२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

शिक्षा पत्रकार प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

पत्रकार प्रकृति अधिकारीद्धारा  लेखिएको ‘राणाकालीन शिक्षा’ पुस्तक बुधबार सार्वजनिक भएको छ।अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो।

शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।

राणाकालको १०४ वर्षको अवधिमा झाङ्गिएको शिक्षाको विकासक्रमका बारेमा खोजमूलक तथा ऐतिहासिक सामग्रीसहितको यस पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएको अधिकारीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस पुस्तकमा हालसम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएका छन् र यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीको विश्वास छ। लेखक अधिकारी विगत २५ वर्षदेखि शिक्षा पत्रकारिता गर्दै आएका छन्। उनी इतिहासका पनि रुचिकार हुन्। यसअघि उनको ‘एसएलसीको इतिहास’ नामक पुस्तक २०७४ सालमा प्रकाशन भएको थियो।

पुस्तक इडियु सञ्जालले प्रकाशन गरेको छ। १५ अध्यायमा विभाजित यो पुस्तकमा निरङ्कुश शासकले शिक्षालाई कसरी भित्र्याए र उच्च शिक्षासम्म जनताको पहुँचमा किन र कसरी पुर्‍याए भन्ने बेलीबिस्तार गरिएको छ।

पुस्तकमा दरबार हाइस्कुलका शिक्षक र उनको खान्की, भाषा पाठशाला स्थापना भएका स्थान र नियुक्त शिक्षकहरूको फेहरिस्त, एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रकको नियुक्ति, एसएलसी परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेकी पहिलो छात्रा, पाठ्यपुस्तकसम्बन्धी गरिएको व्यवस्था, चन्द्र शमशेरको निधनपछि उनको दराजबाट झिकिएको लिखत आदिका बारेमा उल्लेख गरिएको पाइन्छ। पुस्तकमा ४४४ पृष्ठ छ। पातलो गाताको मूल्य रु. ५५० र मोटो गाताको मूल्य रु. ८५० रहेको छ।  

प्रकाशित: २४ भाद्र २०७८ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App