coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

केयूले मेडिकल तर्फको परीक्षाको मापदण्ड समीक्षा गर्ने

काठमाडौँ विश्वविद्यालय(केयू) ले मेडिकल तर्फको परीक्षाको मापदण्ड समीक्षा गर्ने भएको छ।  

सो परीक्षाको मापदण्ड अव्यवहारिक भएकाले विद्यार्थीको मानसिक र आर्थिक तनाव बढेको भन्दै गएको भन्दै विश्वविद्यालयले परीक्षाको मापदण्डको समीक्षा गर्ने तयारी गरेको छ।

एमबिबिएस, बिडिएस, बिएसस्सी नर्सिङ्ग र ब्याचलर इन फिजियोथेरापी विषयको परीक्षा मापदण्डकै कारण विद्यार्थीहरुले मानसिक तनाव झेलिरहेको गुनासो विश्वविद्यालयमा पुगेपछि सो विषयबारे विज्ञहरुसँग छलफल अघि बढाएको उपकुलपति प्राडा भोला थापाले बताए।

हालको परीक्षाले तय गरेको मापदण्डअनुसार विद्यार्थीहरु निकै मर्कामा परेको मेडिकलका विद्यार्थीको गुनासो छ। ‘दोस्रो वर्षमा एउटा विषयमा मात्र पनि फेल भएमा हामी ६ महिना पछि पारिन्छौं। परीक्षा सकिएको तीन महिनापछि नतिजा प्रकाशित हुन्छ। यदि फेल भएमा त्यसको एक महिनापछि मौका परीक्षा पनि दिन पाइन्छ। तेस्रो वर्षको कक्षा पनि अनिवार्य पढ्नु पर्छ,’ एमबिबिएसका एक विद्यार्थीले नागरिकसँग गुनासो गरे, ‘मौका परीक्षा पास भए पनि हामी अघि बढ्न पाउँदैनौं। सजायस्वरुप ६ महिना पछि नै पारिन्छ।’ ती विद्यार्थी थप्छन्, ‘मौका परीक्षामा पास भएपछि तेस्रो वर्षको पढाइपछि परीक्षा दिन पाउनुपर्छ।’

यति मात्र होइन ती विद्यार्थीका अनुसार तेस्रो वर्षमा सैद्धान्तिक वा व्यवहारिक दुबैमध्ये कुनै एक विषयमा फेल भएका विद्यार्थीले अन्तिममा दुबै विषयको परीक्षा दिनु पर्ने बाध्यतात्मक व्यवस्थाले विद्यार्थीलाई थप मानसिक र आर्थिक तनाव दिएको छ। ६ महिनापछि पर्दा हिनताबोध हुने विद्यार्थीहरुको गुनासो छ।

उपकुलपति थापाले भने, ‘पढ्ने डाक्टरहरु नै मानसिक तनावमा भए उत्पादित जनशक्ति कसरी राम्रो हुन्छ?’ उपकुलपति थापाको भनाइ छ, ‘त्यही भएर विगतमा बनाइएका परीक्षाका मापदण्डहरुको समीक्षा गर्नेबारे विज्ञहरुसँग छलफल भइरहेको छ। अप्ठ्याराहरु समाधान गर्दै अघि बढ्ने विश्वविद्यालयको तयारी छ।’

उपकुलपति थापा थप्छन्, ‘अन्य प्रतिष्ठान र विश्वविद्यालयहरुसँग पनि एकरुपता कायम गर्ने हाम्रो तयारी छ। फेल गर्दैमा शैक्षिक गुणस्तर राम्रो हुने होइन। हाम्रो उद्देश्य राम्रो र स्तरीय डाक्टर उत्पादन गर्ने हो। विद्यार्थीलाई मानसिक तनाव दिने होइन।’

विश्वविद्यालयका म्यानेजर दिपक दहालका अनुसार हाल सो विश्वविद्यालयबाट वर्षेनी एमबिबिएसतर्फ एक हजार, बिडिएसतर्फ ३ सय बढी, बिएसस्सी नर्सिङ्गतर्फ चार सय र ब्याचलर इन फिजियो थेरापीतर्फ एक सय ५० विद्यार्थी उत्पादन हुन्छन्।  

म्यानेजर दहालले नागरिकसँग भने, ‘विद्यार्थीलाई मौकाहरु दिनेबारे छलफल भइरहेको छ।’ उनी थप्छन्, ‘साढे पाँच वर्षको मेडिकलको कोर्षलाई थप व्यवस्थित बनाउनतर्फ विश्वविद्यालयले तयारी थालेको छ।’

प्रकाशित: २ मंसिर २०७८ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App