१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

आन्दोलित विद्यार्थीद्वारा क्याम्पसमा तालाबन्दी

आन्दोलनरत विद्यार्थी । तस्बिर : भीम/नागरिक

सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी इन हर्टिकल्चरका आन्दोलनरत विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पसले आफूहरूको भविष्य अन्योल बनाएको भन्दै महिनौयता आन्दोलनरत उनीहरूले सोमबार क्याम्पस प्रमुख, सहायक प्रमुख र विभागीय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।  

पटक–पटकको आन्दोलनमा पनि आफूहरूको माग पूरा नगरिएपछि अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको विद्यार्थीले बताएका छन्। विद्यार्थी संघर्ष समितिका संयोजक किशोर आचार्यले इलामदेखि काठमाडौंसम्म धाउँदा पनि आफूहरूको माग पूरा नहुँदा भविष्य नै अन्योल भएकाले बाध्य भएर तालाबन्दीको कार्यक्रममा जानुपरेको जनाए। ‘परीक्षा आएका बेला हामीलाई पनि आन्दोलन गर्ने रहर थिएन,’ उनले भने, ‘तर, ४ वर्ष पढेको विषय नै काम नलाग्ने भएपछि आन्दोलन गर्न बाध्य छौं.’  

स्नातक तहमा ४ वर्ष अध्ययन गरेर मापदण्ड पुग्ने भएपनि लोकसेवा आयोगले खुलाउने सेवामा प्रतिस्पर्धा गर्न र स्नातकोत्तर अध्ययन गर्न नपाएको भन्दै उनीहरूले क्याम्पस परिसरमा दिनहुँ नाराबाजी, कोणसभा गरिरहेका छन्। क्याम्पसको स्नातक तहमा ८ सेमेस्टरको बिएस्सी इन हर्टिकल्चर पढाइ हुन्छ। यसअन्तर्गत ५ विषय (समूह)को अध्ययन हुन्छ। तर, यीमध्ये ४ विषयमा माथिल्लो तह (स्नातकोत्तर) अध्ययन गर्न र लोकसेवा आयोगले खुलाउने प्रतिस्पर्धामा बिएस्सी एग्रिकल्चरसरह भिड्न पाइँदैन। 

माथिल्लो तहमा अध्ययन गर्न र लोकसेवामा भिड्नै नपाउने विषय पढाएर क्याम्पसले आफूहरूमाथि अन्याय गरेको विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। महँगो शुल्क तिरेर देशभरका ७७ वटै जिल्लाबाट आएका २ सय ३० विद्यार्थीको भविष्य अन्योल भएको भन्दै विद्यार्थी आन्दोलनरत छन्।

क्याम्पसले विद्यार्थीलाई माथिल्लो तह पढाइ र सम्भावित रोजगारीमै अयोग्य बनाएको विद्यार्थीको गुनासो छ। बराबर पाठ्यभार भएका विषयमा पढेर गएपनि ५ मध्ये एउटामा मात्र माथिल्लो तहको पढाइ र लोकसेवाको अवसर पाउनु अन्यायपूर्ण भएको उनीहरू बताउँछन्। बिएस्सी इन हर्टिकल्चरमा बागवानी, कृषि प्रसार, बाली संरक्षण, बाली विज्ञान र माटो विज्ञान पढाइ हुन्छ। पाँचै विषयमा पाठ्यभार पुगेपनि बागवानी विषयमा मात्रै माथिल्लो तह अध्ययन गर्न र लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्न दिइन्छ। 

एग्रिकल्चर एन्ड फरेस्टी युनिभर्सिटी (एएफयु)मा आफूहरूले एमएस्सी पढ्न र लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग बारम्बार राखेपनि क्याम्पसले बेवास्ता गरेको भन्दै विद्यार्थी आक्रोशित छन्।

कार्यक्रमअन्तर्गत आठौं ब्याचसम्म पढाइ भइसकेपनि यो साल नवौं ब्याचका विद्यार्थी भर्ना भएनन्। कैलालीबाट आएर चौथो वर्षमा अध्ययनरत सुरेन्द्र विष्टले यो समस्या तुरुन्त समाधान भएन भने अहिले अध्ययन गरिरहेका १ सय १० विद्यार्थीको भविष्य अन्योल हुने बताए।  

कृषि र पशुविज्ञान अध्ययन संस्थानअन्तर्गत पढाइ हुने देशका ८ क्याम्पसमध्ये त्रिभुवन विश्वविद्यालयका ४ आंगिक क्याम्पस छन्। बिएस्सी इन हर्टिकल्चर पढाइ हुने बहुमुखी क्याम्पस भने इलामको मात्रै हो। देशमै हर्टिकल्चर पढाइ हुने एउटामात्रै क्याम्पसमा ७७ वटै जिल्लाका विद्यार्थी अध्ययनरत छन्। यतिको महत्वपूर्ण भएर पनि पढाइपछिको अन्योलपूर्ण अवस्था अन्त्य गर्ने विषयमा जिल्लाकै सरोकारवालासमेत बेखबरझैं लागेको विद्यार्थी बताउँछन्। 

उनका अनुसार अहिले यो चार वर्षे पढाइका लागि करिब ६ लाख रुपैयाँ खर्च हुन्छ। टाढाबाट आएर डेरा गरी बस्दा थप त्यति नै रकम लाग्छ। तर, पढेपछि ‘टाउकामा हात’ राखेर चिन्ता गर्ने बाध्यता आइलागेको विद्यार्थीको गुनासो छ।

प्रकाशित: १८ श्रावण २०७८ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App