१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

जमलमा साततले राष्ट्रिय पुस्तकालय बन्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको नेपाल राष्ट्रिय पुस्तकालय निर्माण हुने भएको छ। पुस्तकालय भवन निर्माणका लागि पुस्तकालयले सोमबार टेन्डर खुलाइएको छ।

ललितपुरस्थित हरिहर भवनमा रहेको पुस्तकालयको २०७२ सालको महाभूकम्पमा भत्किएर अस्तव्यस्त बनेको थियो। सुरक्षित स्थान अभावका कारण पुस्तकालय र महत्वपूर्ण पुस्तक, पत्रिका तथा दस्तावेजहरूको बिजोग बनेको थियो।

नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापनका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले जमलमा रहेको त्रिभुवन विश्वविद्यालयको ८ रोपनी जग्गा राष्ट्रिय पुस्तकालयलाई हस्तानान्तरण गरेसँगै विवाद सुरु भएको थियो। त्रिविले आफ्नो जग्गामा व्यापारिक योजनासहितको सपिङ कम्प्लेक्स बनाउने तयारी गरेको थियो भने अर्को तर्फ पुनर्निर्माण प्राधिकरणले रानीपोखरी विस्तार गर्न त्रिचन्द्र कलेज र पुस्तकालय दुवै जमलमै सार्ने निर्णय गरेको थियो।

तर मन्त्रिपरिषद्ले जमलको सरकारी जग्गामा (पहिले त्यहाँ त्रिविअन्तर्गत जनप्रशासन कलेज थियो) पुस्तकालय नै बनाउने निर्णय गरी पुस्तकालयको नाममा जग्गा नै पास गरेपछि व्यापारीहरूको कम्प्लेक्स बनाउने दाउ रोकियो।

हाल पुस्तकालय भक्तपुर सानोठिमीमा रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रपरिसरमा सञ्चालित रहेको पुस्तकालय प्रमुख दशरथ मिश्रले जनाए। उनले अब सरकारले नै जमलको जग्गा पुस्तकालयको नाममा कानुनी रूपमै हस्तानान्तरण गरेसँगै विवाद खतम भएको दाबी गरे। उनले हाल सरकारले साततले आधुनिक भवनका लागि ७४ करोड लागत अनुमान गरेको जनाए।

२०१३ सालमा ढोकाटोलका राणाकालीन माइला गुरु हेमराज पाण्डेले आफ्नो घरमै खोलेको पुस्तकालय सरकारले २०१७ सालमा खरिद गरी हरिहर भवनमा सारेको थियो। राष्ट्रिय पुस्तकालयको रूपमा यही वर्ष खुलेको प्रमुख मिश्रले जनाए। त्यतिखेर कुल संग्रह ३४ हजार २ सय ९२ पुस्तक र पत्रिका थिए। त्यतिखेर यो पुस्तकालयलाई एसियाकै ठुलो पुस्तकालयको रूपमा मानिएको थियो। ‘साततले अत्याधुनिक नेपाल राष्ट्रिय पुस्तकालयका लगि सरकारले नक्सा तयार पारी महानगरपालिकामा पास गराउन प्रक्रिया अघि बढाएको छ,’ प्रमुख मिश्रले भने, ‘दुई वर्षभित्र सात तले पुस्तकालय भवन तयार गर्ने सरकारी नीति तथा कार्यक्रम छ।’ उनले थपे, ‘सरकारले पुस्तालयको नाममा पास गरेको जग्गामा पुस्तकालय बन्छ। आइटी फ्रेन्डली पुस्तकालय भवन बनाउने सरकारी तयारी छ।’

भूकम्पछि हरिहर भवनमा बोरामा कोचेर पुस्तकहरू राखिएको थियो। वर्षामा धेरै पुस्तकहरू भिजेर बिग्रने अवस्थामा समेत पुगेको छ भने कतिपय पुस्तक च्यातिएका पनि छन्। पुस्तकालय प्रमुख मिश्र आएपछि भक्तपुरमा सबै बोराबाट किताब झिकेर र्‍याकमा मिलाउने काम भएको छ। ‘किताब बिग्रन नदिन मैले बोराबाट सबै झिकेर र्‍याकमा राख्नेसम्मको काम गरेको छु,’ प्रमुख मिश्रले नागरिकसँग भने, ‘पुस्तकालयमा अति महत्वपूर्ण किताब छन्। यसलाई संरक्षण गर्न छिट्टै आफ्नो भवन बन्नुपर्छ। अहिले हामीले किताबको विषयगत वर्गीकण गर्ने काम सुरु गरेका छौं।’

प्रकाशित: १४ माघ २०७८ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App