७ वैशाख २०८१ शुक्रबार
शिक्षा

चाईना फाउण्डेसनद्वारा ३ सय ३७ विद्यार्थीलाई शैक्षिक सामग्री

बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न आयोजित कार्यक्रममा सहभागी अतिथिहरु । तस्बिर: महेश्वर

उदयपुरका विद्यार्थीलाई चाईना फाउण्डेसनले शैक्षिक सामग्री प्रदान गरेको छ। बिहीबार फाउण्डेसनले जिल्लाको त्रियुगा नगरपालिका ६ र १३ नं. वडाका दुई आधारभूत विद्यालयका ३ सय ३७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो।  

फाउण्डेसनले नेपाल-चीन कार्यकारी परिषद्को पहलमा सामग्री प्रदान गरेको जनाइएको छ। त्रियुगा ६ स्थ्ति चुरीया आधारभूत विद्यालयका १ सय ५६ छात्रछात्रा तथा १३ को जनप्रेमी आधारभूत विद्यालयका १ सय ८१ विद्यार्थीले शैक्षिक सामग्री पाएका छन्। फाउण्डेसनले त्रियुगा ६ स्थित चुरीया आधारभूत विद्यालयका ७७ छात्र र ७९ छात्रालाई सामग्री दिएको छ। त्यस्तै जनप्रेमीका ७९ छात्र र १ सय २ छात्राले सामग्री पाएको त्रियुगा १३ का वडाध्यक्ष पशुपति चौधरीले बताए।

फाउण्डेसनका नेपाल फिल्ड कोअर्डिनेटर शुशील प्याकुरेलले वडाध्यक्ष चौधरी र जनप्रेमी विद्यालयका प्रधानाध्यापक शैलेन्द्र खतिवडामार्फत विद्यालयमै आयोजित कार्यक्रममा छात्रछात्रालाई सामग्री हस्तान्तरण गरे। नेपाल चीन कार्यकारी परिषद्का प्रतिनिधि मधुकर थापा, नेपाल-चीन मैत्री विकास मञ्चका अध्यक्ष बीरेन्द्र बस्नेत तथा वडा सदस्य मानबहादुर मगरलगायतको उपस्थितिमा स्कुल व्याग र कापी, कलमजस्ता सामग्री प्रदान गरिएको थियो।  

कार्यक्रममा उपस्थिति अतिथिहरुले मित्र मुलुकहरु नेपाल र चीनको शदियौदेखि सुमधुर सम्बन्ध रहिआएको र आगामी दिनमा थप मजबुत र बलियो सम्बन्ध कायम गर्दै एकापसमा सहयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। नेपालको हितको काममा चीनले धेरै पहिलेदेखि सहयोग गर्दै आएको भन्दै उनीहरुले आजका साना बालबालिकाको भविष्य सुन्दर बनाउन फाउण्डेसनमार्फत चीनले गरेको सहयोगको प्रशंसा गरेका थिए। चीनको यस्ता खाले सहयोगबाट नेपालले फाईदा लिन सक्नुपर्ने तथा चीनले गरेको छोटो अवधिको विकासबाट नेपालले पाठ सिकेर आफू पनि समृद्ध हुनेतर्फ केन्द्रित हुनुपर्ने उनीहरुको भनाई थियो।  

उता चुरीया आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा पनि प्याकुरेलले बिहीबारै शैक्षिक सामग्री प्रदान गरेका थिए। विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष उद्दब राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्याकुरेल, विशेष अतिथि नगरपालिका सदस्य कृष्ण बुढाथोकी र परिषद प्रतिनिधि थापाले सामग्री प्रदान गरे। 

कार्यक्रममा फाउण्डेसनलाई दुबै विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

प्रकाशित: १४ श्रावण २०७८ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App