नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका १६४३ जना विद्यार्थी बाढीबाट सुरक्षित रहन सफल भए पनि उनीहरू बसोबास गर्ने समुदायमा अझै जोखिम रहेको छ।
सबै विद्यार्थीलाई भोटेकोसी बाढीबाट जोगाउन सकिए पनि समुदायमा जोखिम कायमै रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र दबाडीले बताए। बुधबार नागरिकसँग कुरा गर्दै उनले भने, ‘बाढी आउनु १५ मिनेटअगाडि थाहा पाएर विद्यालयमा आएजति सबै विद्यार्थीलाई सुरक्षित स्थानमा पठाएँ, तर उनीहरू आआफ्ना समुदायमा जोखिममै छन्। यही त्रासले म निदाउन सकेको छैन।’
प्रधानाध्यापक दबाडीका अनुसार बाढीले त्रिभुवन त्रिशूली माविको ८६ रोपनी जग्गामा बनेका १७ वटै भवन बगायो।विद्यालयको भौतिक संरचना मात्र होइन विद्यालयको जग्गा पनि रहेन। ‘विद्यार्थीलाई विद्यालयबाट समयमै बाहिर बाढीबाट सुरक्षित रहन सके पनि धेरै बालबालिका र तिनका परिवार सम्पर्कमा छैनन्’, प्रअ दबाडीले नागरिकसँग चिन्ता व्यक्त गरे, ‘विद्यार्थीको घर, बस्ती र विद्यालयसम्म आउजाउ गर्ने बाटो भने उच्च जोखिमा रहेकाले कति सुरक्षित र कति जोखिममा छन् भन्न सकिने अवस्था छैन।
‘बुधबार नै शिक्षा मन्त्रालयका टोली नुवाकोट पुगेकाले म बुधबारै काठमाडौंबाट नुवाकोट आएँ,’ उनले थपे, ‘शिक्षामन्त्री सस्मित पोखरेलज्यूसँग पनि भेट भयो। मैले सबै वृत्तान्त सुनाएँ। कक्षा ११ मा पढ्ने हाम्रा विद्यार्थी अभिनाश नेपाली र उनकी आमा सम्पर्कविहीन रहेको खबर पाउँदा म निकै दुःखी छु।’ उनले शिक्षामन्त्री पोखरेलसँग काठमाडौंमै भेटेर नुवाकोटमै उक्त विद्यालय सुरक्षित स्थानमा पुनर्निर्माणका लागि पहल गरिदिन आग्रह गरेको समेत सुनाए।
विद्यालयप्रति भारतीय दूतावासको चासो, भवन त गयो विद्यार्थीको भविष्य नगुमोस्
विसं २००७ सालमा स्थापना भएको त्रिभुवन त्रिशूली माविमा कक्षा १२ सम्म पढाइ हुँदै आएको थियो। नुवाकोटको उत्कृष्ट विद्यालयका रूपमा परिचित यस विद्यालयमा कुल एक हजार ६ सय ४३ विद्यार्थी अध्ययनरत थिए। २०७२ सालको महाभूकम्पबाट पनि यस विद्यालयमा क्षति भएको थियो।
त्यसबखत भौतिक क्षति भएकामध्ये १८ कोठे भवन भारतीय दूतावासले बनाइदिएको थियो।भदौ १० को बाढीले विद्यालयको सम्पूर्ण भौतिक संरचना बगाएपछि भारतीय दूतावासले समेत चासो देखाएर मंगलबार राजदूत नवीन श्रीवास्तवले प्रअ दबाडीसँग भेट गरी विद्यालय भवन सुरक्षित स्थानमा बनाउन भारत सरकारको सहयोग रहने प्रतिबद्धता जनाए। ‘राजदूतज्यूले विद्यार्थी र विद्यालय सुरक्षाका बारेमा चासोसाथ सोधीखोजी गर्नुभयो’, प्रअ दबाडीले भने, ‘विद्यालयका विद्यार्थी र समुदायको सुरक्षाको सवाल पहिलो प्राथमिकता हो। हाम्रा धेरै विद्यार्थी त्रिशूलीकै छन्। पुल बगेको छ। बस्ती बगेको छ। परिवार बगेका छन्।
अब कति विद्यार्थी सुरक्षित छन् यकिन छैन। विद्यालय सञ्चालनका लागि बैकल्पिक भवनको खोजी भइरहेको छ।’ उनका अनुसार त्रिशूलीकै सुरक्षित स्थानमा नेपाल सरकार, भारत सरकार, चौधरी फाउन्डेसनलगायत विभिन्न निकायको सहयोगमा विद्यालय पुनर्निर्माण र सञ्चालन कार्य अगाडि बढाउने विषयमा छलफल भइरहेको छ।
बाढी आउनुअघि विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लगे पनि सबैको अवस्था यकिन गर्न कठिनाइ भएको दबाडीले बताए।उनका अनुसार कतिपय अभिभावकले आफ्ना बालबालिका सम्पर्कमा नरहेको जानकारी दिएका छन् भने केही विद्यार्थी घर पुगेको सूचना पनि प्राप्त भएको छ। ‘विद्यालयपरिसरबाट विद्यार्थी सुरक्षित निकाल्नु पहिलो कर्तव्य थियो, तर घरसम्म पुग्ने बाटो, बस्ती र समुदायमा जोखिम बाँकी रहेकाले यसको न्यूनीकरण नगरेसम्म विद्यार्थी पूर्ण रूपमा सुरक्षित भएको मान्न सकिने अवस्था छैन’, प्रअ दबाडीले भने।
अब विद्यालय सञ्चालन गर्दा भवन मात्र सुरक्षित बनाएर नपुग्ने उनको भनाइ छ।
प्रकाशित: १८ भाद्र २०८३ १३:१६ बिहीबार





-600x400.jpg)