४ वैशाख २०८१ मंगलबार
शिक्षा

नयाँ सोचका लागि अस्ट्रेलिया

नयाँ सोच र विश्वव्यापी अस्तित्व कायम गर्न नेपाली विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने गरेको पाइएको छ।

आफ्नो ‘करिअर’ बनाउन राम्रो विषयको खोजीमा नेपाली विद्यार्थीहरूले वैदेशिक शिक्षामा जोड दिएको देखिन्छ। कक्षा १२ पास हुनसाथ विद्यार्थीहरू स्वदेशमा अलमल गरी समय खेर फाल्न चाहँदैनन्। उनीहरू उज्जवल भविष्यको खोजीमा विदेशी शिक्षामा नै जोड दिएको विद्यार्थीहरू बताउँछन्।

केहि वर्ष यता नेपाली विद्यार्थीहरूको पहिलो रोजाइ नै अस्ट्रेलिया बन्दै गएको छ। आर्थिक वर्ष ०७७/०७८ को मंसिर मसान्तभित्र कुल १ सय ३ देशका लागि २७ हजार ९ सय ७८ विद्यार्थीले शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाबाट एनओसी लिएका छन्। जसमध्ये अस्ट्रेलियाका लागि ४ हजार ८ सय ४९ जनाले एनओसी लिएको शिक्षा मन्त्रालय उच्च शिक्षा शाखाका उपसचिव नारायण पोखरेलले जनाए।

पोखरेलका अनुसार २०७४ वैशाख २ गतेदेखि २०७५ माघ २९ गतेसम्मको तथ्यांक हेर्दा कुल ७७ देशका लागि १ लाख १२ हजार ९ सय ५९ विद्यार्थीले एनओसी लिएका छन्। सोही अवधिमा अस्ट्रेलियाको लागि एनओसी लिने विद्यार्थीको संख्या ६५ हजार ४ सय ८७ पुगेको थियो। सबैभन्दा बढी यो वर्ष विद्यार्थी अस्ट्रेलियाको लागि एनओसी लिएका थिए।

उनले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०१५ जनवरीदेखि २०२१ सेपटेम्बर अर्थात् ६ वर्षभित्र अस्ट्रेलिया जान एनओसी लिने विद्यार्थीको संख्या एक लाख २६ हजार ८ सय २१ जना रहेको छ।

अस्ट्रेलिया रोजाइ

मन्त्रालयमा एनओसी लिन आएकी जानुका  मानन्धरले यसै वर्ष बिएससी नर्सिङ पूरा गरेकी छिन्। उनी स्नातकोत्तर तहमा नर्सिङ अध्ययनको लागि अस्ट्रेलिया जाने तयारीमा छिन्। अस्ट्रेलियाको एक विश्वविद्यालयमा २५ प्रतिशत छात्रावृत्ति समेत पाएकाले अध्ययन सहज बन्ने उनको विश्वास छ।

‘अस्ट्रेलियामा प्राप्त गरेको शैक्षिक डिग्री विश्वबजारमै बिक्ने र पढाइसाथै पार्ट टाइम (आंशिक समय) कामलाई पनि निरन्तरता दिने व्यवस्थाले म अस्ट्रेलियातिर आकर्षित भएकी हुँ,’ जानुकाले भनिन्, ‘नेपालमा एक त कोरोना संक्रमणमा विद्यार्थीको लागि कुनै सहुलियत छैन। साथै विश्वविद्यालयमा हुने शैक्षिक हड्तालले समस्या भयो।

अर्कोतर्फ अध्ययनपछि अवसर नै नहुने भएकाले हामी दिक्क बनेका छौं।’ विदेशमा जस्तोसुकै काम गरे पनि नेपालमा परिवारको समेत सामाजिक प्रतिष्ठा कायम हुने र आफ्नो जीवन पनि राम्रो हुने उनको बुझाइ छ।

