शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिनअघि विद्यालय तहमा कक्षा ९ र १० मा अनिवार्य विषयका रूपमा कम्प्युटर शिक्षा कार्यान्वयन गर्न निर्देशन दिएका थिए । त्यही निर्देशनका आधारमा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले तयारी अगाडि बढाएको छ।
केन्द्रले माध्यमिक तहमा कम्प्युटर शिक्षा कार्यान्वयन गर्न अवधारणा पत्र तयार गरी त्यसउपर छलफल अघि बढाएको केन्द्रका महानिर्देशक युवराज पौडेलले बताए।
उनका अनुसार केन्द्रले कक्षा ९ र १० मा कम्प्युटर विषय अनिवार्य बनाउन विषयवस्तुबारे छलफल गरेको छ। साथै विद्यालय आवर र क्रेडिड आवरबारे बृहत् छलफल अघि बढाएको छ।
हाल विद्यालय शिक्षा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म ६ घण्टा कायम छ। साथै सात सय पूर्णांकका विषयवस्तुका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले वार्षिक १०२४ कार्य घण्टा र ३२ पाठ्यघण्टा कायम गरेको छ। ‘हाल अंग्रेजी, नेपाली, विज्ञान तथा प्रविधि, गणित र सामाजिक अध्ययन गरी पाँच विषय अनिवार्य विषय हुन् भने दुईवटा ऐच्छिक विषय गरी सात विषय छन्’, महानिर्देशक पौडेलले नागरिकसँग भने, ‘पाठ्यक्रम प्रारूपमा कम्प्युटर विषय अनिवार्य छैन। ऐच्छिक विषयका रूपमा मात्र व्यवस्था छ। अब केन्द्रले ४५ मिनेटको सय पूर्णांकको अनिवार्य कम्प्युटर विषय बनाउन लागेको छ।’
उनले थपे, ‘यसो गर्दा विद्यालय आवर दैनिक करिब ६ घण्टा ४५ मिनेट अर्थात् करिब ७ घण्टा पुग्छ भने कार्य घण्टा ११५२ पुग्छ। समयअवधि बढ्दा यसबाट उत्पादन हुने सकारात्मक र नकारात्मक पक्षबारे केन्द्रले विज्ञसँग बृहत् छलफल गरिरहेको छ।’
आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा समेत कम्प्युटर विषय अनिवार्य गर्न छलफल अघि बढाएको उनले जनाए। ‘शिक्षामन्त्रीज्यूको निर्देशनअनुसार केन्द्रले कप्प्युटर विषय कक्षा ९ र १० मा अनिवार्य गराउन नयाँनयाँ विषयवस्तु समावेश गर्नेबारे छलफल अघि बढाएको छ। दुई चरणको छलफल पनि भयो’, महानिर्देशक पौडेलले भने, ‘स्कुल आवर थपिँदा विद्यार्थीलाई पर्ने असरको तवरबाट अब छलफल अघि बढेको छ।’
शिक्षामन्त्री महावीर पुनले आफू सार्वजनिक विद्यालयहरूमा स्थलगत भ्रमण गर्दा विद्यालयलाई प्राप्त कम्प्युटर शिक्षक अभावमा विद्यालय कोठामा छोपेर राखेकोमा दुःख लागेको बताए। यसकारण मन्त्री पुनले प्रत्येक सार्वजनिक विद्यायलयमा एकएक कम्प्युटर शिक्षकको दरबन्दी व्यवस्था गर्ने मन्त्रीस्तरीय निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकेका छन्। ‘म आफैं पनि शिक्षक भएकाले मलाई विद्यालयको शिक्षकका बारेमा राम्ररी थाहा छ’, मन्त्री पुनले भने, ‘म आफैं विद्यालय पुगेको छु । सरकार र अन्य निकायले सार्वजनिक विद्यालयमा दिएको कम्प्युटर चलाउने र सिकाउने शिक्षक नभएका कारण थन्किएको छ। मुसाको गुण बनेको छ।’
उनले थपे, ‘आजको युगमा विद्यालयका विद्यार्थीले कम्प्युटर चलाउन नजान्ने भन्ने हुँदैन। सरकारले विद्यालय तहबाटै अनिवार्य रूपमा कम्प्युटर शिक्षा उपलब्ध गराउनुपर्छ। मैले विज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राखेरै अर्थसँग कुरा गरें र विद्यालयमा एकएक कम्प्युटर शिक्षक दरबन्दीको व्यवस्था गर्ने निर्णय गरेको हुँ।’
आगामी शैक्षिक सत्रदेखि प्रत्येक सार्वजनिक विद्यालयका मावि तहमा कम्प्युटर शिक्षा अनिवार्य हुने उनको भनाइ छ।
प्रकाशित: २९ आश्विन २०८२ ०९:०६ बुधबार





