प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार हुँदै छ। उम्मेदवारहरू मतपरिणाम हात पार्न घरघरमा पुगेर मतदाता रिझाउन व्यस्त छन्। निर्वाचनसम्बन्धी सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले ७७ जिल्लामै निर्वाचनसम्बन्धी तयारी पूरा भइसकेको जनाइन् । उनका अनुसार एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाताका लागि १० हजार नौ सय ६७ मतदानस्थल, मतदान केन्द्र २३ हजार एक सय १२ र अस्थायी केन्द्र एक सय ४३ तोकिएको छ। यसमध्ये ९० प्रतिशत मतदानस्थल सार्वजनिक विद्यालय छन्।
मतदान हुने विद्यालयहरूको यकिन तथ्यांक नभए पनि सबैलाई पायक र सहजै मतदान गर्नका लागि सार्वजनिक विद्यालय नै उपयुक्त भएको आयोगकी सहायक प्रवक्ताको भनाइ छ। ‘सार्वजनिक विद्यालय सबै ठाउँमा सजिलै पहुँच हुन्छ। खुला ठाउँ र निर्वाचन कर्मचारीको सामान भण्डारण, पानी, बिजुली, शौचालय आदिको उचित प्रबन्ध भएकाले विद्यालयलाई मतदान स्थल बनाइएको हो’, उनले भनिन्, ‘यति मात्र होइन विद्यालयमा मतदानस्थल कायम गर्दा वास्तविक मतदाता चिन्न पनि सहज हुन्छ।’
सहायक प्रवक्ताका अनुसार काठमाडौंको हकमा ३२० मतदान स्थलमध्ये करिब ९० प्रतिशत विद्यालयमै राखिएका छन्। आफ्नो मतदान केन्द्रभन्दा बाहिर रहेका मतदाताका लागि यसपटक १४३ अस्थायी मतदान केन्द्र पनि कायम गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका कर्मचारी र जेलका थुनुवाका लागि यी अस्थायी मतदान केन्द्र कायम गरिएको हो।
फागनु २२ गते साँझसम्म मतदानस्थल सफा गरेर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने उनको भनाइ छ। ‘फागनु २३ देखि विद्यालय सञ्चालन हुन्छ’, उनले भनिन्, ‘यसका लागि सबै विद्यालय निर्वाचनस्थल सफा गरी पठनपाठनको वातावरण बनाइन्छ।’ आयोगका अनुसार कलेज, तथा सरकारी भवनलाई पनि निर्वाचनस्थल बनाइएको छ।
यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरिका १४३ अस्थायी मतदान केन्द्रबाट एक लाख ८६ हजार एक सय ४२ अस्थायी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए। उनका अनुसार अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र कानुनी व्यवस्थाअनुसार मतदान गर्न पाउने छन्।
‘अस्थायी मतदाताका रूपमा कारागारका कैदी/थुनुवा, सेना, प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मी र पदस्थ कर्मचारी जो आफ्नो स्थायी मतदान केन्द्र बाहिर हुनुहुन्छ उहाँहरूले अस्थायी केन्द्रबाट मतदान गर्न पाउनुहुन्छ’, सूचना अधिकारी घिमिरेले भने।
यसपटक ज्येष्ठ नागरिकका लागि सरकारको मान्यता प्राप्त वृद्धाश्रममा पनि मतदान केन्द्र व्यवस्था गरिएको छ। घिमिरेले भने, ‘उहाँहरूले त्यहींबाट समानुपातिकतर्फको मतदान गर्न पाउनु हुन्छ।’
नेपालका विभिन्न कारागारभित्र अस्थायी मतदान केन्द्र राखेर समानुपातिकतर्फको मतदान व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए। उनका अनुसार देशभरका २८ वटा कारागारमा थुनुवाका लागि मतदान गर्ने व्यवस्था छ। सूचना अधिकारी घिमिरेका अनुसार केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, पोखरा, विराटनगर, धनगढी, गौर, झुम्का, मोरङ, कास्की, बाँके, कैलाली शाखालगायतका कारागारमा अस्थायी मतदान केन्द्र छन्। ‘निर्वाचन कर्मचारी र सुरक्षा निगरानीको रोहबरमा कारागारमा रहेका तर अदालतबाट सजाय अन्तिम नभएको मतदान अधिकार नखोसेको बन्दीले मतदान गर्न पाउँछन्’, सूचना अधिकारी घिमिरेले भने, ‘अन्तिम फैसला भई सजाय भोगिरहेका कैदीले भने मतदान गर्न पाउने छैनन्।’
जेलभित्रका मतदाता पनि पहिचान र सूचीमा परेमा उनीहरूको मतदान अधिकार कानुनले नै सुरक्षित गरेको उनको भनाइ छ।
प्रकाशित: १९ फाल्गुन २०८२ १०:४४ मंगलबार