समयमा कोर्ष पूरा नहुनु र उल्टै अभिभावकमाथि आर्थिक बोझ थपिँदा आफू विदेशीने तयारीमा रहेको अर्का विद्यार्थी विवेक गुप्ताले बताए। उनले अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयमा छात्रावृत्ति पाएर अध्ययनको लागि जाने तयारीमा रहेको बताए। ‘अस्ट्रेलियामा स्नातकोत्तर गरेपछि २ वर्ष आफ्नो क्षेत्रमा काम गर्न अष्ट्रेलियन सरकारले नै २ वर्षका लागि वर्क परमिट दिने व्यवस्था गरेको छ,’ विवेकले भने, ‘अस्ट्रेलियामा पढेपछि नयाँ सोच हासिल हुने र प्राप्त गरेको शैक्षिक प्रमाणपत्र विश्वबजारमा स्थापित गराउन सक्ने भएकोले उत्साहित भएको हुँ।’

मन्त्रालयका उपसचिव पोखरेलका अनुसार अस्ट्रेलिया अंग्रेजी माध्यमबाट पढाइने र पढाइपछि विद्यार्थीले सम्बन्धित क्षेत्रमा काम गर्न अनुमति पाइने व्यवस्था भएकोले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

उनले यस वर्ष अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूले विशेष गरी नर्सिङ, एकाउन्टिङ, होटेल म्यानेटमेन्ट, हेल्थ साइन्स, बिजनेस, अंग्रेजी भाषा, आइटी, प्रोफेसनल एकाउन्टिङ, कमर्स, बिजनेश म्यानेजमेन्ट, बायोमेडिकल, इन्जिनियरिङलगायतका विषयमा नो अबजेक्सन लेटर लिने गरेको जनाए।

विदेशी शिक्षामा विद्यार्थीलाई परामर्श दिँदै आएका ग्लोबल रिच शैक्षिक परामर्शका प्रमुख नारायण बजाजले अमेरिकाले भिसामा गरेको कडाइका कारण पनि अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीको लागि शैक्षिक गन्तब्य बन्दै गएको बताए।

हब इन्टरनेशनल एजुकेसनका प्रमुख उद्धब खड्काका अनुसार अमेरिका र क्यानाडाले भिसामा गरेको कडाइ र अस्ट्रेलियाको सहज भिसा उपलब्धताका कारण विद्यार्थीहरू अस्ट्रेलियातिर तानिँदै गएका हुन्। अन्य देशमा जस्तो अस्ट्रेलियामा विद्यार्थीले भिसाको लागि तनाव लिनुपर्ने अवस्था नभएको उनले बताए। उनका अनुसार अष्ट्रेलियन सरकारले तोकेको मापदण्डअनुसार कागजात सही छ भने भिसा सहजै लाग्छ।

विद्यार्थीको भिसा रेट अष्ट्रेलियमा उच्च भएकै कारण पनि धेरै नेपाली विद्यार्थी अस्ट्रेलिया जाने गरेको खड्का बताउँछन्। ‘विद्यार्थीको पढाइ पूरा भएपछि दुई वर्षको पोष्ट वर्क परमिटको व्यवस्थाले विद्यार्थीले आफूलाई विश्वव्यापी रूपमै स्थापित गर्ने अवसर पाउँछन्,’ खड्का भन्छन्, ‘सहज रूपमा पिआर पाउने र डिपेन्डेन्डमा समेत जान पाइने भएकाले अष्ट्रेलिय शैक्षिक गनतब्य बन्दै गएको हो।’

अस्ट्रेलियामा धेरै नेपालीहरूको बसोबास रहेको र उता गए आफन्तसँगै बसेर पनि अध्ययन गर्न पाउने भएकोले पनि नेपाली विद्यार्थीको शैक्षिक गनतब्य अस्ट्रेलिया बन्दै गएको ग्लोबल रिचका निर्देशक बजाजको भनाइ छ। ‘विद्यार्थीको शैक्षिक प्रमाणपत्र सही छ र उसको आर्थिक हैसियत बलियो छ भने त्यो विद्यार्थीले अस्ट्रेलियाको लागि भिसा सहजै पाउँछ,’ उनले भने, ‘अन्य देशभन्दा विद्यार्थीको लागि सुरक्षित स्थान र शुलभ शुल्कले पनि अस्ट्रेलिया विद्यार्थीको आकर्षण बन्दै गएको हो।’

प्रकाशित: ३० पुस २०७८ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App