२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अस्पतालजन्य संक्रमित फोहोर व्यवस्थापनका लागि समिति गठन

विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ। विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो।

समितिमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत, विराटनगर महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखा प्रमुख, सरकारी अस्पताल, निजी अस्पताल (अफिन), नोवेल, विराट मेडिकल, पोलिक्लिनिक, ल्याब, फोहोर व्यवस्थापन साझेदार संस्था र फार्मेसीका एक–एक प्रतिनिधि सदस्य रहेका छन्। सो समितिले जमिन, प्रविधि, फोहोरको मात्रा, सञ्चालन व्यवस्थापन लगायतका विषयमा अध्ययन गरी माघ मसान्तभित्र प्रतिवेदन बुझाउनेछ। 

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा निजी अस्पतालहरूको छाता संगठन अफिन, विराटनगरमा सञ्चालित मेडिकल कलेज, अस्पताल, नर्सिङहोम, ल्याब, पोलिक्लिनिक, मेडिकललगायतका प्रतिनिधिहरूको भेलाले समिति गठन गरेको हो।  प्रतिवेदन कार्यान्वयनका लागि महानगरले सबै किसिमको सहयोग गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए।

निजी अस्पतालहरूले बुझाउने कर आउने क्रममा रहेको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए। उनले अनुगमनमा जाँदासमेत अस्पतालहरूले सहजीकरण गरेर सहयोग गरेको बताए। छलफलमा महानगरभित्र सञ्चालित सबै अस्पताले परिसरभन्दा बाहिर पनि सफा राख्न र पर्खालहरूमा रंगरोगन गर्न अस्पताल सञ्चालक सहमत भएका छन्।

यसैगरी अस्पतालहरूले महानगरलाई बुझाउनुपर्ने सबै प्रकारका स्थानीय कर नियमित बुझाउन तयार रहेको अफिनका अध्यक्ष डा. शंकरप्रसाद अधिकारीले बताए। डा. अधिकारीले महानगरको समग्र विकासमा निजी अस्पतालहरूको सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए।  

प्रकाशित: ८ माघ २०७९ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App