शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार विद्यालय तहको शिक्षण सिकाइलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप ०७६ परिमार्जन गर्न अगाडि बढेको छ।
पाठ्यक्रम परिमार्जनकै क्रमममा हाल प्रा.डा. बालाचन्द्र लुइँटेलको संयोजकत्वमा गठन भएको पाठ्यक्रम परिमार्जन कार्यदलले १२ वटा विषयवस्तुमा आधारित रहेर परिमार्जन कार्य अगाडि बढाएको हो।
कार्यदलले सातै प्रदेशमा स्थलगत पुगेर विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समिति, पत्रकार, बुद्धिजीवी, स्थानीय सरकार तथा शिक्षाविद्लगायत सरोकारवालासँग छलफल अघि बढाएको छ। यही क्रममा काठमाडौं महानगरपालिकामा सरोकारवालासँगको छलफलमा पुगेकी विद्यार्थी सृष्टि थापाले हालको पाठ्यक्रम परीक्षामुखी र शैक्षिक प्रमाणपत्र मात्र लिन बनाइएको अनुभव सुनाइन्।
उनले विद्यार्थीको आवश्यकताअनुसार हालको पाठ्यक्रम नभएकाले जीवनको महत्त्वपूर्ण समयमा आफूले सिक्नैपर्ने सिकाइबाट वञ्चित हुनुपरेको महसुस भएको समेत अनुभव साटिन्। ‘प्रमाणपत्रमुखी होइन, रोजगारमूलक पाठ्यक्रम चाहिन्छ’, कक्षा १० मा अध्ययनरत सृष्टिले वास्तविकता बताइन्, ‘मैले शिशु कक्षादेखि ११ वर्ष विद्यालय शिक्षा अध्ययन गरें। अब एसइई दिन्छु। प्रमाणपत्र हातमा लिए पनि त्यसलाई व्यवहारमा प्रयोग गर्न नसक्ने अवस्था छ।’
उनले माग गरिन्, ‘अबको पाठ्यक्रम सैद्धान्तिक विषयवस्तुभन्दा पाठ्यक्रममै सिप र रोजगारीसँग जोड्ने हुनुपर्छ।’ १५ वर्षीया सृष्टि कन्यामन्दिर मावि क्ष्ोत्रपाटीकी छात्रा हुन्।
दरबार हाईस्कुलका १३ वर्षीय सम्पूर्णराज थापाले अबको पाठ्यक्रम विद्यार्थीलाई परीक्षाका लागि तयार गर्ने नभई जीवन र रोजगारीका लागि तयार गर्नुपर्ने समय आएको र त्यसका लागि कक्षाकोठामा पढाइने विषयवस्तुलाई व्यावहारिक अभ्याससँग जोड्नुपर्ने सुझाव दिए।
‘पाठ्यक्रमलाई समयको आवश्यकता, श्रम बजार र बदलिँदो प्रविधिसँग जोड्न सक्नुपर्छ’, सम्पूर्णले हालको पाठ्यक्रमबारे औंल्याए, ‘अहिलेको शिक्षा प्रणालीमा परीक्षा र प्रमाणपत्रलाई बढी प्राथमिकता दिइँदा व्यावहारिक ज्ञान तथा सिप विकास ओझेलमा परेको छ।’ उनले जोड दिए, ‘अबको पाठ्यक्रम स्वदेशमै शिक्षा र रोजगारसँग जोड्ने हुनुपर्छ।’ पछिल्लो समय कक्षा १२ पछि नै बिदेसिनेको जमात ठुलो छ।
श्रम बजारसँग जोडिनुपर्छ
पाठ्यक्रममा सूचना प्रविधि, उद्यमशीलता, व्यावसायिक तथा प्राविधिक शिक्षा, वित्तीय साक्षरता, सञ्चार सिप, समस्या समाधान, नेतृत्व विकास र जीवनोपयोगी सिपलाई प्राथमिकता दिनुपर्ने दरबार हाईस्कुलकै अर्का विद्यार्थी निखिल महतोको भनाइ छ।
कक्षा ९ का १५ वर्षी निखिलका अनुसार कुन क्षेत्रमा रोजगारीको सम्भावना बढिरहेको छ, निजी तथा सरकारी क्षेत्रलाई कस्तो जनशक्ति आवश्यक छ र भविष्यमा कुन–कुन सिपको माग बढ्न सक्छ भन्ने अध्ययन गरेर पाठ्यक्रम विकास गरिनुपर्छ।
कन्या मन्दिर माविकी कक्षा १० की छात्रा शमा तबुस्सुमले विद्यार्थीले पढ्ने विषयवस्तु र बजारको मागबिच प्रत्यक्ष सम्बन्ध भएकाले बजारको मागअनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम बन्नुपर्ने बताइन् ‘हामीले पढेको विषय र बजारमा आवश्यक पर्ने सिपबिच ठूलो अन्तर हुनु हुँदैन’, शमाको भनाइ छ, ‘पढाइ सकिएपछि रोजगारी खोज्न मात्र होइन, आफैं रोजगारी सिर्जना गर्न सक्ने क्षमता पनि विद्यार्थीमा विकास हुनुपर्छ।’
प्रमाणपत्रभन्दा क्षमता
सहभागी विद्यार्थीले पछिल्लो समय शिक्षा प्रणालीलाई रोजगारी, सिप र उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्। विश्वव्यापी रूपमा प्रविधि र रोजगारीको स्वरूप परिवर्तन भइरहेका बेला पुरानै ढाँचाको ज्ञानमा आधारित पाठ्यक्रमले विद्यार्थीलाई भविष्यको चुनौती सामना गर्न पर्याप्त नहुने उनीहरूको तर्क छ।
