१५ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

होमवर्क नगरेको भन्दै १५० पटक उठबस गराउँदा छात्रा बिरामी

शिक्षिकालाई कारबाही गर्न अभिभावक संघको माग

विजयपुर हस्पिटलमा उपचारमा रहँदा घाइते छोरी र आमा। तस्बिर सौजन्य: विकास चाम्लिङ राई

होमवर्क नगरेको निहुँमा धरान १५ स्थित नवज्योति स्कुलका शिक्षिकाले १ सय ५० पटक उठबस गराएर यातना दिँदा एक विद्यार्थी बिरामी भएकी छिन्।

शिक्षिकाले धरान ५ देउराली घर भएकी कक्षा ४ की ११ वर्षीया छात्राले डेढ सय पटक उठबस गराउँदा बिरामी भएकी हुन्। उनलाई सुरुमा विजयपुर हस्पिटल र पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि भर्ना गरिएको थियो। शनिबार बिहान डिस्चार्ज गरिएको बुबा सनम चौधरीले बताए। ‘होमवर्क गरेन भनेर डेढ सय पटक उठबस गराएको रहेछ, त्यसले नशा जाम भएर हिँड्न नसक्ने भइन्, ज्वरो पनि आयो,’ उनले भने, ‘हिजो शुक्रबार विजयपुर हस्पिटलमा लग्यौ, त्यहाँबाट राती वीपी हस्पिटलमा रिफर भयो। अहिले सुधार भएर डिस्चार्ज भएको छ।’  

घटना मंगलबारको भएको पीडित विद्यार्थीले बताएकी छिन्। नेपाली बिषयको होमवर्क नगरेको भन्दै पहिलो कक्षामा नै सुरक्षा नाम गरेकी क्लास टिचरले २ सय पटक उठबस गर्न लगाएको घाइते छात्राले बताइन्। ‘१५० पटक उठबस गरिसकेको थिएँ, सास फेर्न अफ्ठेरो भएपछि मिसले रोकेर बस्न लगाउनुभयो,’ उनले भनिन्,‘त्यसपछि खुट्टा दुख्न थाल्यो। सबै क्लास लिएर कोचिङ पनि सकेर मात्र बेलुकी ६ बजे घर पुगे।’

उनले घर पुगेपछि आमालाई मिसले होमवर्क नगर्दा उठबस गराएको र खुट्टा दुखेको जानकारी दिएकी थिइन्। भोलिपल्ट हिँड्नै नसक्ने गरि खुट्टा दुःखेपछि स्कुल नपठाएको आमा निरु चौधरीले बताइन्। ‘बिहीबार बिहानदेखि नै ज्वरो आयो, सास फेर्न गाह्रो भयो, खुट्टा झन साह्रो दुखेर हिँड्न सकिनन्,’ आमा निरुले भनिन्,‘त्यसपछि शुक्रबार बिहान विजयपुर हस्पिटल लग्यौं ’  

छोरी बिरामी भएपछि स्कुलमा पुगेर प्रिन्सिपललाई कम्प्लेन गरेको र उठबस गराउने टिचरलाई कारबाही गर्न माग गरेको बुबा सनमले बताए। प्रिन्सिपलले उपचार गरेर बिल ल्याउनु भनेर पठाएको उनको भनाइ छ। उठबस गराउने शिक्षिकाले सरी भन्दै माफी मागेपनि आफूले कारबाही गर्नुपर्छ भनेको उनले बताए।

‘मलाई सरी भन्दै थियो तर कारबाही हुनुपर्छ भनेको छुँ,’ उनले भने,‘बच्चालाई डेढ सय पटक उठबस गराउने हो भने तपाई ३ सय पटक गर्नुस् त, सक्नुहुन्छ? भने।’ बिरामी छोरीलाई भेट्न र स्वास्थ्य अवस्था बुझ्न स्कुलबाट कोही पनि नआएको उनको गुनासो छ।  

यसैबीच, अभिभावक संघ नेपाल धरान उपमहानगर कमिटीले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अध्यक्ष विकास भाटी र सचिव विनोद तिम्सिनाले विज्ञप्ती जारी गर्दै गृहकार्य नगरेको वहानामा उठबस गराएर यातना दिँदा हिँड्डुल गर्न नसक्ने अवस्थामा विद्यार्थी पुगेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

समाजमा शिक्षकको स्थान सम्मानजक भएपछि यस्ता अवाञ्छित गतिविधि गरेर शिक्षण पेशा वदनाम गराउने र बालिकालाई यातना दिने जो कोहीलाई विद्यालय प्रशासन, शिक्षा महाशाखाले कानुन अनुसार कारबाही गर्न पनि अभिभावक संघले माग गरेको छ। साथै, पीडित बालिकाको उपचारमा ध्यान दिँदै यस्तो यातनाबाट पर्ने मानसिक असरलाई ध्यान दिँदै उचित क्षतिपूर्ति पनि उपलब्ध गराउन संघले माग गरेको छ।

प्रकाशित: १७ पुस २०७८ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App