मैवाखोला गाउँपालिकाले काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनसँग शैक्षिक गुणस्तर सुधारका लागि सम्झौता गरेको छ। सार्वजनिक शिक्षा सुधारमा ठूलो अपेक्षासहित अभियान चलाइरहेको मैवाखोला र काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनबीच पाँच बुँदे शैक्षिक सुधार सहकार्यका लागि सम्झौता भएको हो। पालिका अध्यक्ष विजयप्रकाश वनेम र विश्वविद्यालयका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइँटेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
पालिका अध्यक्ष वनेमका अनुसार सहकार्यका क्षेत्रमा सामुदायिक विद्यालयका प्रधानाध्यापकको क्षमता विकास, पाठ्यक्रममा आधारित विषय शिक्षकको पेशागत क्षमता विकास र गाउँ शिक्षा समिति, वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारी र सदस्यको संस्थागत क्षमता विकास छन्। सम्झौताअनुसार अब मैवाखोला गाउँपालिकाभित्र रहेका शैक्षिक अवसरको अनुसन्धान, पालिकाभित्रका जेहेन्दार विद्यार्थीलाई शैक्षिक अवसर सृजनाको पहिचानलगायतमा काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले सहकार्य गर्नेछ।
पालिका अध्यक्ष वनेमका अनुसार पालिकाको सार्वजनिक शिक्षा सुधारका लागि ठूलो चुनौती सामना गरेर र गर्न तयार भएर पनि गुणस्तरीय शिक्षा सुधारका आयामको खोजी भइरहेको छ। पालिकाले यसअघि वृहत शैक्षिक सम्मेलनमार्फत शिक्षा क्षेत्र सुधारका लागि सम्बन्धित पक्षले अवलम्बन गर्नुपर्ने तरिकाको खाका सार्वजनिक गरेको थियो। उक्त सम्मेलनमार्फत सार्वजनिक भएको घोषणाअनुसार पालिका र गाउँ शिक्षा समिति, वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र अभिभावकले पालना गर्नुपर्ने सर्त र प्रक्रिया उल्लेख थिए। उक्त घोषणाअनुसारको प्रगति र कार्यक्रम कार्यान्वयनको अवस्थाबारे गाउँ शिक्षा समितिले नियमित अनुगमन र पृष्ठपोषण लिइरहेको छ।
पालिकाको बुझाइ छ, सार्वजनिक शिक्षा सुधार नगरी समग्र शैक्षिक अवस्था शुद्ध हुँदैन। सोहीअनुसार पालिकाले काठमाडौं विश्वविद्यालयसँग गुणस्तरीय शिक्षण सिकाइ सुधारका लागि सहकार्य सम्झौता गरेको हो।
प्रकाशित: ११ आश्विन २०८२ ११:२० शनिबार





