१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

चिकित्सा शिक्षा पढ्न विदेशी आएनन्

नेपालले मेडिकल शिक्षामा विदेशी विद्यार्थी भित्र्याउन नसक्दा विदेशी विद्यार्थीका लागि छुट्ट्याइएको कोटासमेत पूरा हुन सकेको छैन। तुलनात्मक रूपमा नेपालमा चिकित्सा शिक्षा सस्तो र गुणस्तरीय भए पनि सरकारी तयारी नहुँदा यसपटक पनि विदेशी विद्यार्थी अध्ययनका लागि आउन सकेनन्।

युक्रेनमा मात्रै बर्सेनि करिब २० हजार भारतीय विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि जाने गर्छन्। अहिले युक्रेनमा युद्ध भएका कारण ती विद्यार्थी नेपाल पनि आउन सक्ने सम्भावना रहे पनि कुनै तयारी नपुगेको चिकित्सा शिक्षा आयोगका उपसचिव दामोदर फुयाँलले बताए।

विदेशी विद्यार्थीले नेपालमा एमबिबिएस अध्ययन गर्न शुल्क र खानेबस्न गरी करिब १ करोड रूपैयाँ खर्च गर्नुपर्छ। यो अन्य देशको भन्दा निकै सस्तो हो। भारतमा नै भारतीय विद्यार्थीले एमबिबिएसका लागि १ करोडभन्दा बढी भारतीय रूपैयाँ खर्चिनुपर्छ। अन्य देशमा यो झनै महँगो छ।

चिकित्सा शिक्षा आयोगका उपसचिव दामोदर फुयाँलका अनुसार बर्सेनि आयोगले कलेजहरूको अनुगमन गर्ने, रिपोर्ट बुझाउने र सिट निर्धारण गर्ने झन्झटिलो प्रक्रियाका कारण पनि विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल अध्ययनका लागि भिœयाउन नसकिएको हो।

सरकारले एमबिबिएसतर्फ २१ कलेजमा कुल ५ सय ५६ सिट विदेशी विद्यार्थीका लागि छुट्ट्याएको छ। नेपालमा अमेरिका, भारत र श्रीलंकाबाट एमबिबिएस अध्ययनका लागि विद्यार्थी आउने गरे पनि यो संख्या जम्मा २ सय ३५ मात्र छ।

‘गत वर्षको भन्दा नेपालको एमबिबिएस शिक्षातर्फ विदेशी विद्यार्थीको आकर्षण बढेको देखिन्छ। गत वर्ष ८० मात्र भर्ना भएका थिए भने यसपटक २ सय ३५ भर्ना भएका छन्,’ उपसचिव फुयाँलले भने, ‘यो संख्या गत वर्षको भन्दा केही भए पनि सन्तोषजनक होइन। यसपटक भारतबाट आउन सक्ने ठुलो सख्याका एमबिबिएसका विद्यार्थी गुमायौं। यो दुःखद विषय बन्यो।’

उनका अनुसार बर्सेनि आयोगले कलेजहरूको अनुगमन गर्ने, रिपोर्ट बुझाउने र सिट निर्धारण गर्ने झन्झटिलो प्रक्रियाका कारण पनि विदेशी विद्यार्थी नेपालमा मेडिकल अध्ययनका लागि भिœयाउन नसकिएको हो।

‘एकातिर विदेशी विद्यार्थीको ३२१ सिट खाली रह्यो भने अर्कातर्फ भारतसँग हाम्रो शैक्षिक सत्र मेल खाने बनाउन नसकेका कारण धेरै विद्यार्थी बंगलादेश र अन्य देशतर्फ लागे,’ उनले भने, ‘किनभने चैतमा प्रवेश परीक्षा सम्पन्न भएको र चैतमै नतिजा प्रकाशन भएकामध्ये पास हुने विद्यार्थीको भर्ना तीन महिनामा अर्थात् असारमा हुँदैछ। शुक्रबार भर्नाको अन्तिम दिन हो। भारतको तुलनामा यो सेसन अलि ढिला हो।’

विराटनगरमा रहेको विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार भारतबाट यसपटक धेरै विद्यार्थी एमबिबिएस अध्ययनका लागि नेपाल आउन चाहे पनि भारत र नेपालको समय तालिका नमिलेकै कारण नेपालले धेरैभन्दा धेरै भारतीय विद्यार्थी नेपाल आउन सकेनन्। उनका अनुसार उनको कलेजमा ३३ विदेशी विद्यार्थीको सिट रहेकोमा १२ मात्र भर्ना भएका छन्।

‘युक्रेन जाने २० हजारमध्ये एक हजार पनि विद्यार्थी नेपालमा भित्र्याउन सकेको भए हामी कहाँ एक हजार करोड रुपियाँ भित्रिन्थ्यो। आजा अष्ट्रेलिया, जापान, बेलायतलगायतका विकसित देशहरूको आर्थिक आम्दानीको आधारनै शिक्षा हा। विदेशी विद्यार्थी भित्राएर यी देशहरू आर्थिक सक्षम भएका हुन्,’ सञ्चालक कार्कीले भने, ‘नेपालको एमबिबिएस सस्तो र गुणस्तरीय भएकोले भारतीय विद्यार्थी अध्ययन गर्न आउन ललायित छन्। तर आयोगले फारम खोल्ने, परीक्षा सञ्चालनदेखि भर्नासम्मको प्रक्रिया ढिला गर्‍यो। भारतमा बर्सेनि १० लाख विद्यार्थी मेडिकल प्रवेश परीक्षामा पास हुन्छन्। तर एक लाख ४३ हजारले मात्र पढ्न पाउँछन्।’ राज्यले वातावरण बनाउने हो भने बर्सेनि भारतबाट २ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्न आउन सक्ने उनको भनाइ छ।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले अझै पनि नेपालमा मेडिकलतर्फ १६ विद्या पढाइ हुने भए पनि विदेशबाट एमबिबिएस मात्र अध्ययन गर्ने आउने विद्यार्थी रहेको स्पष्ट पारे। ‘एकाध बिडिएस र बिफार्ममा आउँछन् तर बाँकी रहेका १३ विषयमा विद्यार्थी भर्ना हुँदैनन्। नेपालका २१ कलेजमा कुल सिट २ हजार ५ सय तोकिएको छ। तर एमबिबिएस बाहेक विदेशी विद्यार्थी नै भर्ना हुँदैनन्,’ उपाध्यक्ष गिरिले भने, ‘जबकि सरकारी कलेजका सबै सिट भरिन्छ। निजी बर्सेनि खालि हुन्छ। यसको अर्थ अब निजी कलेजहरूले आ–आफनो कलेजको गुणस्तर कायम गर्नतर्फ जोड दिनुपर्ने देखियो।’ कोरोनाका कारण २०७६ सालमा विद्यार्थी भर्ना गर्न नसकिएर सेसन नै क्षति भएको थियो। यो क्षतिपूर्ति गर्न आयोगले दुईतीन महिना ओभरल्याप गरेर प्रवेश परीक्षा लिने तयारी गरेको छ। यसले तीन वर्षभित्र क्षतिपूर्ति हुन्छ।’

प्रकाशित: १७ असार २०७९ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App