coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कटारी अस्पतालमा बाल रोग विशेषज्ञ सेवा सुरु

स्तरोन्नति गर्दै गएको कटारी अस्पताल। तस्विरः महेश्वर।

उदयपुरको पश्चिमी भेगलाई सेवा क्षेत्र बनाएको कटारी अस्पताल पछिल्लो समय तीव्र गतिमा सुधार हुँदैछ। १५ शैय्याको कटारी अस्पतालमा हिजोआज सामान्यदेखि जटिल खालका रोगहरुकोसमेत उपचार गर्ने गरी स्तरोन्नति गरिएको छ।

सुधारकै सिलसिलामा अस्पतालले छिट्टै बाल रोग विशेषज्ञ सेवा प्रदान गर्ने तयारी थालेको छ। त्यसका लागि कटारी नगरपालिकाले सोमबार मात्र बाल रोग विशेषज्ञ डा. सतिश शर्मालाई नियुक्त गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताए। नगरबासीलाई आफ्नै सहर बजारमा सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा बाल रोग विशेषज्ञ नियुक्त गरिएको उनले बताए। 

किरातीका अनुसार डा. शर्मालाई सोमबारदेखि लागू हुने गरी १ वर्षको करार नियुक्ति दिइएको छ। बाल रोग सम्बन्धी एमडी शर्मालाई नेपाल सरकारको स्वास्थ्य सेवा समूहतर्फ नवौं तहमा कामकाज गर्ने गरी नियुक्ति दिइएको हाकिम किरातीले बताए। उनलाई नेपाल सरकारले नवौं तहका कर्मचारी सरह दिने मासिक पारिश्रमिकसँगै झण्डै शतप्रतिशत प्रोत्साहन भत्ता दिने आपसी समझदारी भएको किरातीले बताए। 

नगरपालिका मातहतको उक्त अस्पताल सञ्चालनका लागि कटारीले चालु आर्थिक वर्ष १ करोड बजेट विनियोजन गरेको र नियमित निकासा दिँदै आएको हाकिम किरातीले बताए। यसबाहेक स्वास्थ्य सेवा विभाग र प्रदेश सरकारले दिने नियमित तथा अतिरिक्त बजेट पनि यथावत् पाउँदै आएको छ। खास गरी अस्पताल सुधारको लक्ष्य लिएर नगरपालिकाले बिभिन्न स्रोतबाट बजेट जुटाउँदै आएको हाकिम किरातीले बताए। 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. गौरव साहका अनुसार विशेषज्ञ डा. नियुक्ति भइसकेकाले केही दिनभित्रै अस्पतालले बाल रोग विशेषज्ञसहितको सेवा थाल्नेछ। हाल अस्पतालमा जटिल खाले गर्भवतीको शल्यक्रिया (सिएस) गरेर बच्चा निकाल्ने सेवा सुचारु छ। त्यससँगै हर्निया, हाईड्रोसिल र एपेन्डीसाईटिसको अप्रेसन पनि हुने गरेको छ। 

बाल रोग विशेषज्ञ डा. शर्माको नियुक्तिले कटारीबासीलाई बालबालिकाको जटिल खाले रोगको उपचार त्यहीबाट गर्न सहिने भएको छ। ‘हामीले कटारी अस्पताललाई धरान, जनकपुर र बिराटनगरमा पाउनेसम्मको सबै खाले उपचार सेवा दिने थलोको रुपमा विकास  गर्ने योजनामा छौँ’ डा। साहले भने ‘बाल रोग विशेषज्ञ डा। नियुक्त भइसकेकाले अव केही आवश्यक भौतिक उपकरणहरु जुटाएर सेवा सुचारु गर्दैछौँ।’

कटारीमा हाल ३ जना विशेषज्ञ (एमडी), ३ जना मेडिकल अधिकृत (एमबिबिएस) र अन्य स्वास्थ्यकर्मीहरू कार्यरत छन्। प्रसूति सेवातर्फ मेडिकल अधिृकतहरु र मेसु डा. साह प्याथोलोजीमा एमडी हुन् भने अर्का डा. सन्तोष साह एमडीजिपी हुँदा भर्खर नियुक्त डा. शर्मा बाल रोग विशेषज्ञ। त्यसबाहेक अन्य रोगको अप्रेसन गर्नुपर्दा जनकपुरबाट विशेषज्ञ डा. झिकाएर गर्ने सम्झौता भएको डा. साहले बताए। 

नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले कटारी नगरबासीलाई आफ्नै गृहनगरमा स्वास्थ्य सेवा लिन सहज बनाउन कटारी अस्पताललाई स्तरोन्नति गर्ने कार्य गरिरहेको बताए। राम्रो अस्पताल र दक्ष जनशक्तिको अभावमा सामान्य उपचारका लागि पनि बाहिरका अस्पताल जानुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाले कटारी अस्पताललाई स्तरोन्नति गर्दै लगेको उनले बताए। निकट भविष्यमै कटारी अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरेर धरान, बिराटनगर र जनकपुर जत्तिको सेवा  दिन सक्ने अस्पतालमा रुपान्तरण गर्ने योजना मेयर श्रेष्ठको छ। 

प्रकाशित: २९ मंसिर २०७९ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App