विद्यार्थीका अनुसार शिक्षा प्रणालीको सफलता कति विद्यार्थीले प्रमाणपत्र पाए भन्ने आधारमा मात्र होइन, उनीहरूले सिकेको ज्ञान र सिपलाई कति प्रभावकारी रूपमा प्रयोग गर्न सके भन्ने आधारमा मापन गरिनुपर्छ। ‘प्रमाणपत्र लिनु उपलब्धि हो’, कक्षा १० की सृष्टिले भनिन्, ‘तर प्रमाणपत्रसँगै सिप, दक्षता र आत्मनिर्भर बन्ने क्षमता दिनु शिक्षाको वास्तविक उपलब्धि हो।’
एआई तथा डिजिटल शिक्षा अनिवार्य
काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले अबको पाठ्यक्रमा कम्प्युटर शिक्षामा मात्र नपुग्ने भएकाले परिस्कृत रूपमा एआईबारे विषयवस्तु पनि समेट्नुपर्ने सुझाए। ‘अबका विद्यार्थीले कम्प्युटर जान्ने मात्र होइन, एआई प्रयोग गर्न, गलत सूचना छुट्याउन, साइबर सुरक्षा बुझ्न र प्रविधिको जिम्मेवार प्रयोग गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने लक्ष्य राख्ने पाठ्यक्रम बन्नुपर्छ’, प्रअ कँडेल भन्छन्, ‘कक्षा १–५ सम्म कम्प्युटर शिक्षा दिने र कक्षा ६–१२ सम्म एआईबारे ज्ञान आवश्यक देखियो।’
काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले २०७६ सालमा पाठ्यक्रम प्रारूप परिमार्जन भएयता प्रविधिमा धेरै परिवर्तन आइसकेको औंल्याए। ‘यसकारण प्रविधिको आधुनिकता र मौलिकता जोडेर पाठ्यक्रम व्यवस्थापन गरिनुपर्छ’, शिक्षा विभाग प्रमुख ढकालले सुझाए, ‘दुईदिने सरकारी बिदालाई समेत समेटेर पाठ्यक्रममा विषयवस्तु तय गरिनुपर्छ। नैतिक शिक्षालाई जोड्दै सरलीकरण पाठ्यक्रम बन्नुपर्छ।’
पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत कुमार घिमिरेले पाठ्यक्रमले जिम्मेवार एआईको प्रयोग गर्ने विषयवस्तु समेट्नुपर्ने सुझाए। ‘अबको विद्यालय शिक्षा ८० प्रतिशत प्राविधिक र २० प्रतिशत मात्र साधारण धारको हुनुपर्छ’, घिमिरेले भने, ‘स्थानीय पाठ्यक्रम गाइडलाइन पनि बन्नुपर्छ।’
पाठ्यक्रममा नैतिक तथा व्यावहारिक शिक्षा माग
अब बालबालिकालाई विद्यालयमा पढाएर मात्र नपुग्ने भएकाले घरमा परिवारलाई समेत काममा सहयोग गर्ने खालको विषयवस्तु समेटेर व्यावहारिक शिक्षामा जोड दिनुपर्ने सरोकारवालाको सुझाव छ।
विद्यार्थीले पाठ्यक्रममा सैद्धान्तिक विषयसँगै प्रयोगात्मक र परियोजनामा आधारित सिकाइ विस्तार गर्नुपर्ने बताएका छन्। स्थानीय स्रोत, प्रविधि र आवश्यकतासँग जोडेर विद्यार्थीलाई समस्या समाधान गर्न सिकाउनुपर्ने सुझाव काठमाडौं जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुरेशकुमार जोशीको छ।
विपद् तथा जलवायु परिवर्तन शिक्षा
पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषेत्तम घिमिरेका अनुसार देशमा पछिल्लो समय आएको विनाशकारी बाढीले नेपालको भौगोलिक जोखिमलाई ध्यानमा राखेर पाठ्यक्रममा विपद् तथा जलवायु परिवर्तन शिक्षा अनिवार्य गरिनुपर्ने सुझाए। ‘नेपालको भौगोलिक जोखिमलाई ध्यानमा राखेर बाढी, पहिरो, हिमताल विस्फोट, आगलागी तथा जलवायु परिवर्तनबारे व्यावहारिक शिक्षा दिने विषयवस्तु पाठ्यक्रमले समेट्ने छ’, निर्देशक घिमिरे भने, ‘विद्यालयमा प्राथमिक उपचार, सुरक्षित स्थान पहिचान र विपद् अभ्याससमेत पाठ्यक्रमको हिस्सा बनाउने विषयमा छलफल भइरहको छ।’
उनले थपे, ‘विभिन्न १२ वटा विषयगत क्षेत्रगत समूह गठन गरी परमार्जन कार्य अगाडि बढाइएको छ।’ उनले पाठ्यक्रम परिमार्जन दलले सातवटै प्रदेशका २८ जिल्लामा स्थलगत पुगेर भदौभित्र सरोकारवालासँग सुझाव तथा पृष्ठपोषण संकलन गर्ने काम गर्ने छ।
प्रकाशित: २६ भाद्र २०८३ १०:२५ शुक्रबार





