षहरू, कार्यपालिका सदस्यका साथै कर्मचारीहरूले समेत औषधि सेवन गरेका थिए। 

महानगरका १९ वटै वडामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरूले औषधि खुवाउनेछन्। औषधि खान मिल्ने महानगरको योग्य जनसङ्ख्या ८० प्रतिशतलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए। नेपाल सरकारले बिहीबारदेखि हात्तीपाइले रोग देखिएका  जिल्लाहरूमा  औषधि सेवन कार्यक्रम सञ्चालन गरेको छ। 

फागुन २५ गतेसम्म झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिनेछ। यही  फागुन २५ गतेसम्ममा ८४ लाख ९८ हजार ५ सय १ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ। 

सरकारले सन् २००३ देखि ६४ जिल्लामा हात्तीपाइलेविरुद्धको आम औषधि अभियान सञ्चालन गरेको थियो। तीमध्ये ४८ जिल्लामा बिरामी फेला नपरेकाले तिनमा औषधि खुवाउन बन्द गरिसकेको छ। नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको हात्तीपाइले रोग सरकारले सन् २०२० मै निवारण गर्ने लक्ष्य लिएको थियो। तर नसकेपछि सन् २०३० सम्मको समय थप गरेको छ। 

प्रकाशित: ११ फाल्गुन २०७९ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App