७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमा गर्दै महावै

कालिकोटको महावै गाउँपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । कर्णाली प्रदेशको दुर्गम महावै गाँउपालिकाले ३५ लाख रकम विनियोजन गरी मंसिर १ गतेबाट सेवा सुरु गरेको हो।

गाउँपालिकाले स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएपछि नागरिकहरूको स्वास्थ्य बिमालाई पहिलो प्राथामिकतामा राख्ने प्रतिबद्धता जनाएको थियो। बिमाका लागि ३५ लाख विनियोजन गरी छिट्टै कार्यन्वयनमा ल्याइएको महावै गाउँपालिकाले जनाएको छ।

मंसिर १ गतेबाट सेवा सुरु गरी २ सय ८५ घरधुरीमा सेवा दिनुको साथै बाँकÞीमा पनि सेवा सुरु हुने क्रममा रहेको छ। स्वास्थ्य बिमा गर्नेमा कालिकोट जिÞल्लाको पहिलो पालिका महावै भएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह (भिजन)ले जानकारी दिए।

महावै गाउँपालिकाका नागरिकलाई स्वास्थ्यक्षेत्रमा सक्षम बनाउन र स्वास्थ्य क्षेत्रको पहुँचमा पु¥याउन बिमा कार्यक्रम लागु गरेको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनेमा आफू पनि लागि परेको गाउँपालिका उपाअध्यक्ष दानसिंह सेजुवाले जानकारी दिए । यस्तै कालिकोटको रास्कोट नगरपालिकाले नगरका सबै घरहरूको निःशुल्क बिमा गर्ने तयारी थालेको छ। नगर प्रमुख धर्मराज शाहीले नगरपालिका भित्रका करिब ३ हजार घरको बिमा गर्ने तयारी गरेका हुन्।

‘बाढी पहिरो, भूकम्पलगायतका प्राकृतिक प्रकोपबाट हुने क्षतिपछि नागरिकलाई राहत दिन सबै घरहरूको बिमा हुनेछ। बाढी पहिरो, भूकम्पलगायतका प्राकृतिक प्रकोपमा परी नागरिकको घर भत्किएमा प्राविधिक मूल्यांकनका आधारमा न्यूनतम् ५० हजारदेखि पाँच लाख रूपैयाँसम्म रकम पाउने गरी सबै घरको बिमा गर्न लागिएको हो’। नगर प्रमुख शाहीले भने, ‘बर्सेनि बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपले रास्कोटमा धेरै जनधनको क्षति हुँदै आएको छ। सरकारले राहत स्वरूप धेरै रकम यसमा पनि खर्चिंदै आएको छ। बिमा गर्दा नागरिकले सहुलियतमा राहत पाउने छन्। यो पहाडी क्षेत्रमा निकै उपयोगी हुनेछ।’

गत २३ कात्तिकमा डोटी केन्द्रविन्दु बनाएर गएको भूकम्पले कालिकोटमा पनि निकै धक्का दिएको थियो त्यसपछि रास्कोट नगरपालिकाले कार्यपालिका बैठक डाकेर तत्काल नगरका सबै घरको बिमा गर्ने प्रस्ताव पारित गरेको थियो।

नगर प्रमुख शाहीले कार्यपालिकामा राखेको प्रस्ताव पारित भएपछि तत्काल बिमा प्रक्रिया अगाडि बढाइएको नगरपालिका प्रवक्ता धनबहादुर धामीले बताए। उनका अनुसार नगरले सबै घरधुरीहरूको सम्पति बिमा हुने र बिमाबापत लाग्ने प्रिमियमको रकम पनि नगरपालिकाले तिर्नेछ। जसबाट कुनै पनि प्राकृतिक प्रकोपमा परी घर भत्किए बिमाबाट हरेक नागरिकले क्षतिपूर्ति पाउनेछन्।

जिल्लामा यसअघि कुनै पनि नागरिकहरूले घरको बिमा गरेका छैनन्। स्थानीय सरकारले पनि यसको प्रयोग गरेका थिएनन्। रास्कोटले नागरिकको घर बिमा सुरुवात गरेको छ। रास्कोटका टिकाराज उपाध्यायले भने, ‘नगरपालिकाले ल्याएको घर बिमा कार्यक्रम निकै उपयोगी हुनेछ। यसलाई जिल्लाका सबै स्थानीय तहले अवलम्बन गर्नुपर्छ। जिल्लामा बर्सेनि बाढी र पहिरोबाट सयौं घरहरू भत्किने समस्या छ।’ यस वर्ष मात्रै जिल्लामा बाढी र पहिरोबाट दुई हजार पाँच सय घरहरू भत्किएको जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति कालिकोटले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७९ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App