७ वैशाख २०८१ शुक्रबार
शिक्षा

धरानमा तिहारपछि विद्यालय खोल्ने निर्णय

निजी विद्यालयको बार्षिक र मासिक शुल्क पनि निर्धारण

धरान उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले तिहारपछि मात्र विद्यालय खोल्ने निर्णय गरेको छ। सरोकारवाला पक्षहरुसँग राय सुझाव लिएर मेयर तिलक राईले असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी गरेका थिए।

सोही निर्णयको लागि बिहीबारको कार्यपालिका बैठकमा एजेण्डा प्रस्तुत गरिएको थियो। तर, अधिकांश वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु तत्काल विद्यालय खोल्ने प्रस्तावको विपक्षमा उभिएपछि बैठकले दशैं तिहारको बिदा पछिमात्र विद्यालय सञ्चालनको निर्णय गरेको हो। ‘सबैतिरबाट स्कुल खोल्नुपर्छ भन्ने सुझाव आएको थियो, तर वडा अध्यक्षहरुले दशैं तिहारको बीचमा महामारीको संक्रमणले बालबालिकालाई असर पर्छ, पछिमात्र खोलौं भनेर तर्कवितर्क भयो,’ नगर कार्यपालिका प्रवक्ता एवं वडा नं.२० का अध्यक्ष मणिराम राईले भने, ‘बैठकले दशैं तिहार पछिमात्र खोल्ने निर्णय गर्यो ।’

प्रवक्ता राईका अनुसार विद्यालय खोल्नेबारे अभिभावकहरु भने सकारात्मक छन्। तर, विद्यार्थीहरुमा संक्रमण भइदिएमा जिम्मेवारी को हुने भन्ने अहम प्रश्न रहेको र चाडपर्व पनि आइहालेको कारण पछि नै खोल्ने निर्णय गरिएको उनले बताए। ‘१०, १२ दिन स्कुल खोलेर फेरि चाडपर्व आएपछि बन्द भइहाल्छ, त्यसैले चाडपर्व मनाएर नै खोलौं भन्ने भयो,’ उनले भने।

मन्त्रालयले पनि विद्यालय खोलिहाल्ने बेला नभएको भन्दै विज्ञप्ति जारी गरेको थियो भने बालबालिकालाई कोभिडविरुद्धको खोप पनि लगाउन बाँकी रहेकोले विद्यालय दशैं तिहारपछि नै खोल्ने निर्णय कार्यपालिका बैठकले गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए। उनका अनुसार अझै पनि संक्रमण दर शून्यमा नझरेको र मृत्यु हुने क्रम पनि पुर्णरुपमा नरोकिएको लगायत पक्षलाई पनि मध्यनजर गरेको निर्णय भएको हो। ‘खोल्ने कि भन्ने प्रस्तावमा व्यापाक छलफल गरेर कार्यपालिका बैठकले दशैं तिहारको बिदापछि नै खोल्नेबारे निर्णय गरेको हो,’ उनले भने।  

धरानमा असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी थियो। यसको लागि उपमहानगरपालिकाले सामुदायिक विद्यालयका प्रअहरुसँग छलफल गरिसकेको थियो भने निजी तथा संस्थागत विद्यालयहरुले पनि पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय खोल्न उपमहानगरलाई सुझाव दिइसकेको थियो। यस्तै, विद्यार्थी संगठनहरुले पनि स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय खोल्न माग गरेको थियो। उपमहानगरपालिकाले पनि अनलाइन कक्षा प्रभावकारी नभएको कारण उल्लेख गर्दै विद्यालय खोल्नेबारे सबै पक्षसँग राय, सुझाव संकलन गरेको थियो।  

निजी विद्यालयको बार्षिक र मासिक शुल्क पनि निर्धारण

धरानको कार्यपालिका बैठकले निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक र मासिक शुल्क पनि निर्धारण गरेको छ। गत वर्ष बार्षिक शुल्क अधिकतम ७ हजारमा सीमित गरिएको थियो। यो वर्ष भने अधिकतम १४ हजारसम्म पुर्याइएको छ।  

उपमहानगरका अनुसार शुल्कबारे विद्यालय सञ्चालक, संस्थापक तथा अभिभावकहरुको बीचमा आपसी सहमति तथा समझदारीलाई पहिलो प्राथमिकता दिइएको छ। त्यसरी सहमति वा समझदारी हुन नसकेमा मात्र उपमहानगरले गरेको निर्णयअनुसार हुनेछ। कार्यपालिका बैठकले गत वर्षको वार्षिक शुल्कमा ५ हजारसम्म कायम भएको विद्यालयहरुले शतप्रतिशत बार्षिक शुल्क लिन पाउने निर्णय गरेको छ। यसमा गत वर्ष जति शुल्क कायम भएको हो, सोही बराबरमात्र लिन पाउने उपमहानगरले जनाएको छ। यस्तै, ५ हजारभन्दा माथि १० हजारसम्म वार्षिक शुल्क लिने विद्यालयहरुले यो वर्ष अधिकतम् ८० प्रतिशतसम्म लिन पाउनेछन्। प्रतिशतबाट गणना गर्दा ५ हजाभन्दा घटी भएमा न्यूनत्तम ५ हजार लिन पाउने निर्णय कार्यपालिकाले गरेको छ।

यसैगरि, १० हजार भन्दामाथि २० हजारसम्म शुल्क लिएका विद्यालयहरुले ६० प्रतिशतमात्र खुल्न लिन पाउनेछन् भने २० हजारदेखि मािथ जतिसुकै भएपनि ती विद्यालयहरुले अधिकतम् १४ हजारमा नबढ्ने गरी वार्षिक शुल्क लिन पाउने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ।्

अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरुले अनलाइन कक्षामा सहभागी भएका विद्यार्थीहरुबाट मासिक शुल्क ७० प्रतिशत लिन पाउने निर्णय कार्यपालिका बैठकले गरेको छ। गत वर्ष भने ५० प्रतिशतमात्र लिन पाउने निर्णय गरिएको थियो।

प्रकाशित: ३१ भाद्र २०७८ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App